काठमाडौं। परराष्ट्रसचिव सेवा लम्सालले विदेशी राजदूतावासलाई आर्थिक कूटनीति प्रवर्द्धनमा लाग्न सुझाएकी छन्।
नेपाल र ओमानबीचको परामर्श संयन्त्रको प्रथम बैठकमा भाग लिन ओमानको राजधानी मस्कट पुगेकी परराष्ट्रसचिव लम्सालले यस्तो बताएकी हुन्।
परराष्ट्र सचिवको अध्यक्षतामा मंगलबार मध्यपूर्व एसियास्थित नेपाली नियोगका राजदूत, कार्यवाहक राजदूत, महावाणिज्यदूत, श्रम काउन्सेलर एवं श्रम सहचारीलगायत नियोगमा कार्यरत कर्मचारीको उपस्थितिमा श्रव्यदृश्यका माधयमबाट बैठक आयोजना गरिएको मन्त्रालयले जनाएको छ।
बैठकमा अनलाइन मागपत्र प्रमाणीकरण, घरेलु महिला कामदार, श्रमिकको उद्धार, क्षतिपूर्ति, शव व्यवस्थापनलगायत श्रमिकसँग सम्बन्धित समस्या एवं समाधानका उपाय, व्यापार, लगानी, पर्यटन तथा रोजगार प्रवर्द्धन, नेपाली नियोगमा स्रोत–साधन व्यवस्थापनबारे छलफल भएको मस्कटस्थित नेपाली राजदूतावासले बताएको छ।
डिजिटल सुशासन लागू गर्ने सरकारको नीतिबमोजिम मागपत्र प्रमाणीकरणको अनलाइन प्रक्रियालाई आत्मसात् गर्दै सेवा प्रवाहलाई सरल, पारदर्शी र प्रभावकारी बनाउन सचिव लम्सालले निर्देशन दिइन्।
श्रमिकका समस्या समाधान गरी वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउन सबैको सार्थक भूमिका हुनुपर्ने बताउँदै उनले आर्थिक कूटनीति प्रवर्द्धनका लागि सक्रियातापूर्वक लाग्न निर्देशन दिएको मन्त्रालयले जनाएको छ।