काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले चालक दलको कमजोरी कारण एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटनामा परेको जनाएको छ।
बिहीबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा हेलिकोप्टर दुर्घटनाबारे जानकारी लिन बोलाइएका प्राधिकरण महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले यस्तो बताएका हुन्। यद्यपि हेलिकोप्टर दुर्घटनाबारे सरकारले छानबिन समिति गठन गरिसकेकाले विस्तृत वितरण समितिबाटै लिन सकिने सांसदहरूलाई उनले बताए।
सिभिल एभिएसनको भिजुअल फ्लाइट रूट (भिएफआर)ले अनुमति नदिएको खराब मौसम बादल भएको ठाउँमा हेलिकप्टर प्रवेश गराउँदा सो दुर्घटना भएको प्राधिकरणको दाबी छ।
'भिएफआरको अनुमति विपरीत हेलिकोप्टर बादलभित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिबन्धित छ। यसमा जिम्मेवार चालक नै दोषी हुन्,' उनले भने, 'टावरबाट सम्पर्कविच्छेद हुने बित्तिकै हामीले प्रोसिड्युअर अनुसार नै खोजी गर्यौं। जबसम्म क्र्यास साइट आइडेन्टीफाई गर्यौं, तबसम्म मौसमको हिजोको अवस्था पनि त्यस्तै थियो। शंकास्पद ठाउँ पत्ता लगाउनेबित्तिकै हेलिकोप्टर खोजीका लागि हेलिकोप्टर परिचालन गरेका थियौं।'
हेलिकोप्टर दुर्घटनापछि पर्यटन मन्त्री, सचिवसहित दुर्घटनास्थलको अवलोकन गरिएको उनले जानकारी दिए। 'हेलिकोप्टरको रुटबारे छानबिन समितिले बताउला। ब्याड वेदरमा बादलभित्र हेलिकोप्टर प्रवेश गरेका कारण फर्कने क्रममा लेफ्ट टर्न गर्दा ठोक्किएको देखिन्छ। यो पाइलोटिङ कमाण्डले सिभिल एभिएसनको भिजिओल फ्लाइट रुट अनुसार नगएर यसरी बादलभित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिबन्धित हो। यो कानुनले वर्जित गरेको विषय हो।’
साउन २३ मा एयर डाइनेष्टीको हेलिकोप्टर नुवाकोटको शिवपुरी डाँडामा दुर्घटना हुँदा चालकसहित चार चिनियाँ नागरिकको मृत्यु भएको थियो।