काठमाडौं। सुनचाँदीको भन्सार दर घटाउन सरकार तयार रहेको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बताएका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघ पदाधिकारीसँगको भेटमा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्।
भारतमा सुनको भन्सार दर घटेको र त्यसले नेपालमा पारेको प्रभावलाई तत्काल सम्बोधन गर्न जरुरी रहेको स्वीकार्दै यस विषयमा सम्वद्ध निकायसँग आवश्यक परामर्श गरी छिट्टै निर्णय गरिने प्रतिबद्धता जनाए।
मन्त्री पौडलसँगको भेटमा नेपाल सुनचाँदी व्यवसायी महासंघ अध्यक्ष अर्जुन रसाइलीले भारतमा हालै सार्वजनिक भएको बजेटमार्फत सुनचाँदीको भन्सार दर घटाएर ६ प्रतिशत कायम गरिएको तर नेपालमा यस्तो दर २० प्रतिशत कायम रहेकोले व्यापार असन्तुलन हुन नदिन तत्काल भन्सार दर घटाएर सुनमा ८ प्रतिशत र चाँदीमा ६ प्रतिशत कायम गर्न माग गरे।
उनले बैंकले निश्चित समयमा मात्रै सुन आयात गर्ने तर विद्यमान व्यवस्थाअनुसार भन्सार दर भने दैनिक परिवर्तन भइरहने भएकाले कारोबारमा समस्या परेको हुँदा प्रत्येक १५ दिनका लागि फ्ल्याटमा भन्सार दर कायम गर्नुपर्ने र प्रत्येक १५÷१५ दिनमा भन्सार प्रयोजनका लागि भन्सार दर पुनरवलोकन गर्नुपर्ने आवश्यकता औंल्याए।
हाल विद्यमान सिफारिस सिस्टमलाई ब्यवस्थित गर्दै दैनिक ५० किलो सुन आयात गर्ने ब्यवस्था मिलाई त्यसमध्ये ३० किलो बैंकमार्फत ब्यवसायीका लागि र २० किलो उत्पादक (उद्योग) का लागि छुट्टयाउनुपर्ने उनको भनाइ छ।
अध्यक्ष रसाइलीले सुन आयातमा कोटा प्रणाली कायमै रहे दैनिक कोटाको आधारमा १ वर्षको ३६५ दिन कायम गरेर बजार माग र आपूर्ति सन्तुलन हुने गरी सिजन एवं अफ सिजनअनुसार मिलाई वार्षिक तोकिएको कोटाको सिलिङभित्र रही आयात गर्ने व्यवस्था हुनुपर्ने माग गरे।
तीनैवटा महासंघले सुनचाँदी क्षेत्रमा तत्काल सम्वोधन गर्नुपर्ने विषय समावेश गरिएको पत्र अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको थियो।
सुनचाँदीसँग सम्बन्धित सबै कार्यसम्पादनका निम्ति वाणिज्य मन्त्रालय, अर्थ मन्त्रालय र राष्ट्र बैंक सम्मिलित एकद्वार प्रणााली बनाइनुपर्नेलगायत माग व्यवसायीले राखे।
अर्थमन्त्री भेट्न नेपाल उद्योग वाणिज्य महासंघ उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ अध्यक्ष किसान सुनार, निवर्तमान अध्यक्ष सुरेशमान श्रेष्ठ, नेपाल हस्तकला महासंघ अध्यक्ष प्रचण्ड शाक्यलगायत व्यवसायी मन्त्रालय पुगेका थिए।