काठमाडौं । तीव्र उचारचढाव भएको बिहीबारको सेयर कारोबारमा सिमेन्ट कम्पनीहरूमा उच्च वृद्धि देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत चार वटै सिमेन्ट कम्पनी (शिवम्, घोराही, सोनापुर मिनरल्स र सर्वोत्तम)को मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको छ। त्यसो त सिमेन्टसँगै कर्णाली डेभ्लपमेन्ट बैंक र मिडसोलु हाइड्रो पावरमा पनि सकारात्मक सर्किट लागेको छ।
बिहीबार कारोबार सुरु भएदेखि निरन्तर घटिरहेको कुथेली बुखरी हाइड्रो पावरले पनि अन्तिम समयमा उच्च वृद्धि (९.९६) प्रतिशत भएको छ। योसँगै बिहीबार ९९ कम्पनीका सेयर धनीले दोस्रो बजारबाट कमाइ रहेका छन्। त्यसको परिणाम नेप्से सूचक पनि ६.७० अंकले बढेर २७६६.३८ अंकमा चढेको छ।
बुधबार २७५९.६७ अंकमा रहेको नेप्से बिहीबारको प्रि-ओपन सेसनमै बढेर २७७२.८४ अंकमा चढेको थियो। नियमित कारोबारका बेला पनि ११ बजेर २४ मिनेटमा २८११.१५ अंकसम्म पुगेको नेप्से त्यसपछि भने लड्खडाउन थाल्यो।
संसद्को अर्थ समितिमा सेयर बजारका विषयमा चर्चा भइरहँदा सेयर बजारमा पनि त्यसको प्रभाव तीव्र रुपमा परेको देख्न सकिन्छ।
बजार सूचक निरन्तर तलमाथि गर्दै साढे १२ बज्दा २७४४.८६ अंकसम्म झर्यो। त्यसपछि पनि बजार तीव्र चलायमान हुँदा अन्तिम समयमा सामान्य बढेर कारोबार बन्द भयो।
बिहीबार १९ अर्ब ८१ करोड ९६ लाख रुपैयाँ कारोबार भएको छ। तीव्र उतारचढावबीच बिहीबार १५९ कम्पनीले गुमाएका छन्। त्यसमध्ये सबैभन्दा धेरै एनआरएन इन्फास्टक्चर एन्ड डेभ्लपमेन्टको ८.०४ प्रतिशतले घटेको छ।
बिहीबार शिवम् सिमेन्टको १ अर्ब २० करोड र हिमालयन रिइन्सोरेन्सको १ अर्ब ७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।