काठमाडौं। सेयर बजारका चार लगानीकर्ता संगठनले बजार प्रभाव पार्ने प्रकाश शरण महत, अमरेशकुमार सिंह, राजन दाहालको अभिव्यक्ति खेदजनक भएको बताएका छन्।
पुँजी बजारका विषयमा सांसद सिंह, दाहाल र पूर्वअर्थमन्त्रीसमेत रहेका महतले गलत ढंगको अभिव्यक्ति दिएको भन्दै चार लगानीकर्ता संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै विरोध जनाएका हुन्।
नेपाल सेयरधनी संघ अध्यक्ष घनश्याम पाण्डे, नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष प्रकाश रजौरे, जनरल इन्भेस्टर एसोसिएसनका अध्यक्ष दिपक कार्की र साधारण लगानीकर्ता संघ नेपालका अध्यक्ष ऋतुजंग जिसीले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै उनीहरुको ध्यानाकर्षणसमेत गराएका छन्।
‘अहिले बजार केही करेक्सनको अवस्थामा चलिरहेको छ। यसैबीच कसैका प्रभावमा सांसद प्रकाश शरण महत, अमरेशकुमार सिंह, राजन दाहाल लगायत अन्य सांसदहरूबाट समेत बजार आफ्नै लयमा चलिरहेको अवस्थामा सदन र सार्वजनिक कार्यक्रममा पुँजीबजारको सम्बन्धमा केही स्क्रिप्टको नामै तोकेर अभिव्यक्ति दिनु खेदजनक छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘यसमा हामी तपसिल बमोजिमका पुँजी बजारमा संलग्न संस्थाको गम्भीर ध्यानाकर्षण भएको छ।’
पुँजी बजार लगानीकर्ताको माग र आपूर्तिको कारणले चल्ने बजार भएको उनीहरुको भनाइ छ। देशमा लगानीको वातावरण फराकिलो हुँदै जाँदा पुँजी बजार पनि विस्तारै बढ्दै जान्छ र लगानीकर्ताले आफूले चाहेको कम्पनीमा लगानी गर्न पाउने र कम्पनी कति सुरक्षित छ छैन भन्ने कुरा लगानीकर्ता स्वयंले निर्धारण गर्ने कुरा भएको जनाइएको छ।
‘जनताकै प्रतिनिधित्व गर्ने सांसदले सदनमा जुन खाले अभिव्यक्ति दिनुभएको छ, त्यसलाई तत्काल फिर्ता लिन र अब आइन्दा यस्ता खाले अभिव्यक्ति नियामक निकाय, सांसद जोसुकैले दिए पनि सहय नहुने कुरा चेतावनी दिन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘यदि बजारमा चलखेल भएको भए यसलाई नियमन गर्ने संस्थाले स्वतन्त्र रुपमा सुक्ष्म अध्यायन गरी छानविन गरोस्, हामी साथ दिन तयार छौं।’
पुँजी बजारको सम्बन्धमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरूबाट जथाभावी अभिव्यक्ति दिने कार्य तत्काल बन्द गर्नुपर्ने उनीहरुको माग छ। नियामक निकायले यस्ता अभिव्यक्ति दिने व्यक्तिहरु माथि छानबिन गरी कारबाही गर्न र अभिव्यक्तिबाट दुई खर्बभन्दा बढी क्षति हुन गएकोले सो क्षति सम्बन्धित व्यक्तिबाट असुल उपर गराउनुपर्ने उनीहरुको भनाइ छ।
‘दुई ठूला राजनीतिक दलसहित मिलेर सरकार गठनपछि लगानीकर्तामा आशा पलाएको थियो। त्यो हो–नीतिगत स्थिरता आर्थिक क्षेत्र चलायमान बनाउनको लागि नेपाल सरकार र राष्ट्र बैंकले सकारात्मक कदम चालेसँगै पुँजीबजार आफ्नो लयमा चलिरहेको थियो,’ लगानीकर्ताले भनेका छन्, ‘३२०० को बिन्दुबाट १८०० बिन्दुसम्म आइपुग्दा लगानीकर्ताले २५ खर्बभन्दा बढी रुपैयाँ गुमाइसकेको अवस्थामा कुनै पनि नियामक निकाय वा सांसदबाट पुँजीबजार विषयमा कुनै पनि आवाज उठेन।’ लगानीकर्ताले त्यो समयमा आवाज नउठाएर हाल भने यस्ता अभिव्यक्ति दिनु गलत भएको जनाएका छन्।