काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको अर्थसमिति बैठक मूल विषयमा प्रवेश नै नगरी टुंगिएको छ। बिहीबार नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग करिब तीन घण्टा लामो छलफल हुँदा पनि मूल विषयमा प्रवेश नै नगरी बैठक टुंगिएको हो।
अर्थसमितिले नेपालको पुँजीबजार सम्बन्धी समसामयिक विषयमा सेबोनसँग छलफल गर्ने भने पनि खास विषयवस्तु भने पछिल्लो समय कमजोर वित्तीय अवस्था हुँदाहुँदै पनि उच्च मूल्य भएका कम्पनीमाथि केन्द्रित हुने तय थियो। समितिले मूल्य बढी भएका कमजोर कम्पनीको छानबिन गर्न धितोपत्र बोर्डलाई निर्देशन दिने उद्देश्यका साथ बैठक बोलाएको थियो।
बैठक सुरु भएपछि अर्थसमितिका सभापति सन्तोष चालिसेले सेबोनका कार्यवाहक अध्यक्ष महेश बराललाई बोल्ने समय दिए। बरालले बोल्न सुरु गर्नसाथ एमाले सांसद सूर्य थापाले बीचमै रोकेर सभापति चालिसेलाई कारोबार समयमा पुँजीबजारका विषयमा छलफल गर्नु कति उचित भन्दै प्रश्न गरे। ‘कानुनी व्यवस्थाअनुसार सेयर कारोबार समयमा बजार प्रभावित पार्ने कुनै गतिविधि गर्न र अभिव्यक्ति दिन पाइँदैन। तर, समितिले बोर्डसँग यही समयमा छलफल राखेको छ। यो छलफल बिहान वा तीन बजेपछि राख्नुपर्ने थियो,’ सांसद थापाले भने।
यसभन्दा अगाडि बढेर ‘समितिले गर्न लागेको छलफल कस्तो किसिमको हो? यसले बजार प्रभावित पार्छ वा पार्दैन?’ सांसद थापाले प्रश्न गरे। थापाको प्रश्नपछि समिति सभापति चालिसे झस्किए। बैठक अगाडि बढिसकेकाले स्थगन गर्न पनि सहज थिएन। चालिसेले बजार राम्रै होस् भन्ने उद्देश्यले छलफल राखेको बताउँदै यसले बजारमा कुनै किसिमको नकारात्मक असर नपर्ने आँकलन रहेको स्पष्ट पारे। ‘हामीले बजारको हितका लागि नै यो छलफल राखेका हौं। यसले बजार प्रभावित पार्दैन भन्ने हाम्रो आँकलन छ। त्यसैले बोर्ड अध्यक्ष बराललाई आफ्नो कुरा राख्न अनुरोध गर्दछु,’ सभापति चालिसेले भने।
सभापतिको अनुरोधपछि बैठक अगाडि बढ्यो। तर, नामै तोकेर मूल्य बढी भएका कमजोर कम्पनीमाथि छानबिन गराउने उद्देश्य भने पूरा हुन सकेन। सोहीकारण अर्थसमितिको बैठक केही निर्णय नगरी अर्थात् कसैलाई कुनै निर्देशन नदिएरै बिना निष्कर्ष टुंगियो। कारोबार समयमा बजार प्रभावित पार्ने कुनै पनि कार्य गर्न नहुने कानुनी व्यवस्थालाई ख्याल नगर्दा मूल्य बढी भएका कमजोर कम्पनीमाथि छानबिन गराउने सभापति चालिसेको उद्देश्य पूरा हुन सकेन।
पछिल्लो केही समयदेखि वित्तीय सूचक कमजोर रहेका कम्पनीको सेयर मूल्य अस्वाभाविक भएको भन्दै प्रश्न उठिरहेको थियो। सोहीक्रममा सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद डा. अमरेश कुमार सिंहले चार वटा कम्पनीको नामै तोकेर अस्वाभाविक कारोबार भएको दाबी गरे। ‘दीपेन्द्र अग्रवाल सम्बद्ध नेपाल फाइनान्स कम्पनीको सेयरमूल्य एकमहिना अघि प्रतिकित्ता ६०० रुपैयाँ रहेकोमा अहिले आएर २ हजार १०० रुपैयाँ कसरी पुग्यो? बुक भ्यालु १०० रुपैयाँ पनि नभएको कम्पनीको सेयरमूल्य कसरी १ हजार ६०० रुपैयाँ पुग्छ, म अर्थमन्त्रालय र सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ सांसद सिंहले संसद्मा भनेका थिए।
सिंहले एनआरएन इन्फाष्ट्रचर, हाथवे इन्भेष्टमेन्ट कम्पनी र सीडीएन हाइड्रोपावर डेभलप्मेन्ट कम्पनीको सेयर मूल्य पनि अस्वाभाविक रूपमा बढेको भन्दै प्रश्न गरे। हिजो नियामक निकाय नहुँदा अर्बौं रकम हिनामिना भएको बताउँदै सांसद सिंहले कृतिमरुपमा सेयर मूल्य बढाएर सोझा सीधा जनतालाई ठग्ने काम भइरहेको बताए। यस विषयमा गम्भीर छानबिन गर्नुपर्ने सिंहको जोड थियो।
सोमबारकै प्रतिनिधिसभा बैठकमा पूर्वअर्थमन्त्रीसमेत रहेका कांग्रेस सांसद डा. प्रकाशशरण महतले सेयर बजारमा देखिएको उतारचढाव अस्वाभाविक भएको प्रतिक्रिया दिए। ‘कतिपय कम्पनीको सेयर भाउ अस्वाभाविक रूपमा बढेको देखिएको छ। यसलाई बुलिस ट्रेन्डमा स्वाभाविक मान्न मिल्दैन,’ प्रतिनिधिसभा बैठकमा महतले भने, ‘पछिल्लो समयमा सेयर बजारमा चलखेलकर्ताको हस्तक्षेप बढेको देखिएकाले छानबिन गर्न आवश्यक छ।’ यस्तै, माओवादी सांसद राजन दाहालले पनि सेयर बजार ह्वात्तै वृद्धि हुनु अस्वाभाविक भएको प्रतिक्रिया दिएका थिए।
सांसदबाट सेयर बजारका विषयमा नकारात्मक टिप्पणी भएपछि मंगलबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४५.०५ अंकले घट्यो। बढ्दो बजारमा अनपेक्षित गिरावट आएपछि चार लगानीकर्ता संगठनले सार्वजनिक पदमा बस्ने व्यक्तिले बजार प्रभावित गर्ने अभिव्यक्ति दिएको भन्दै विरोध जनाए। नेपाल सेयरधनी संघ अध्यक्ष घनश्याम पाण्डे, नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष प्रकाश रजौरे, जनरल इन्भेस्टर एसोसिएसनका अध्यक्ष दीपक कार्की र साधारण लगानीकर्ता संघ नेपालका अध्यक्ष ऋतुजंग जिसीले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै यस्तो कार्य बन्द गर्न माग गरे।
केही कम्पनीको सेयर मूल्यमाथि प्रश्न उठेपछि अर्थसमितिले ती कम्पनीमाथि छानबिन गराउने उद्देश्यले नै बिहीबार सेबोनसँग छलफल कार्यक्रम राखेको थियो। तर, बजार प्रभाव पर्ने किसिमको अभिव्यक्ति दिन नपाइने भएपछि बैठकमा सबैले सजग भएर आफ्नो तर्क राखे। यद्यपि, एकीकृत समाजवादी पार्टीका सांसद मेटमणी चौधरीले केही कम्पनीको नामै तोकेर कमजोर कम्पनीको सेयर मूल्य कसरी उच्च भयो भन्दै प्रश्न गरे। ‘बजारमा बुक भ्यालु र नेटवर्थ कम भएका कम्पनीको सेयर मूल्य सबैभन्दा उच्च छ। चन्द्रगिरी हिल्स, दिव्यश्वरी हाइड्रोपावर र आँखुखोला लगायत कमजोर भ्यालु भएका कम्पनीको सेयर मूल्य कसरी यति धेरै उच्च भयो?,’ चौधरीले प्रश्न गर्दै भने, ‘वास्तविक क्षमताभन्दा बढी मूल्य भएका कम्पनीमाथि छानबिन गर्न आवश्यक छ।’
छलफलमा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले पहिला विवादमा परेको आफ्नो अभिव्यक्तिबारे प्रस्टीकरण दिए। ‘संसद्मा कुनै निकायको पक्ष वा विपक्षमा बोल्ने हाम्रो काम होइन। सेयर मार्केट बढ्न हुन्न थियो भनेर मैले भनेको होइन’, महतले भने, ‘केही संस्थाको सेयर मूल्य भने धेरै माथि पुगेकाले त्यसको आधार, वित्तीय अवस्था हेरेर नियामकले स्वच्छ कारोबार भएको छ वा छैन भन्ने हेर्नुपर्छ भन्ने मेरो तर्क हो।’ महतले बजारमा अस्वस्थ प्रतिस्पर्धा भए त्यसमा सुधार गरेर अगाडि जानुपर्ने तर्क गरे।
अर्का, पूर्व अर्थमन्त्री वर्षमान पुनले कतिपय कम्पनीको सेयर मूल्य अस्वाभाविक देखिएको बताउँदै त्यस्तो शङ्कास्पद कम्पनीमाथि छानबिन हुनुपर्ने बताए। लगानीकर्ता र आम नागरिकको पैसा डुब्ने भएकाले नियामक निकायले अस्वाभाविक मूल्य देखिएका कम्पनी वा कारोबारका विषयमा अनुसन्धान गर्नुपर्ने पुनको तर्क छ। छलफलका क्रममा सांसद नारायणी शर्माले बोर्डमा कार्यवाहक अध्यक्ष मात्रै हरेक महिना पठाउने र फिर्ता बोलाउने कार्य उचित नभएको बताइन्।
‘कार्यवाहक अध्यक्षको मुख्य जिम्मा अर्कोतर्फ हुन्छ। अर्कोतर्फ जिम्मा भएको व्यक्तिलाई बोर्डको जिम्मा दिएर हुँदैन,’ सांसद शर्माले भनिन्, ‘पूर्ण रूपमा काम गर्ने गरी सेबोनमा अध्यक्ष ल्याउन आवश्यक छ।’ अर्का सांसद छिरिङ लामाले पहिला बढ्दै नबढेको बजार सरकार परिवर्तन हुनसाथ सगरमाथा भन्दा माथि किन गयो र यस्तो कसरी हुन्छ भन्दै प्रश्न गरे। सांसद सूर्य थापाले एक जना व्यक्ति तथा सांसदले बोल्दैमा बजार प्रभावित हुने किसिमको छ भन्दै प्रश्न गरे। पहिला बजार ३२०० बाट १४०० अंक घटेर १८०० मा झर्दा कोही नबोलेको तर, हाल बढ्दा भने सबैका टाउको दुखाइको विषय बनेको भन्दै आलोचना गरे।
सेबोनका कार्यवाहक अध्यक्ष महेश बरालले सांसदले उठाएको प्रश्नको जवाफ दिँदै बोर्डले सेबोनबाट नियामकको काम निरन्तररुपमा गरिरहेको बताए। तर, छोटोछोटो समयमा अध्यक्षको जिम्मेवारी परिवर्तन भइरहँदा प्रभावकारी काम भने हुन नसकेको बरालको तर्क छ। सामाजिक सञ्जाल लगायतबाट बजार प्रभावित पार्ने किसिमका गतिविधिलाई नियमन गर्नका लागि काम गर्नुपर्ने आवश्यकता देखिएको र त्यसमा काम गर्न छलफल अघि बढाइसकेको बरालले जानकारी दिए। सांसदले उठाएको प्रश्नको जवाफ सेबोनबाट दिइएपछि कुनै निर्णय नगरी सभापति चालिसेले समितिको बैठक स्थगित गरे।