काठमाडौं। पूर्वाधार निर्माण क्षेत्रमा २०८१ उत्साहप्रद वर्ष बन्ने संकेत देखिएको छ।
२०८१ को सुरुआती चरण चार महिनामै सडक सञ्जालमा ३, सिँचाइ आयोजनामा एउटा र जलविद्युत् आयोजनाको २ वटा गरी ६ वटा सुरुङ ब्रेक थ्रु (सुरुङ छिचोल्ने काम) भइसकेका छन्।
त्यसबाहेक सडकमा २ वटा सुरुङ केही महिनाभित्रै ब्रेक थ्रुको तयारीमा छन्।
नागढुंगा सुरुङ
२०८१ सुरु भएसँगै नागढुंगा सुरुङ मार्गको सुरुङ ब्रेक थ्रु भयो। वैशाख ३ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसहितको उपस्थितिमा नागढुंगाको मुख्य सुरुङ ब्रेक थ्रु भएको थियो।
मुख्य सुरुङ २६ सय ६६ मिटर लामो उक्त नागढुंगा सुरुङ साढे २२ अर्ब रुपैयाँमा निर्माण भएको हो। जापानी कम्पनी ‘हाजमा एन्डो कर्पोरेसन’ले २०७६ कात्तिकबाट निर्माण सुरु गरेको सो सुरुङ मार्ग २०८१ वैशाख ३ मा ब्रेक थ्रु भएको हो।
फास्ट ट्रयाकमा २ वटा सुरुङ
राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेश द्रुतमार्गमा पनि पछिल्लो समय धमाधम सुरुङको ब्रेक थ्रु भइरहेका छन्। ७०.९७७ किमि लामो फास्ट ट्रयाकमा ६ वटा सुरुङ निर्माण हुने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) ले देखाएको छ।
यसमध्ये २०८१ जेठ ११ देखि साउन २२ सम्म २ वटा सुरुङ ब्रेक थ्रु भइसकेका छन्। यद्यपि नेपाली सेनाले एउट सुरुङका दुई वटा लेन (बाटो) को छुट्टाछुट्टै ब्रेक थ्रु गरिएकाले चारपटक सूचना निकालेको छ।
राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेश द्रुतमार्गमा पनि पछिल्लो समय धमाधम सुरुङको ब्रेक थ्रु भइरहेका छन्। ७०.९७७ किमि लामो फास्ट ट्रयाकमा ६ वटा सुरुङ निर्माण हुने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) ले देखाएको छ।
२०८१ जेठ ११ मा मकावनपुरको बकैया गाउँपालिका धेद्रे सुरुङको निजगढबाट काठमाडौं आउने लेन ब्रेक थ्रु भएको थियो। उक्त लेनको लम्बाइ १.६५३ किलोमिटर छ। सोही सुरुङको काठमाडौंबाट निजगढ जाने १.७२८ किलोमिटर लम्बाइको लेन साउन २१ गते प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ब्रेक थ्रु भएको सेनाले जनाएको छ।
त्यसबाहेक २०८१ असार २० मा फास्ट ट्रयाककै लेनडाँडा सुरुङको निजगढबाट काठमाडौं आउने १.६१२ किलोमिटर र २०८१ जेठ ४ मा काठमाडौंबाट निजगढतर्फ जाने १.६३३ किलोमिटर लम्बाइमा दुई लेन ब्रेक थ्रु भइसकेको थियो। योसँगै फाष्ट ट्रयाकको प्याकेज २ मा पर्ने दुवै सुरुङ पूर्ण रुपमा ब्रेक थ्रु भएका छन्।
केही महिनामै २ वटा सुरुङ ब्रेक थ्रु हुँदै
सडक सञ्जालमा अबको ३/४ महिनामै २ वटा सुरुङ ब्रेक थ्रु हुँदैछन्। २ वटा सुरुङ ब्रेक थ्रु गरिसकेको सेनाले फास्ट ट्रयाकको सबैभन्दा लामो महादेवटार सुरुङ पनि केही महिनाभित्रै ब्रेक थ्रु गर्ने तयारी गरेको छ।
कुल लम्बाइ ३.३५५ किलोमिटर लम्बाइको महादेवटार सुरुङमा करिब १ किमि खन्न बाँकी रहेको सेनाको भनाइ छ। सुरुङ निर्माण छिटो गर्न सेनाले निर्माण कम्पनीलाई दिउँसो मात्र नभई राति पनि काम गर्न लगाउँदै आएको छ। अन्य २ वटा सुरुङ ठेक्का प्रक्रियाको चरणमा छन् भने एउटा सुरुङ मुआब्जा विवादित क्षेत्र खोकनामा पर्ने भएकाले सेनाले काम अघि बढाउन सकेको छैन।
सडक विभागले स्वदेशी लगानीमा निर्माण गर्दै आएको सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा खण्डको सिद्धबाबा सुरुङमार्ग पनि यही वर्ष ब्रेक थ्रु हुँदै छ।
विभागअन्तर्गतको गुणस्तर अनुसन्धान विकास केन्द्रका सिनियर डिभिजन इन्जिनियर (सिडिई) प्रदीप भण्डारीका अनुसार अबको ३ महिनामा सिद्धबाबा सुरुङ ब्रेक थ्रु गर्ने तयारी छ। ‘विस्फोटक पदार्थ प्रयोग गरेर सुरुङ खन्दै छौं। सोचेको जस्तो भयो भने बढीमा ३ महिनासम्म ब्रेक थ्रु हुन्छ,’ सिडिई भण्डारीले भने।
१ हजार १ सय २६ मिटर लामो सिद्धबाबा सुरुङमार्गको लागत ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ छ। विभागले ‘चाइना स्टेट इन्जिनियरिङ कन्स्ट्रक्सन कम्पनी’सँग २०७८ फागुनमा पाँच वर्षभित्र सुरुङ निर्माण सम्पन्न गर्ने सम्झौता गरेको छ।
सिद्धबाबा सुरुङ ‘इन्जिनियरिङ, प्रोक्योरमेन्ट, कन्स्ट्रक्सन’ (इपिसी) मोडलमा निर्माण हुँदै छ।
सिँचाइ र जलविद्युत् आयोजनामा ब्रेक थ्रु
सडक सञ्जालबाहेक सिँचाइ र जलविद्युत्का आयोजनामा पनि यो वर्ष सुरुमै सुरुङ ब्रेक थ्रुको लहर चलेको छ। राष्ट्रिय गौरवकै सिँचाइ आयोजना ‘सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्य परियोजना’को १३.३ किमि लामो सुरुङ ब्रेक थ्रु वैशाख २६ मा तत्कालीन प्रधानमन्त्री प्रचण्डले गरेका थिए। सुरुङ निर्माणमा अटोमेटिक टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गरिएको थियो।
सडक सञ्जालबाहेक सिँचाइ र जलविद्युत्का आयोजनामा पनि यो वर्ष सुरुमै सुरुङ ब्रेक थ्रुको लहर चलेको छ।
१० अर्ब लागतमा चाइना ओभरसिरिज कम्पनी (कोभेक)ले २०७९ असोज २८ बाट सुरु खन्न सुरु गरेको थियो। मरिण डाइभर्सनले कोभेकसँग २२ महिना भित्र उक्त सुरुङ खन्ने सम्झौता गरेको थियो। तर, निर्माण कम्पनीले सम्झौताभन्दा पहिला नै सुरुङ ब्रेक थ्रु गरेको हो।
त्यस्तै, अरुण तेस्रो जलविद्युत आयोजनाको सुरुङ पनि यही वर्ष सुरुङ ब्रेक थ्रु भएको छ। संखुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको मुख्य सुरुङ जेठ २२ मा ब्रेक थ्रु भएको हो।
उक्त सुरुङ पनि तत्कालीन प्रधानमन्त्री प्रचण्डले ब्रेक थ्रु गरेका थिए। ११.८४ किलोमिटर लामो उक्त सुरुङ निर्माणको जिम्मा भारतीय कम्पनी सतलज जलविद्युत् निगमले पाएको थियो।
साउन १५ मा राहुघाट जलविद्युत आयोजनाको पनि मुख्य सुरुङ ब्रेक थ्रु भएको छ। म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर प्रवद्र्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ६.२७० किमि लम्बाइको सुरुङ ब्रेक थ्रु भएको हो।
यद्यपि प्राविधिकका अनुसार कुनै पनि सुरुङ ब्रेक थ्रु हुँदैमा पूर्ण रुपमा निर्माण सम्पन्न भएको मानिँदैन। ब्रेक थ्रु भएपछि भित्रबाट सामान्य आउजाउ गर्न मिले पनि सवारी सञ्चालन वा पानी पठाउन एकदेखि डेढ वर्षसम्म काम गर्नुपर्ने प्राविधिकको भनाइ छ।