काठमाडौं । अमेरिकाको भूगर्भ सर्वेक्षणले राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको नाममा चन्द्रमामा रहेको एउटा क्रेटरको नाम नामकरण गरेको छ। अमेरिकी दूतावासले सामाजिक सञ्जाल फेसबुक र ट्विटरमार्फत राष्ट्रिय विभूति पासाङ शेर्पाको नामबाट चन्द्रमाको क्रेटरको नाम ‘ल्हामूुक्रेटर’ राखिएको उल्लेख गरेको छ।
अन्तर्राष्ट्रिय खगोलीय संघको ग्रह प्रणाली नामकरण कार्य समूहले चन्द्रमाको एक क्रेटरलाई ल्हामु नाम स्वीकृत गरेको अमेरिकी भूगर्भ सर्वेक्षणले घोषणा गरेको उल्लेख छ। सगरमाथा आरोहण गर्न सफल प्रथम नेपाली महिला पासाङलाई सम्मान गर्न र उनको अतुलनीय उपलब्धिलाई उत्सवको रूपमा मनाउन चन्द्रमाको दक्षिण ध्रुवको एक महत्त्वपूर्ण पर्वतको शिखरमा रहेको क्रेटरलाई अमेरिकी भूगर्भ सर्वेक्षणले ल्हामु क्रेटर नामकरण गरेको हो।
‘शेर्पाको उपलब्धिले युवा नेपाली महिलाहरूका लागि सफलताको बाटो खोलिदिएको छ र विश्वभरिका अनगिन्ती महिलाहरूलाई अझ उच्च लक्ष्यमा पुग्न प्रेरित गरेको छ,’ अमेरिकी दूतावासले सार्वजनिक गरेको वक्तव्यमा भनिएको छ ‘अमेरिकाले पासाङ ल्हामु शेर्पाको विरासतलाई मान्यता दिँदै र यो ऐतिहासिक सम्मानलाई नेपालसँग मिलेर मनाउन गर्व गर्दछ।’
अन्तर्राष्ट्रिय खगोलीय संघ, अन्तर्राष्ट्रिय रूपमा खगोलीय पिण्डहरूको नामकरण गर्ने प्राधिकरणले उक्त घोषणा गरेको हो।
पासाङ ल्हामुका श्रीमान् ल्हाक्पा सोनाम शेर्पाले ल्हामुको परिवारको तर्फबाट चन्द्रमाको दक्षिणी ध्रुवमा रहेको एउटा खाडललाई ल्हामु नामकरण गरेकोमा अन्तर्राष्ट्रिय खगोलीय संघलाई धन्यवाद दिएका छन्। ‘यो हाम्रो परिवारको लागि मात्र हैन सम्पूर्ण नेपालीहरू प्रतिको सम्मान हो’ उनले भने।
नेपालमा सरकारले पासाङ ल्हामुलाई देशको राष्ट्रिय विभूति घोषणा गरी महालङ्गर शृङ्खलामा रहेको जसम्बा हिमाल (७ हजार ३१५ मिटर) लाई पासाङ ल्हामु हिमालको नाम दिएको छ। यस्तै त्रिशूलीदेखि धुन्चेसम्मको ११७ किलोमिटर लामो राजमार्गको नाम पनि पासाङल्हामु राजमार्ग राखिएको छ भने उनको नाममा हुलाक टिकट पनि प्रकाशित भएको छ।
२२ अप्रिल १९९३ मा पासाङ ल्हामुले विश्वको सर्वोच्च शिखर सफलतापूर्वक आरोहण गर्ने पहिलो नेपाली महिला बनेर पर्वतारोहणको इतिहास थिइन। ओर्लने क्रममा खराब मौसमले आरोहीहरू मारमा परेका थिए। सगरमाथाको दक्षिणी चुचुरो नजिकै ओर्लिने क्रममा उनको निधन भएको हो।