काठमाडौं । सौर्य एयरको जहाज दुर्घटना भएको १५ दिनपछि फेरि एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परेर पाँच जनाले ज्यान गुमाएका छन्।
यसअघि काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरको विमान साउन ९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै दुर्घटना हुँदा चालकबाहेक १८ जनाको निधन भएको थियो।
१५ दिनमै दोस्रो दुर्घटनापछि हवाई यात्रा जोखिममा परेको पुष्टि भएको छ। यसले सरकार र नियमन निकायमाथि नेपाली हवाई अकास सुरक्षित बनाउन कडा कदम चाल्नुपर्ने दबाब परेको छ।
सौर्य एयरको जहाज दुर्घटनाको आलो घाउ सुक्न नपाउँदै फेरि नुवाकोटको शिवपुरीडाँडामा एयर डाइनेस्टीको हेलिकोप्टर ठोक्किँदा पाइलटसहित पाँच जनाको ज्यान गएको छ।
चार चिनियाँ यात्रु लिएर रसुवाका लागि उडेको हेलिकोप्टर केही मिनेटमै दुर्घटनामा परेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
मौसमसमेत खराब नरहेको अवस्थामा शिवपुरीडाँडामा हेलिकोप्टर दुर्घटनामा परेको र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै सौर्य एयरको जहाज दुर्घटनापछि हवाई यात्रा साँच्चै जोखिममै रहेको पुष्टि गरेको छ।
प्रायः हवाई दुर्घटना मौसममा आएको खराबीको कारण हुने गरेका छन्। यसअघिका हेलिकोप्टर र जहाज दुर्घटना जबर्जस्ती बादलभित्र पस्दा दुर्घटना भएका रिपोर्ट सार्वजनिक भइरहेका बेला पछिल्लो दुई दुर्घटनाको परिदृष्य भने फरक छ। यद्यपि, दुर्घटनाको रिपोर्ट आएपछि मात्र के कारणले भएको हो भन्ने खुल्न सक्छ।
सौर्य एयरको जहाज दुर्घटनापछि हवाई यात्रु घटिरहेका बेला फेरि एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटनामा परेको छ। यसले आगामी दिनमा स्वदेशी एवं विदेशी पर्यटकले नेपालको हवाई क्षेत्रप्रति हेर्ने दृष्टिकोण नकारात्मक हुन सक्छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)का महानिर्देशक प्रदीप अधिकारीले सौर्य एयर दुर्घटनालगत्तै दुर्घटना न्यूनीकरणका उपायबारे सुझाव दिन कमिटी गठन गरेका थिए। तर, त्यो कमिटीले प्रतिवेदन बुझाउन नपाउँदै अर्को दुर्घटना भएको छ।
केही वर्षअघि बर्खायाममा धेरै हेलिकोप्टर दुर्घटना भएको भन्दै प्राधिकरणले माउन्टेन फ्लाइट र पानी परेका बेला हुने उडानमा रोक लगाएको थियो। खोज तथा उद्धारमा समेत मौसम सफा रहेको ग्यारेन्टी नभएसम्म उडान अनुमति प्राधिकरणले दिएको छैन। तर, नियामक निकायले जति कडाइ गरे हवाई दुर्घटना घट्नुका साटो बढिरहेको छ।
महानिर्देशक अधिकारीले जति कडाइ गरेका छन्, उति नै हवाई दुर्घटना बढिरहेको एक हेलिकोप्टर सञ्चालक बताउँछन्। हुन पनि अधिकारी महानिर्देशक भएयता ९ वटा हवाई दुर्घटना भइसकेको छ। त्यसो भए के महानिर्देशक अधिकारीले हवाई सुरक्षामा लापरबाही नै गरेका हुन् भन्ने प्रश्न उठ्न थालेको छ।
प्राधिकरणका नियम तथा कार्यविधिमाथि चित्त नबुझाउँदै वायुसेवा सञ्चालकले महानिर्देशक अधिकारीको कार्यशैलीको विरोध गर्दै आएका छन्। यसअघि उनीहरुले प्राधिकरणले बनाएका कतिपय कार्यविधिमा विरोध जनाउँदै विज्ञप्तिसमेत जारी गरेका थिए। तर, वायु सेवा सञ्चालकले सौर्य एयर दुर्घटनाको विषयलाई लिएर प्राधिकरणको बचाउ पनि गरेका थिए।
यसरी नियामक निकायले मात्र हैन, कार्यान्वयन निकाय अर्थात् सेवा प्रदायकले पनि कतिपय नियम कानुन उल्लंघन गरेका हुन् कि भन्ने आशंका लगातार भइरहेका हवाई दुर्घटनाले पुष्टि गरेका छन्।
क्यान टुक्र्याइएपछि रोकिएला दुर्घटना?
अहिले प्रतिनिधिसभामा हवाई नियामक क्यान टुक्र्याउने विधेयक अगाडि बढाउन सरकारलाई सांसदहरुले दबाब दिइरहेका छन्। खासगरी कांग्रेसका सांसदहरुले प्राधिकरणका महानिर्देशक अधिकारीको भूमिकाप्रति प्रश्न उठाउँदै आएका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवासहित करिब दर्जन सांसदले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर प्राधिकरण टुक्र्याउने विधेयक अगाडि बढाउन सुझाव दिएका हुन्। प्रधानमन्त्री ओलीले पनि बढ्दै गएको हवाई दुर्घटनाप्रति चिन्तित हुँदै क्यान टुक्र्याउने विधयेकक अगाडि बढाउन पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डेलाई निर्देशन दिइसकेका छन्।
पर्यटन मन्त्री पाण्डेले अबको केही साताभित्रै विधेयक मन्त्रिपरिषदमा पठाउने गरी आवश्यक तयारी गरिरहेका छन्। सरकारको तदारुकता हेर्दा प्राधिकरण टुक्र्याउने विधेयक संसद्मा पेस हुँदै छ।
केही वर्षभित्रै प्राधिकरण दुई वटा हुनेछ। प्राधिकरण टुक्र्याइनेबित्तिकै दुर्घटना रोकिन्छ त भन्ने प्रश्न उठ्न सक्छन्। जबसम्म नियामकले बनाएका नियम कानुन पूर्ण रुपमा सेवाप्रदायकले पालना गर्दैन, तबसम्म जस्तोसुकै बलियो निकाय बनाए पनि हवाई दुर्घटना न्यूनीकरण हुने संकेत देखिँदैन।
सेवाप्रदायक र नियामक दुवैले आफ्नो जिम्मेवारीलाई आत्मसात् गरे मात्रै कुनै पनि हवाई दुर्घटना बेहोर्नु पर्दैन र अनाहकमा यात्रुले जीवन गुमाउनुपर्दैन।