काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न गठित कार्यदलले चार कारण औंल्याउँदै गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाएको छ। सहसचिव छवि रिजाल नेतृत्वको कार्यदलले मंगलबार गृहमन्त्री लेखकलाई प्रतिवेदन बुझाएको हो।
अध्ययनले भेलबाढीले दुई बस बगाएको औंल्याएको छ। दुर्घटनास्थल माथिको भिरालो पहाडी क्षेत्रमा उचित इन्जिनियरिङबिना सिमलताल–बांगेसाल–डुम्रेगाउँ सडक खनिएको र खन्दा निस्किएको माटो जथाभावी फाल्दा त्यसले भेलबाढी उत्पन्न गराएको कार्यदलको निष्कर्ष छ।
बगेको डेब्र्रिजको प्रेसर चेक ड्याम र ग्याविन वालले धान्न नसकेपछि बाढीसँगै आएको लेदो, गेग्रान र डेब्रिजले सडक क्रस गर्दै गरेका दुईवाट बस धकेलेर त्रिशूलीमा खसालेको कार्यदलले जनाएको छ।
सडकमा कुनै टेवा, पर्खाल निर्माण नगर्दा वर्षाको समयमा पहिरो गई त्यो नै डेब्रिज (गेग्रान बहाव) को स्रोत बन्न पुगेको ठहर गरेको छ। दुर्घटनास्थल आसपासको भूगोल दुवैतर्फ भिरालो भएको बताइएको छ।
डेब्रिज सिँदुरे खोल्सा हुँदै तल झर्दा खोल्साको तल्लो भागमा स–साना पहिरोसमेत गएको र उक्त खोल्सामा केही वर्ष पहिले बनेको चेक ड्याम तथा ग्याबिन वालले सोको भार थेग्न नसकेको कार्यदलको ठहर छ।
कार्यदलले सडक डिभिजन भरतपुरले डेब्रिज सफा गर्दा माथिल्लो साइडमा थुप्रिएको डेब्रिज बगेर सडकतिरै आउन सक्छ भन्नेमा ध्यान नदिएको उल्लेख गरेको छ। कल्भर्ट र क्याचपिट नियमित सफा नगरेको पाइएको प्रतिवेदनले औंल्याएको छ।
सडक बनाउँदा वातावरणीय पक्षको ध्यान नदिएको र सडक सुरक्षासम्बन्धी एकीकृत सूचना प्रणालीको विकाश नहुँदा दुर्घटना भएको कार्यदलको निष्कर्ष छ।
असार २८ मा बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति र बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेर बेपत्ता भएका थिए। काठमाडौंबाट गौर र वीरगञ्जबाट काठमाडौं जाँदै गरेका दुई वटा बस सिमलतालमा बगेका थिए। भेलबाढीमा परेर बससँगै ६२ यात्रु बेपत्ता भएकोमा २४ जनाको मात्रै शव फेला परेको छ। अन्य यात्रुको अझैँ पत्ता लाग्न सकेको छैन। दुवै बस र ४० जना यात्रुको अवस्था अझै अज्ञात छ।