काठमाडौं । गत असार १७ बाट निरन्तर बढेको सेयर बजारमा मंगलबार उच्च अंकको गिरावट आयो। मंगलबार २३ अर्ब ५० करोड अर्थात् हालसम्मकै उच्च कारोबार भए पनि सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४५.०५ अंकले घटेर २६५१.३२ बिन्दुमा रोकिएको छ।
मंगलबारको घट्दो बजारमा डिबेन्चर कारोबारले ठाउँ पाएको छ। घटेको बजारमा मुक्तिनाथ डिबेन्चर २०८४/८५ को मूल्य १.९२ प्रतिशत, १० प्रतिशत व्याजदर भएको प्रभु बैंक डिबेन्चरको मूल्य २ प्रतिशत र ८.५ प्रतिशत व्याजदरको बिओके डिबेन्चर २०८६ को मूल्य २.०४ प्रतिशतले बढेको छ।
यस्तै, एनएमबी डिबेन्चर ८.५० प्रतिशत, ९.५ प्रतिशत व्याजदरको एनसीसी डिबेन्चर २०८६, १०.१५ प्राइम डिबेन्चर २०८४, ९.५ प्रतिशत व्याजदरको मन्जुश्री फाइनान्स डिबेन्चर २०८५, १०.३० प्रतिशत व्याजदरको स्ट्यान्डर्ड चार्टड बैंक डिबेन्चर, ग्लोबल आईएमई बैंक डिबेन्चर २०८६/८७, नबिल डिबेन्चर २०८५, ८.५ प्रतिशत व्याजदरलगायत गरी कुल १८ डिबेन्चरको मूल्य बढेको छ।
सामान्यतया डिबेन्चरको कारोबार तुलनात्मक रुपमा कम हुने गर्दछ। तर, मंगलबार बजार उच्च अंकले घट्दा पनि धेरै डिबेन्चरको कारोबार भएको हो। त्यसो त, हाल बैंक तथा वित्तीय संस्थाले दिने निक्षेपतर्फको ब्याजदर घट्दै जाँदा डिबेन्चरको मूल्य भने उचालिँदै गएको छ।
२०८१ साउनका लागि वाणिज्य बैंकहरुको निक्षेपतर्फको अधिकतम ब्याजदर औषत ६.७३ प्रतिशत कायम गर्ने घोषणा गरेका छन्। अघिल्लो महिना असारमा यस्तो ब्याजदर औषत ६.८८ प्रतिशत थियो। दोहोरो अंकमा रहेको ब्याजदर निरन्तर घट्दै एकल बिन्दुबाट निकै तल झरिसकेको छ।
एकातर्फ बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेपमा दिने ब्याजदर घट्दै जाँदा अर्कोतर्फ ऋणपत्र (डिबेन्चर)को मूल्य भने बढ्दै गएको छ। मुद्दती निक्षेपबाट प्राप्त हुने ब्याजभन्दा डिबेन्चरमा पाइने ब्याज बढी भएपछि लगानीकर्ताले डिबेन्चरतर्फ लगानी बढाइरहेका छन्। सोही कारण डिबेन्चरतर्फको आकर्षण बढ्दा मूल्य पनि बढ्दै गइरहेको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएका कम्पनीमध्ये सबैभन्दा बढी मूल्य १० प्रतिशत व्याजदरको सानिमा बैंक लिमिटेड डिबेन्चर (एसएएनडी २०८५)को छ। साउन २२ मा यस कम्पनीको मूल्य १२५६.६० रुपैयाँ यसको २० लाख कित्ता नेप्सेमा सूचीकृत छ।
यस्तै, १०.२५ प्रतिशत व्याजदरको एनबीबीएल डिबेन्चर २०८५ (एनबीबी२०८५)को मूल्य १२३० रुपैयाँ छ। यसको २० लाख कित्ता नेप्सेमा सूचीकृत छ। १२ प्रतिशत व्याजदरको आईसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८३ (आईसीएफसी८३)को मूल्य भने ११७५ रुपैयाँ छ। यसको पनि २० लाख कित्ता नेप्सेमा सूचीकृत छ।
सूचीकृत डिबेन्चरमध्ये सबैभन्दा कम मूल्य निफ्रा ऊर्जाको छ। निफ्रा ऋणपत्र २०८५/८६ को ब्याजदर ७ प्रतिशत छ। दोस्रो बजारमा ८७०.९० रुपैयाँ रहेको निफ्रा ऋणपत्रको २२ लाख ८९ हजार कित्ता सूचीकृत छ।
ग्लोबल आईएमई बैंक डिबेन्चर, २०८४/८५ (जिबीआईएलडी ८४/८५)को मूल्य ११५५ रुपैयाँ, १०.३५ प्रतिशत व्याजदरको एग्रिकल्चरल बैंक डिबेन्चर २०८३ (एडिबीएलडी ८३)को मूल्य १०७८ रुपैयाँ छ।
तर, दुई वर्ष अगाडि अर्थात् २०७९ को साउनमा वाणिज्य बैंकहरूको एक वर्षे मुद्दती निक्षेपमा ११.०३ प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा १०.०३ प्रतिशत ब्याजदर थियो।
यस्तै, साधारण बचतको ब्याजदर ६.०३ प्रतिशत थियो। विकास बैंकतर्फ २०७९ साउनमा मुद्दती निक्षेपमा अधिकतम १२ प्रतिशतसम्मको ब्याजदर थियो। यसमा एक वर्षे संस्थागत मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशत र साधारण बचतको ७ प्रतिशत कायम थियो। वित्त कम्पनीको निक्षेपको ब्याजदर अधिकतम् १२.१५ प्रतिशतसम्म थियो।
हालको तुलनामा दुई वर्ष अगाडिको बैंकको ब्याजदर बढी भएकाले त्यतिबेला डिबेन्चरको मूल्य कम थियो। २०७९ साउनमा सबैभन्दा बढी भाउ भएको १० प्रतिशत व्याजदरको हिमालयन बैंक डिबेन्चर २०८३ को १०५०.६६ रुपैयाँ थियो। यस्तै, सबैभन्दा कम मूल्य भएको ८.५ प्रतिशत व्याजदरको प्रभु बैंक डिबेन्चर २०८७ को मूल्य ७४७ थियो।
यस समयमा अधिकांश डिबेन्चरको मूल्य ९०० रुपैयाँभन्दा कम थियो। तर, हाल भने अधिकांशको मूल्य १००० रुपैयाँभन्दा बढी छ। दुई वर्ष अगाडि ब्याजदर बढी हुँदा डिबेन्चरको मूल्य कम थियो। तर, अहिले ब्याजदर कम भएकाले डिबेन्चरको बढीरहेको छ।
ब्याजदर र डिबेन्चरलाई एकअर्काको विपरीत मानिन्छ। अर्थात्, ब्याजदर घट्यो भने डिबेन्चरतर्फको मूल्य बढ्छ र ब्याजदर बढ्यो भने डिबेन्चरतर्फको मूल्य घट्छ। सेयर विश्लेषक मुक्ति अर्याल हाल ब्याजदर घटेर न्यून बिन्दुमा आएकाले डिबेन्चरतर्फको आकर्षण बढेको र सोको मूल्य पनि बढ्दै गएको बताउँछन्।
मुख्यतया ब्याजदरले डिबेन्चरको मूल्य प्रभावित हुने भएपनि क्रेडिट रेटिङ (शाख मूल्यांकन) र परिपक्वता मिति, मूद्रास्फीतिजस्ता विषयले पनि डिबेन्चर मूल्यलाई असर गर्दछ।
हाल सबैभन्दा बढी ब्याजदर गुडविल फाइनान्स डिबेन्चर २०८३ र आईसीएफसी फाइनान्स डिबेन्चर २०८३ ले १२ प्रतिशत दिइरहेका छन्।
यस्तै, सबैभन्दा कम ब्याजदर दिने डिबेन्चर कम्पनीले ८.५ प्रतिशत दिइरहेका छन्। तर, बैंकतर्फ २०८१ साउनका लागि सबैभन्दा बढी हिमालयन बैंकले अधिकतम ८.२५ प्रतिशत र न्यूनतर्फ राष्ट्रिय वाणिज्य बैंकले ६.२१ प्रतिशत ब्याजदर घोषणा गरेका छन्।
‘यदि, कुनै डिबेन्चरले १२ प्रतिशत ब्याज दिइरहेको समयमा बैंकले १५ प्रतिशत ब्याज दियो भने मानिसले डिबेन्चर बिक्री गरेर बैंकमा पैसा जम्मा गर्छन्। तर, बैंकले ७ प्रतिशत मात्रै ब्याज दिइरहेको छ र डिबेन्चरबाट १२ प्रतिशत प्राप्त हुन्छ भने उनीहरूले बैंकको पैसा डिबेन्चरमा लगानी गर्छन्,’ विश्लेषक अर्याल भन्छन्, ‘हाल बैंकले दिने ब्याजभन्दा डिबेन्चरले दिने ब्याज बढी भएकाले डिबेन्चरको मूल्य उच्च छ।’
अर्यालले प्रतिफल जता बढी हुन्छ, लगानीकर्ता त्यतै जाने भएकाले माग बढेसँगै डिबेन्चरको मूल्य वृद्धि हुनु स्वाभाविक भएको बताए। डिबेन्चरको मूल्य निर्धारणमा अन्य विभिन्न विषय जोडिए पनि बढी मात्रामा प्रभाव पर्ने भनेको बैंकको ब्याजदर नै हो। त्यसैले, बैंकको ब्याजदर एकल बिन्दुभन्दा तल आउँदा अधिकांश डिबेन्चर कम्पनीको मूल्य एक हजार रुपैयाँभन्दा बढी देखिन्छ।