बरहथवा । काम कहिले पनि सानो ठूलो हुँदैन। मेहनत गरे जुनसुकै कामबाट मनग्य आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन् सर्लाहीको लालबन्दी नगरपालिका–२, निवासी ४६ वर्षीय मिथलेश सहनी। कुल्फी बेचेर मनग्य आम्दानी गरिरहेका सहनीले पाँचजनाको परिवारको आनन्दसँग पालनपोषण गरिरहेका छन्। उनका एक छोरा केही समयदेखि वैदेशिक रोजगारीमा मलेसिया पुगेका छन्।
उनले दुई छोरा घर नजिकैको विद्यालयमा पढाएका छन्। सहनी आफू भने दैनिक ६० किलोमिटरसम्म साइकलमा डुलेर कुल्फी बेच्छन्। फागुन महिनाको पहिलो हप्तादेखि सुरु हुने उनको कुल्फीको व्यापार मंसिर महिनासम्म चल्छ। चर्को घाम, पुरानो साइकल केरियरमा बाँधेको कुल्फीको ड्रम गाउँ गाउँसम्म पुग्ने निरन्तरको यात्रा उनको दैनिकी हो।
'अत्यधिक गर्मी वा बर्सातको समयमा कुल्फी उत्तिसारो बिक्दैन्', उनले भने, 'मानिस घरबाट बाहिर निस्किदैनन्, मौसम ठिक्क भएमात्र व्यापार राम्रो हुन्छ।' सम्पत्तिको नाममा तीन धुर घडेरीमा बनेको काठको भुइँतले घरबाहेक उनीसँग अरु केही छैन। सहनीले दैनिक ज्याला मजदुरी, कहिले खोलामा बालुवा चाल्ने त कहिले गिट्टी कुट्ने गरेर परिवारको लालनपालन गर्दै आएका थिए। धान काट्न उनी भारतको पञ्जाबसम्म पुगेका छन्। 'कमाई राम्रो कहिले भएन', उनी भन्छन्।
झन्डै १५ वर्ष पहिला उहाँले यसैगरी अन्न (मकै) सँग बरफ साट्ने काम गरेका थिए। आम्दानी राम्रो नभएपछि लगभग तीन वर्ष काम गरेर छोडे। विगत तीन वर्षबाट फेरि उनले कुल्फी बेच्न सुरु गरेका हुन्। उनी हरेक दिन बिहान नजिकैको उद्योगबाट बरफको डल्ला किनेर ल्याउछन्। त्यसपछि उनी कुल्फी बट्टाबट्टामा राखेर नुहाइधुवाइ गर्छन्।
त्यसबेलासम्ममा कुल्फी जमेर तयार भइसक्छ। खाना खाइसकेपछि बिहान १० बजेदेखि उहाँको व्यापार सुरु हुन्छ। सहनी घरबाट विभिन्न गाउँ हुँदै सर्लाही र रौतहटको सीमाक्षेत्र नुनथर, बागमती नगरपालिकास्थित भरत तालसम्म पुग्छन्। साँझ घाम डुबेपछि भने उनी सिधैँ घर हानिन्छन्। 'घाम डुबेपछि गाउँ पस्दिन', उनले भने, 'जति व्यापार भए पनि सिधैँ घर पुग्छु।'
दिनको कम्तीमा पाँच हजारको सामान ड्रममा राखेर व्यापारका लागि निस्कने गरेको उनको भनाइ छ। 'कुनै दिन अपराह्न २ बजे नै सबै बेचेर भ्याउछु', उनले भने, 'कहिले फिर्ता पनि लानुपर्छ, ३६ घण्टासम्म बिग्रिँदैन्।' पूरै बिक्री गर्दा दुई हजार पाँच सय फाइदा हुने उनको भनाइ छ। कुल्फी १० देखि ५० सम्ममा बिक्री गर्ने गरेको उनको भनाइ छ।
कुल्फी बेचेर महिनाको एक लाखसम्म कमाइ हुने गरेको उनले बताए। अनुसार कडा मेहनत पर्ने भएकाले यो पेसा सबैले मन पराउँदैनन्। 'मेहनत कडा छ', उनले भने, 'दैनिक हिँड्न सक्नुपर्यो, भारीसहितको साइकल ५०/६० किलोमिटर ठेल्नुपर्छ।'
कुल्फीका लागि आवश्यक सामग्री ल्याएर आफैले घरमै कुल्फी बनाउँदा फाइदा धेरै हुने गरेको उनको अनुभव छ। बरफबाहेक सबै कुरा आफैँ बनाउने उनले सुनाए। आर्थिक उपार्जनको दिगो व्यवस्था नहुँदा विगतमा निकै हण्डर खाएको सम्झदै सहनीले कुल्फीको व्यापारपछि पछाडि फर्किएर हेर्नुनपरेको सुनाए।
कुल्फी व्यापारपछि सहनीले पाँच कट्ठा धान फल्ने खेतसमेत किनेको बताउनुभयो। वर्षदिन पुग्न धान आफ्नै खेतमा फल्ने गरेको उनको भनाइ छ। धेरैजसो गर्मीको मौसम रहने तराईको ठाउँमा बरफ, कुल्फी लगायतको बिक्री निकै राम्रो हुने गरेको छ। यसको व्यापारबाट धेरै स्थानीय स्वरोजगार समेत बनेर मनग्य आम्दानी समेत गरिरहेका छन्।