काठमाडौं । नक्कली ‘नमस्ते रेमिट्यान्स’ कम्पनी खडा गरेर राष्ट्र बैंकको अनुमतिबिनै नेपालका लागि रेमिट कारोबार भइरहेको समाचार प्रकाशित गरेको भन्दै अष्ट्रेलियामा दर्ता भएको ‘शाह एन्ड ब्रदर्स’ कम्पनीले क्यापिटल नेपाल डटकमका पत्रकारलाई ज्यान मार्ने धम्की दिएको छ।
क्यापिटलकर्मी दिलु कार्कीले राष्ट्र बैंकबाट अनुमति नलिई नेपालमा रेमिट्यान्स कारोबार गर्न नपाइने भए पनि नमस्ते रेमिट्यान्सले वर्षौंदेखि हुन्डी कारोबार गरिरहेको पाइएको समाचार लेखेको विषयलाई लिएर अष्ट्रेलियाबाटै ज्यान मार्ने धम्की दिइएको हो।
अनलाइन मिडिया क्यापिटल नेपालडटकमले साउन २० मा नक्कली ‘नमस्ते रेमिट’ कम्पनी खडा गरी अष्ट्रेलियाबाट हुन्डी कारोबार’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो। सन् २०२३ देखि ‘नमस्ते रेमिट्यान्स अष्ट्रेलिया’ नामक वेबसाइट स्थापना गरी उच्च विदेशी मुद्रा सटही दर दिने भन्दै अष्ट्रेलियाबाट हुन्डी कारोबार गरिरहेको कम्पनीबारे लेखिएको समाचार डिलिट नगरे कम्पनीका ‘राजु’ नामका व्यक्ति फोनमार्फत ज्यान मार्ने धम्की दिएका हुन्।
‘नमस्ते रेमिट्यान्स’ आफ्नो बताउँदै सोबारे नकारात्मक समाचार लेखे परिवारका सदस्यसहितलाई हानि गर्ने र जेसुकै हुने धम्की दिँदै क्यापिटलकर्मी कार्कीको मोबाइलमा +०९७१०० र ०९७१०० नम्बरबाट बारम्बार फोन आइरहेको छ। सो नम्बर ‘ट्रुकलरमा रोसा ढुंगाना’ भनेर देखाउँछ भने फोन गर्ने व्यक्तिले कार्कीसँग आफ्नो नाम राजु भएको बताए। राजुले अष्ट्रेलियाबाटै फोन गरेको दाबी गरेका छन्। कार्कीको मोबाइलमा +०९७१०० नम्बरबाट ६ पटक र ०९७१०० नम्बरबाट ६ पटक फाेन आएको हो।
अष्ट्रेलियामा कानुनी रुपमा दर्ता भएर रेमिट्यान्स व्यवसाय गरेको र नेपालमा त्यसको कानुनी प्रक्रियाबारे कुनै सरोकार नभएको भन्दै प्रकाशित समाचार डिलिट नगरे आफ्नो मान्छे प्रयोग गरेर कुटपिट गर्ने र आवश्यक परे ज्यान मार्नसमेत पछि नपर्ने धम्की दिएका छन्।
‘तपाईंले लेख्नुभएको समाचारले तपाईं र तपाईंका श्रीमानलाई पनि पिटाइ लाग्छ, नयाँ विवाह गर्नुभएको रहेछ। दाम्पत्य राम्रोसँग बिताउनुस्, अरुको बदनाम गर्ने हैन। अहिले राम्रोसँग भनिरहेको छु, मलाई अर्को तरिका पनि आउँछ, तपाईंको बुढा एभरेष्ट बैंकमा काम गर्छ हैन?’
अष्ट्रेलियाबाट हुन्डी गर्ने अरु १० भन्दा बढी कम्पनी रहेको तर क्यापिटल नेपालडटकममा नमस्ते रेमिट्यान्सबारे मात्रै किन लेखेको भनेर उनले फोनबाट धम्कीसमेत दिएका छन्। उनले प्रश्न गर्दै भनेका छन्, ‘तपाईंलाई कसले पैसा दिएर समाचार लेखायो भन्नुस्, हुन्डी गर्ने यहाँ म मात्रै छैन, हामीभन्दा अरु १०÷१० वटा एप चलाएर हुन्डी गर्ने छन्, हामी त सानो हो।’
नमस्ते रेमिट्यान्सको नामबाट फोन गर्ने व्यक्तिले अष्ट्रेलिया एम्बेसी वा अष्ट्रेलियन सरकारले गैरकानुनी भनेर बन्द गर भने मात्रै बन्द गर्ने तर नेपाल सरकारसँग कम्पनीको कुनै सरोकार नरहेको दाबी गरेका छन्।
‘हाम्रो बिजनेस अष्ट्रेलियामा हो। आई डन्ट केयर। नेपालमा के हुन्छ÷के हुँदैन। तपाईंले व्यक्तिगत कसैको पैसा खाएर यस्तो काम गर्नुभएको छ, मसँग प्रुफ छ। सिड्नीका मान्छेले हुन्डी गर्न तपाईंलाई पैसा दिएको छ। सबै कुरा फियर गर्दा सबै फेक प्रोफाइलबाट भएको छ। यो सबै कुरा तपाईंले नेपाल बसेर कसरी थाहा पाउनुभयो?’
फोन गर्ने व्यक्तिले क्यापिटल नेपालकर्मीको बदनामी गर्ने, कुटपिट गर्ने, ज्यान मार्ने, परिवारका सदस्यलाई हानि गर्नेसम्मको धम्की दिएका छन्।
अष्ट्रेलियाबाट कुनै पनि रेमिट्यान्स बैंकिङ च्यानलमार्फत नहुने दाबी गर्दै उनले त्यहाँ सबैले गैकानुनी रुपमा रेमिट्यान्स कारोबार गर्ने हुँदा त्यसलाई आफूहरुले बिजनेस बनाएको दाबी गरेका छन्। क्यापिटलकर्मी कार्कीलाई अघिल्लो समाचार नहटाए आफूहरुले नराम्रो गर्ने धम्की बारम्बार फोन गरेर दिइँदै आएको छ।
‘तपाईंको प्रोफाइल पनि भिजिट गरेको छु, तपाईं) मानसिक रोगी हो? पैसा खाएर अरुको बदनाम गर्ने? तपाईं खुरुक्क न्यूज डिजिट गर्नू नभए तपाईंको के हुन्छ। नेपालमा हामी तपाईंको न्यूज छाप्न लगाउँछौं। तपाईंजस्तो निच रिपोर्टरले पाँच सय, हजार दिए जे पनि छापिदिन्छ, तपाईंको पनि हामी बदनाम गर्छौं।’
कम्पनीको वेबसाइटमा राष्ट्र बैंक, अष्ट्रेलियन सरकार र अष्ट्रेलियन इभेष्टमेन्ट कमिसनबाट लाइसेन्स लिएको हुँदा कम्पनीमार्फत भएको सम्पूर्ण कारोबार कानुनी रहेको दाबी गरिएको छ। ‘नमस्ते रेमिट्यान्स’ नेपाल पैसा पठाउने गुणस्तरीय भरपर्दो र सबैभन्दा बढी विदेशी विनिमय दर दिने लोकप्रिय रेमिट्यान्स कम्पनी रहेको वेबसाइटमा उल्लेख छ।
कम्पनीले कुमारी, माछापुच्छ्रे र एनआईसी एसिया बैंकलाई आफ्नो बैंकिङ पाटर्नर देखाएको छ। अष्ट्रेलियाबाट पैसा पठाउन चाहनेले भाइबर र ह्वाट्सएप नम्बर +६१४६९८४६७४४ मा फोन वा म्यासेज गरेर दिइने निर्देशनअनुसार नेपालमा पैसा पठाउन सक्ने वेबसाइटमै उल्लेख छ।
तर, क्यापिटल नेपालडटकममा समाचार प्रकाशित भएपछि भने कम्पनीको वेबसाइट बन्द छ। कम्पनीको वेबसाइट बन्द गरिए पनि भाइबर र ह्वाटसप नम्बरमार्फत अष्ट्रेलियामा रहेका नेपालीलाई समेट्दै समूह बनाएर रेमिट्यान्स पठाउन अहिले पनि उच्च मुद्रा सटही दर तोकेर प्रलोभन देखाइएको छ।
यस्तो थियो साउन २० मा प्रकाशित समाचार