काठमाडौं । संघीय संसद, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनाको छलफलमा सहभागी सदस्यले पुराना जहाज र हेलिकप्टर बन्द गर्नुपर्ने बताएका छन्।
हवाई दुर्घटनाको विषयमा नियामक निकायको कमजोरी देखिएको उनीहरूको ठहर छ। समितिमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक (डीजी) प्रदीप अधिकारीलाई निलम्बन गरेर छानबिन गर्नुपर्ने मागसमेत उठेको छ।
सांसद प्रेम सुवालले नेपालमा पुराना जहाज र हेलिकोप्टरको कारणले दुर्घटना वृद्धि भएको बताए। उनले पूरा जहाज र हेलिकोप्टरलाई उडानमा रोक लगाउन माग गरेका छन्।
पुरानो जहाज र हेलिकप्टर ल्याउने अनुमति कसले दियोभन्दै उनले प्रश्नसमेत गरेका छन्। 'नियत र भष्ट्राचरमा परेर पुरानो जहाज र हेलिकोप्टर सञ्चालनको अनुमति दिएको छ। दुर्घटना विषयमा छानबिन भइरहेको बेला उडान अनुमति दिने अधिकारीलाई निलम्बन गर्नुपर्छ,' उनले भने।
काम नगर्नेलाई जनताले तिरेको करबाट तलब खुवाएर राख्न उचित नहुने उनको धारणा छ। दुर्घटनाको जिम्मा अनुमति दिनेहरूले लिनुपर्ने सांसद सुवालले बताए।
छलफलमा समितिले नेपालको हवाई सुरक्षा र सुरक्षा मापदण्ड कार्यान्वयन भए नभएको सम्बन्धमा छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले १५ दिनभित्र विज्ञबाट छानबिन गरी आवश्यक नीतिगत सुधार गर्न र कोही दोषी देखिएमा कारबाही सिफारिस गर्न निर्देशन दिएको हो।
सदीय समितिले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, राज्यमन्त्री अरुण कुमार चौधरी, मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेय, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी लगायतसँग छलफल गरेको थियो।
छलफलपछि समितिले नेपालमा हवाई नीति २०६३ सालदेखि कार्यान्वयनमा आए पनि नेपालको हवाई उडान सुरक्षा सम्बन्धी छुट्टै नीति आवश्यक रहेको ठहर गरेको छ। उक्त नीति तर्जुमा गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ।