काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार सोमबार मध्यरातीदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरो जाँदा १५ वटा राजमार्ग अवरुद्ध भएका छन्।
मंगलबार बिहान ११.३० बजेसम्म देशभर १५ स्थानमा राजमार्ग अवरुद्ध भएको र पाँच वटा सडक एकतर्फी सञ्चालनमा आएको विवरण प्रहरीले सार्वजनिक गरेको हो।
प्रहरीको आँकडाअनुसार कोसी प्रदेशको संखुवासभास्थित मकालु गाउँपालिका–३ उत्तर दक्षिण कोसी राजमार्ग बाढीका कारण पूर्ण रूपमा अवरुद्ध बनेको छ। यो सडक खण्ड असार ६ देखि अवरुद्ध रहेको र बर्खाभर नखुल्ने प्रहरीको सूचनामा उल्लेख छ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–१ धनसारेस्थित चतरा–बराह क्षेत्र भित्री सडक खण्डमा गए राती पहिरो खस्दा पूर्ण रूपमा अवरुद्ध बनेको छ।
यस्तै, मधेस प्रदेशको महोत्तरीको बर्दिबास नगरपालिका–५ माईस्थानमा बाढी आउँदा पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध भएको छ। अहिले उक्त सडक एकतर्फी सञ्चालनमा रहेको प्रहरी समाचार कक्षले जनाएको छ।
बागमती प्रदेशका पाँच स्थानमा निरन्तरको वर्षाका कारण सडकमा क्षति पुगेको छ। दोलखाको कालिञ्चोक गाउँपालिका–४ झामार्सीस्थित चरीकोट सडक बाढीका कारण साउन १३ देखि अवरुद्ध छ। यो सडक खुल्न एक महिना लाग्ने प्रहरीको अनुमान छ।
प्रहरीका अनुसार मकवानपुरको भीमफेदी गाउँपालिका–८ कालोपहिरो र सोही वडाको महादेवटारमा पहिरो खसेको छ। साउन १३ र १९ मा खसेको पहिरोका कारण कान्ति लोकपथ सडक एकतर्फी सञ्चालनमा छ।
यस्तै, सिन्धुपाल्चोकको बलेफी गाउँपालका–८ जुरेमा बाढीका कारण अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा छ। मेलम्ची नगरपालिका–११ धितालबेंसीमा निरन्तरको वर्षापछि बाढी आउँदा मेलम्ची जिरो किलो सडख एकतर्फी सञ्चालन भइरहेको छ।
गण्डकी प्रदेशको बेनी नगरपालिका–४ घुमाउने भीरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। पहिरोका कारण बेनी–दरवाङ सडक खण्ड पूर्ण अवरुद्ध भएको प्रहरीको विवरणमा उल्लेख छ।
रघुगंगा गाउँपालिका–२ र १ मा पहिरो जाँदा बेनी–जोमसोम सडक पनि पूर्ण रूपमा अवरुद्ध बनेको छ। बागलुङ नगरपालिका–१० डब्लाङमा पहिरो जाँदा कालीगण्डकी करिडोर अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
लुम्बिनी प्रदेशको प्युठान नौबहिनी गाउँपालिका–१ हाम्पालमा स्याउली–बाबाग्दुला सडक र दाङको घोराही उपमहानगर–१६ सेवार खोलामा बाढीका कारण घोराही तुलसीपुर सडक पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले बताएको छ।
कर्णाली प्रदेशको रुकुम पश्चिम आठबिसकोट नगरपालिका–११ खरखरेस्थित भेरी करिडोर पनि पहिरोका कारण अवरुद्ध बनेको छ।