काठमाडौं । नेपालको दाता समूह विश्व बैंकले नेपाललाई १० करोड अमेरिकी डलर बराबरको आर्थिक गर्ने भएको छ।
नेपालले स्थानीय तथा प्रादेशिक सडक सञ्जाल सुधार परियोजनाका लागि विश्व बैंकसँग १० करोड अमेरिकी डलर बराबरको आर्थिक सहयोग लिने भएको हो।
विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) बाट प्राप्त सहयोग स्थानीय सडक सुधारमा खर्चिइने अर्थ मन्त्रालयले जनाएको छ।
आर्थिक सहयोगले नेपालका प्रान्तीय क्षेत्रको कनेक्टिभिटी, दक्षता, लचिलोपन र सुरक्षामा सुधार गर्न मद्दत गर्ने विश्वास विश्व बैंकको छ।
हालै राजधानीमा नेपाल र आईडीए प्रतिनिधिबिच आर्थिक सहायतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम (पीएआरआईपी)– पहिलो चरणमा सुदूरपश्चिम, कर्णाली र मधेस प्रदेशका करिब १० लाख जनतालाई लाभान्वित हुने गरी करिब ३ हजार किलोमिटर सडक सन्जालको विकास तथा सुधार गरिनेछ।
यस्तै, परियोजनाअन्तर्गत मौसमी, लचिलो र सुरक्षित प्रादेशिक तथा स्थानीय सडक तथा पुल निर्माण र मर्मतसम्भार हुनेछन्। यसले सडक तथा पुल पूर्वाधारको योजना, डिजाइन, निर्माण र मर्मत सम्भार गर्न र सेवा प्रवाहमा सुधार गर्न प्रदेश र स्थानीय सरकारको संस्थागत, व्यवस्थापन र प्राविधिक क्षमतालाई सुदृढ गर्ने विश्व बैंकले विश्वास व्यक्त गरेको छ।
सम्झौतामा अर्थसचिव डा. रामप्रसाद घिमिरे र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले हस्ताक्षर गरे।
उक्त अवसरमा सहरी विकास मन्त्रालय, सहभागी प्रदेश र विश्व बैंकबीच छुट्टाछुट्टै परियोजना पनि सम्झौता भएको विश्व बैंकले जनाएको छ।