काठमाडौं। उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आयोजनाको प्राथमिकता निर्धारण गरी बजेट कार्यान्वयन गर्न निर्देशन दिएका छन्।
अर्थमन्त्री पौडेलले सम्बन्धित मन्त्रालयका सचिव, योजना र बजेट महाशाखाका प्रमुखसँग अर्थ मन्त्रालयमा छुट्टाछुट्टै छलफल गरी राष्ट्रय गौरवका, राष्ट्रिय महत्त्वका, अध्ययन सम्पन्न भएका, प्राथमिकता प्राप्त आयोजनालाई उच्च प्राथमिकता दिएर अघि बढाउन निर्देशन दिएका हुन्।
यसैगरी राम्रो प्रतिफल दिने, संघीय सरकारको कार्यक्षेत्रअन्तर्गतका र निर्माणाधीन आयोजनालाई अघि बढाउन उनले निर्देशन दिए।
अर्थमन्त्री पौडेलले अध्ययन गरेर मात्र आयोजना अघि बढाउन निर्देशन दिँदै प्राथमिकीकरण गरी बजेट कार्यान्वयन गर्दा स्रोत साधनको सही सदुपयोग हुने बताए।
अर्थमन्त्री पौडेलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सहरी विकास मन्त्रालय, उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव, योजना र बजेट महाशाखाका प्रमुखसँग छलफल गरेको अर्थले जनाएको छ।
उनले खानेपानी, कृषि तथा पशुपक्षी, शिक्षा, श्रम, स्वास्थ्य, संघीय मामिला, उद्योग, वाणिज्य तथा आपूर्ति तथा खेलकुद मन्त्रालयका सचिव, योजना र बजेट महाशाखाका प्रमुखसँग छलफल गरेका थिए।