काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजार बढ्नुहुन्न भन्ने आशयको धारणा आफूले व्यक्त नगरेको दाबी गरेका छन्। केही दिन अगाडि सेयर बजारका विषयमा बोलेको विषयले विवादमा तानिएपछि महतले यस्तो प्रष्टीकरण दिएका हुन्।
बिहीबार संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले नेपाल धितोपत्र बोर्डसँग गरेको छलफलका क्रममा महतको आफूले लगानीकर्ताको पक्षमा बोलेको बताए।
‘संसद्मा कुनै निकायको पक्ष वा विपक्षमा बोल्ने हाम्रो काम होइन। सेयर मार्केट बढ्न हुन्न थियो भनेर मैले भनेको होइन’, महतले भने, ‘केही सस्थाको सेयर मूल्य भने धेरै माथि पुगेकाले त्यसको आधार, वित्तीय अवस्था हेरेर नियामकले स्वच्छ कारोबार भएको छ वा छैन भन्ने हेर्नुपर्छ भन्ने मेरो तर्क हो।’
बजारमा अस्वस्थ प्रतिस्पर्धा भए त्यसमा सुधार गरेर अगाडि जानुपर्ने तर्क महतको छ। आफूले आमलगानीकर्ताको हितमै बोले पनि त्यसलाई गलत ढंगमा चर्चा गरिएको उनको तर्क छ।
‘सेयर बजारले नै समग्र अर्थतन्त्र धानेको छ भन्ने छैन। तर, यसमा सूचीकृत कम्पनी महत्त्वपूर्ण हुन्छ। भारतमा पनि सेयर बजारमा ठूलो म्यानुपुलेसन भएको विषय आउँछ’, महतले भने, ‘हाम्रोमा घोटाला हुन्न भन्ने हुन्न। त्यसैले यसमा हामीले ध्यान दिन आवश्यक छ।’
महतले नियामकले यस क्षत्रलाई गम्भीरताका साथ हेर्नुपर्ने बताए।
स्वच्छ बजारको सुनिश्चितता गर्नुपर्ने महतको तर्क छ।