काठमाडौं। टेस्ला, अल्फाबेट, माइक्रोसफ्ट, एप्पल, अमेजनजस्ता ठूला अमेरिकी प्रविधि कम्पनीका सेयर मूल्यमा आएको ठूलो गिरावटले अमेरिकी शेयर बजार सन् २०२२ अक्टोबर यताकै खराब स्थितिमा पुगेको छ । सोमबार नेपालको सेयर बजार झन्डै ४० अंकले बढेर २८०० आसपास पुग्दा अमेरिकाको डीओडब्ल्यू भनिने औद्योगिक परिसूचक औसतमा झन्डै १००० अंकको गिरावट आएको थियो ।
अमेरिका मात्र नभएर जापानको स्टक बजार निक्केइमा इतिहासकै ठूलो १२.४ प्रतिशत, दक्षिण कोरियाको कस्पी ८.७७ प्रतिशत, ताइवानको टाइएक्स ८.३५ प्रतिशत, अस्ट्रेलियाको एसएन्डपी ३.७ प्रतिशत, हङकङको हाङसेङ १.४६ प्रतिशत र चीनको सांघाइ कम्पोजिट १.५४ प्रतिशतले ओर्लिएको छ ।
एसिया र अमेरिकाको मात्र नभई युरोपेली बजारमा पनि झन्डै सोमबार २.२ प्रतिशतको गिरावट आएको र बजारको जोखिम झन्डै कोभिडकालकै हाराहारीमा पुगेको विज्ञहरूको अनुमान छ । बेलायतका सेयर बजार पनि २ प्रतिशतभन्दा बढीको औसतमा ओर्लिएका छन् । छिमेकी भारतका दुवै सेयर बजार पनि लगभग ३ प्रतिशत आसपासले कम भएका छन् । शुक्रबार अमेरिकाको अर्थतन्त्रमा अपेक्षा गरिएभन्दा निकै कम संख्यामा कामका अवसरहरू सिर्जना भएको र पुन: आर्थिक मन्दीको खतरा देखिएको रिपोर्टहरू सार्वजनिक भएसँगै विश्वव्यापी रूपमै सेयर बजार गम्भीर स्थितितर्फ लम्किएको बीबीसीले उल्लेख गरेको छ ।
अमेरिकाका ठूला प्रविधि कम्पनीहरूले गर्न लागेको ठूलो संख्याको कर्मचारी कटौती र नकारात्मक आर्थिक सूचकहरूले सेयर बजारलाई झट्का दिएको देखिन्छ । सोमबार मुख्य क्रिप्टो मुद्रा बिटक्वाइनको मूल्य एकै दिनमा ७००० अमेरिकी डलरभन्दा बढीले घटेको थियो । एप्पल र एनभिडिया कम्पनीका सेयर मूल्यमा सन् २०२० यताकै खराब गिरावट आउँदा 'म्याग्निफिसियन्ट सेभेन' भनिने सात प्रमुख प्रविधि कम्पनीका लगानीकर्ताहरूले बजारबाट झन्डै १० खर्ब अमेरिकी डलर बराबरको घाटा व्यहोरेको फोर्ब्सको रिपोर्टमा उल्लेख छ ।
मुख्यतया प्रविधि कम्पनी र सिलिकन भ्याली बाहुल्य रहेको सूचक नास्डक एक्लै ६ प्रतिशत ओर्लिएको छ । सोमबार बजार खुल्दा नै देखिएको सन्त्रासका कारण एनभिडियाको सेयर मूल्य १४ प्रतिशत, टेस्ला ११ प्रतिशत, एप्पल ८ प्रतिशत, अमेजन ८ प्रतिशत, मेटा ७ प्रतिशत, र माइक्रोसफ्ट ५ प्रतिशतले घटेका थिए ।
सोमबारको पहिरोमा एप्पलले २७० अर्ब अमेरिकी डलर, एनभिडियाले ३८० अर्ब अमेरिकी डलर, टेस्लाले झन्डै २०० अर्ब अमेरिकी डलर गुमाए । ठूला प्रविधि कम्पनीले आफ्नो बजार मूल्यमा एक हप्तामै झन्डै ३० खर्ब अमेरिकी डलर बढीको ह्रास बेहोरेका छन् । सोमबार एक दिनमै अमेजनका मालिक बेजोस र एनभिडिया प्रमुख व्हाङले ८ अर्ब अमेरिकी डलर गुमाएका थिए । यस्तै, मेटाका प्रमुख जुकरबर्गले ७ अर्ब, ओर्याकलका एलिसन र टेस्लाका मस्कले ६ अर्ब अमेरिकी डलर गुमाएका छन् ।
मंगलबार बजार खुल्दा जापान र दक्षिण कोरियाको सेयर बजारमा केही सुधार र राहत देखिएको छ भने अस्ट्रेलिया, ताइवान, सांघाईका सेयर बजारमा पनि झिनो सुधार देखिएको छ । जापानलगायतका देशमा सरकारी तहमै अर्थतन्त्रप्रति भरोसाको सन्देश दिइँदै गरेको बेला सोमबार विश्वव्यापी बजारमा आएको झन्डै ३ प्रतिशतको र्हास र अमेरिकी अर्थतन्त्रमा देखिएको सन्त्राशलाई उसले कसरी सम्बोधन गर्छ भन्नेमा धेरैको चासो रहेको देखिएको छ ।