काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर घटिरहेको छ भने अमेरिकी डलर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।
सुनको मूल्य २ दिनमै ३७०० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १४०० रुपैयाँले घटेर १ लाख ४६ हजार ३०० मा कारोबार भइरहेको छ।
मंगलबार पनि छापावाल सुन तोलामा २३०० रुपैयाँले घटेर १ लाख ४७ हजार ७०० मा खरिद बिक्री भएको थियो।
आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १७ सय १० मा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ। मंगलबार चाँदीको मूल्य तोलाको १७२५ रुपैयाँ कायम थियो।
महासंघका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ३९३.५६ डलरमा र चाँदी प्रतिऔंस २७.२५ डलरमा कारोबार भइरहेको छ।
महासंघका अनुसार सोमबार तोलामा १ लाख ५० हजार रुपैयाँ रेकर्ड कायम भएको छापावाल सुन मंगलबार २ हजार ३०० रुपैयाँ घटेर १ लाख ४७ हजार ७०० रुपैयाँ कायम भएको थियो। सोमबारदेखि बुधबारसम्म आइपुग्दा सुनको मूल्य तोलामा ३ हजार ७०० रुपैयाँ घटेको हो।
अमेरिकी डलर हालसम्मकै महँगो
बुधबार अमेरिकी डलरको मूल्य हालसम्मकै महँगो भएको पुगेको छ।
नेपाल राष्ट्रय बैंकले बुधबारका लागि १ अमेरिकी डलरको खरिददर १३४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६३ पैसा तोकेको छ, जुन हालसम्मकै महँगो हो।
यसअघि मंगलबार डलरको मूल्य १३४ रुपैयाँ ४६ पैसा पुगेर नयाँ रेकर्ड बनाएको थियो। पछिल्लो रेकर्डभन्दा आजको मूल्य १७ पैसा बढी हो।