काठमाडौं। अष्ट्रेलियामा दर्ता भएको ‘शाह एण्ड ब्रदर्स’ कम्पनीले दर्जन बढी नक्कली रेमिट्यान्स कम्पनी खडा गरेर वर्षौदेखि हुन्डी कारोबार गरिरहेको खुलेको छ।
नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कारोबार गर्न अनुमति दिएका कम्पनीहरुको नामसँग मिल्दोजुल्दो नाम राखेर शाह एण्ड ब्रदर्स कम्पनीले अष्ट्रेलियाबाट हुन्डीको साम्राज्य चलाइरहेको हो।
नेपालमा विप्रेषण कारोबार गर्न कानुनी मान्यताको लाइसेन्स राष्ट्र बैंकले मात्रै दिन्छ। हाल केन्द्रीय बैंकबाट ३६ वटा रेमिट्यान्स कम्पनीले लाइसेन्स लिएका छन्। तर, यीमध्ये ११ वटा कम्पनीको लाइसेन्स नवीकरण म्याद समाप्त भइसकेको छ।
राष्ट्र बैंकले अनुमति दिएर पनि लाइसेन्स म्याद समाप्त भएर समयमै नवीकरण नगराएकाे लगायत कारणले हालसम्म २३ वटा रेमिट्यान्स कम्पनी खारेज गरेको छ। नेपालमा कानुनी मान्यता लिइसकेका कम्पनीकै नामसँग मिल्दोजिल्दो नाम राख्दै शाह एण्ड ब्रदर्स कम्पनीले १२ वटा रेमिट्यान्स कम्पनी खडा गरी गैरकानुनी कारोबार गरिरहेको हो।
अष्ट्रेलियन सरकारसँग सन् २०१४ जुन २४ मा अष्ट्रिलियन बिजनेश रजिस्टर नम्बर (एबिएन) ९८६००२९२८०४ लिएर शाह एण्ड ब्रदर्स कम्पनी स्थापना भएको हो। त्यसयता कम्पनीले रेमिट, सप्लायर्स र ग्रोसरी गरी १७ वटा कम्पनी स्थापना गरिसकेको छ।
जसमध्ये हाल १४ वटा सञ्चालनमा छन्। शाह एण्ड ब्रदर्श कम्पनीको आधिकारिक वेवसाइट हालसम्म भेटिएको छैन भने कम्पनीको नाम उल्लेख गर्दै लिङडिनमा सत्य शाह–सिपिएको एकाउण्ड राखिएको छ। जसमा ती व्यक्तिले आफू सन् २०२१ नोबेम्बरदेखि अष्ट्रेलियाको शाह एण्ड ब्रदर्श कम्पनीको एकाउन्टेड रहेको उल्लेख गरेका छन्। ती व्यक्तिले सन् २०११ देखि सन् २०१३ सम्म नेपालको रमा सेभिङ एण्ड क्रेडिट को–अप्रेटिभमा काम गरेको उल्लेख छ।
शाह एण्ड ब्रदर्सद्वारा स्थापित कम्पनीमा १३ वटा रेमिट्यान्स कम्पनी मात्रै छन्। उनीहरुले चलाएका रेमिट्यान्स कम्पनीमा १२ नेपालमा र १ वटा भारतमा हुन्डीमार्फत् रेमिट्यान्स कारोबार गर्ने कम्पनी हुन्।
शाह एण्ड ब्रदर्स कम्पनीले नेपालमा पैसा पठाउने भनेर नमस्ते रेमिट्यान्स, सुपर फास्ट रेमिट, नेपाल मनि एक्प्रेस, मिराकल रेमिट्यान्स, नेपाल पे, एभरेष्ट एक्सप्रेस, अल्फा रेमिट, केटिएम रेमिट, म्याजिक रेमिट, ठमेल रेमिट, रेमिट हब र किंग्स रेमिट सञ्चालन गरिरहेको छ। शाह एण्ड ब्रदर्सले अल्फा रेमिट्यान्स कम्पनीको नाममा भारतमा पनि हुण्डी कारोबार गरिरहेको छ।
कम्पनीले उल्लेखित नाममा वेबसाइट र मोबाइल एप्लिकेसन डेभलप गरी विभिन्न नम्बरको भाइबर ग्रुपमा अष्ट्रेलियामा रहेका नेपालीलाई जोडर हुण्डीको कारोबार गरेको पाइएको हो।
क्यापिटल नेपालले गैरकानुनी रुपमा भइरहेको विदेशी मुद्राको कारोबारबारे अनुसन्धात्मक रिपोर्टिङ गर्ने क्रममा साउन २० गते शाह एण्ड ब्रदर्स कम्पनीद्वारा सञ्चालित नमस्ते रेमिट्यान्ससम्बन्धी समाचार प्रकाशित गरेको थियो।
फोन गर्ने व्यक्तिले अष्ट्रेलियाबाट हुण्डी कारोबार नमस्ते रेमिट्यान्सबाट नभएर अन्य १० बढी कम्पनीबाट भएको यस्तो व्यवसायलाई अष्ट्रेलिया सरकारले कानुनी मान्यता दिएको भन्दै त्यसले नेपालको कानुनी मान्यतामा सरोकार नराख्ने दाबी गरेको थियो। सोही विषयलाई आधार मान्दै अनुसन्धान गर्दा शाह एण्ड ब्रदर्स कम्पनीको नाममा सञ्चालित कम्पनीको वैधानिकता बाहिर आएको हो।
शाह एण्ड ब्रदर्सद्वारा सञ्चालित रेमिट्यान्स कम्पनीहरुले भाइबरमा हजारौं जनालाई जोडर आफ्नो धन्दा चलाइरहेको छ। कतिपय यस्ता रेमिट्यान्स कम्पनीको एप एकअर्कामा लिंक गरिएको छ भने कतिपयको छुट्टै भाइबर ग्रुप बनाइएको छ। साथै, यी कम्पनीको नाममा खोलिएका फेसबुक पेजमा समेत ती कम्पनीबाट नेपाल पैसा पठाए उच्चतम मुद्रा सटही दर दिने र थप अन्य सुविधासमेत दिने ‘अफर’ राखिएको हुन्छ।
शाह एण्ड ब्रदर्सद्वारा सञ्चालित सबै नक्कली रेमिट्यान्स कम्पनीले सेवाशुल्कबापत ५ डलर चार्ज गर्ने उल्लेख छ। यी कम्पनीमध्ये सुपरफास्ट रेमिटको भाइबर ग्रुपमा ५ सय रहेका छन्।
नमस्ते रेमिट्यान्सको भाइबर ग्रुपमा ८ हजार ९९ जना, नेपाल पे भाइबर ग्रुपमा ९ हजार जना, मिराकल रेमिटको भाइबर ग्रुपमा २ हजार, नमस्ते मनि एक्सप्रेसको भाइबरमा ५ हजार ६९ जना र एभरेष्ट एक्सप्रेसकोमा ५ सय आबद्ध भएको देखिन्छ।
यस्ता ग्रुपमा दिइएको निर्देशनअनुसार नेपाल पैसा पठाउँदा ५ प्रतिशत चार्ज लाग्ने र आजको १ अष्ट्रेलियन डलर बराबर ९१ रुपैयाँ सटही दर दिने र एक दिन वा यति समयमै नेपालको प्रापकले पैसा पाउनेजस्ता सन्देशसहितको अफरका फोटा पठाइराखिएको हुन्छ।
शाह एण्ड ब्रदर्सद्वारा सञ्चालित रेमिट हब–कम्पनीले न्यूजल्याण्डबाट नेपाल रेमिट्यान्स पठाउने पहिलो कम्पनी दाबी गर्दै सटही दर ८०.५० रुपैयाँ दिएर ५ प्रतिशत चार्ज लिने उल्लेख गरेको छ।
यससँग सम्बन्धित समाचार