काठमाडौं । सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोस्रो दिन २८ सय पुगेर फर्किएको छ। बजार सूचक नेप्से गत बिहीबारको तुलनामा ४०.७६ अंकले बढेर २७९६.३८ अंकमा रोकिएको छ।
यद्यपि नेप्से दिउसो १ बजेर ५६ मिनेटमा २८०६.६९ अंकसम्म चढेको थियो। गत बिहीबार पनि २८०५.५७ अंकसम्म चढेको नेप्से सूचक २७५५.६२ अंकमा रोकिएको थियो।
नेप्से बढेसँगै कारोबार रक पनि झन्डै पौने २२ अर्ब पुगेको छ। यद्यपि सोमबारको कारोबार रकम गत बुधबारको तुलनामा केही कम हो। बुधबार २१ अर्ब ७१ करोड कारोबार भएकोमा बिहीबार २१ अर्ब ४८ करोड र सोमबार २१ अर्ब ६९ करोड ७९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
रुरु जलविद्युत्, सीईडीबी हाइड्रोपावर, सगरमाथा जलविद्युत्, कुथेली बुकरी स्मल हाइड्रोपावर, भगवती हाइड्रोपावर, माथिल्लो मैलुङखोला, भिजन लुम्बिनी ऊर्जा, मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै सिटी होटल, माउन्टेन हाइड्रो नेपाल, हाथवे इन्भेस्टमेन्ट, रावा इनर्जी, हिमालयन रिइन्स्योरेन्सको सेयर मूल्य पनि १० प्रतिशत हाराहारीले बढेको छ।
सोमबार १६३ कम्पनीको सेयर मूल्य बढ्दा ७८ कम्पनीको मूल्यमा गिरावट आएको छ भने सान्जेन जलविद्युत कम्पनीको सेयर मूल्य स्थिर छ।
नेपाल फाइनान्सको सेयर मूल्यमा १० प्रतिशतले गिरावट आउँदा हिमालयन लघुवित्त ७.६२ प्रतिशतले घटेको छ। सोमबार हिमालयन रि-इन्सुरेन्सको सबैभन्दा धेरै १ अर्ब २६ करोडको सेयर किनबेच भएको छ।
सोमबार समूहगत सूचकमध्ये होटल तथा पर्यटन समूह सबैभन्दा धेरै बढेको छ भने हिमालयन लघुवित्तको ७.६, गुहेश्वरी मर्चेन्ट बैंकको ६.२, श्रीइन्भेस्टमेन्ट फाइनन्सको ६.२ तथा समृद्धि फाइनान्सको ६.१ प्रतिशत मूल्य घटेको छ।