काठमाडौं। कारोबार संकुचित भए पनि बजार भने जसरी घटेको थियो त्यसैगरी बढेको छ। अघिल्लो कारोबार दिन मंगलबार १४५.०५ अंकले घटेर २६५१.९४ बिन्दुमा सीमित भएको सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार १०८.३५ अंकले बढेर २७५९.६७ बिन्दुमा पुगेको छ।
मंगलबारको तुलनामा कारोबार रकम गिरावट आएको छ। बुधबार नेप्सेमा कुल १७ अर्ब ६९ करोडको कारोबार भएको थियो। अघिल्लो कारोबार दिन मंगलबार भने कुल २३ अर्ब ५० करोडको कारोबार हुँदै सेयर कारोबारमा नयाँ रेकर्ड बनेको थियो।
बुधबार कारोबारमा आएकामध्ये १३९ कम्पनीको सेयर मूल्य बढ्दा ३ कम्पनीको सेयर मूल्य मात्रै घटेको छ। अघिल्लो कारोबार दिन मंगलबार भने कारोबारमा आएकामध्ये ८ कम्पनीको सेयर मूल्य बढ्दा २३३ कम्पनीको घटेको थियो। यस्तै, १ कम्पनीको सेयर मूल्य भने स्थिर थियो।
बुधबार बोटलर्स नेपाल (बालाजु), गुडवील फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, नेपाल रि–इन्स्योरेन्स कम्पनी, मैलुङ खोला जलविद्युत कम्पनी, डोल्टी पावर कम्पनी, सिटी होटल लिमिटेड र हिमालयन रि–इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ। यस्तै, ९ कम्पनीको सेयर मूल्य नौ प्रतिशत बढीले वृद्धि भएको छ।
मंगलबार १३ वटै समूहको सेयर मूल्य घटेकोमा बुधबार भने १३ वटै समूहको सेयर मूल्य बढेको छ। बुधबार फाइनान्स समूहमा लगानीकर्ताको सर्वाधिक आकर्षण देखिएको छ। फाइनान्स समूहको सेयर मूल्य ७.६३ प्रतिशतले बढ्दा जलविद्युत समूहको सेयर मूल्य ५.७२ र होटल तथा पर्यटन समूहको सेयर मूल्य ५.१३ प्रतिशतले बढेको छ।
बुधबार बैंकिङ समूहको सेयर मूल्य २.३२ प्रतिशत, विकास बैंक समूहको ४.५१ प्रतिशत, लगानी समूहको ३.८९ प्रतिशत, जीवन बिमा समूहको ३.९७ प्रतिशत, उत्पादन समूहको ३.५३ प्रतिशत र लघुवित्त समूहको सेयर मूल्य २.१७ प्रतिशतले बढेको छ। यस्तै, म्युचल फन्ड समूहको १.०१ प्रतिशत, निर्जीवन समूहको ३.०८ प्रतिशत, व्यापार समूहको ५.५३ प्रतिशत र अन्य समूहको सेयर मूल्य ७.८९ प्रतिशतले बढेको छ।
मंगलबार भने फाइनान्स समूहको सेयर मूल्य ८.२७ प्रतिशतले घट्दा होटल तथा पर्यनट समूहको सेयर मूल्य ८.०३ प्रतिशतले घटेको थियो। मंगलबार बैंकिङ समुहको सेयर मूल्यमा ५.९६ प्रतिशत, विकास बैंक समूहमा ५.४३ प्रतिशत, जलविद्युत समूहमा ४.७४ प्रतिशत, लगानी समूहमा ६.३८ प्रतिशत, जीवन बिमा समूहमा ६.३३ प्रतिशत र उत्पादन समूहको सेयर मूल्यमा ४.७१ प्रतिशतको गिरावट आएको थियो। लघुवित्त समूहको सेयर मूल्य ३.८३ र निर्जीवन बिमा समूहको सेयर मूल्य पनि ५.०२ प्रतिशतले घटेको थियो।
बुधबार हिमालयन रि इन्स्योरेन्सको कारोबार सबैभन्दा बढी भएको छ। यस कम्पनीको १ अर्ब ५३ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री हुँदा नेपाल फाइनान्सको ६५ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यस्तै, सानिमा माइ हाइड्रोपावरको करिब ५६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।