काठमाडौं । गत आर्थिक वर्षमा विकास बैंकहरूले करिब ६ अर्ब रुपैयाँ खुदनाफा कमाएका छन्। सञ्चालनमा रहेका १७ मध्ये १३ वटाले आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्म ५ अर्ब ८२ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएका हुन्। बाँकी ४ वटा क्षेत्रीयस्तरका विकास बैंकले गत आवको वित्तीय विवरण प्रकाशित गरेका छैनन्।
गत आवको असार मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गर्ने विकास बैंकले एक वर्षको अवधिमा खुद नाफा औसत १९.३१ प्रतिशतले वृद्धि गरेका छन्। अघिल्लो वर्षको तुलनामा ७ वटा विकास बैंकको २.११ प्रतिशतदेखि २ हजार ११३.१४ प्रतिशतसम्मले खुद नाफा बढेको छ। जसमध्ये सबैभन्दा बढी कर्पोरेट डेभलपमेन्ट बैंकले र सबैभन्दा कम मुक्तिनाथ विकास बैंकले नाफामा ग्रोथ गरेका हुन्।
समीक्षा अवधिमा ६ वटा विकास बैंकको खुद नाफा भने अघिल्लो वर्षकोभन्दा ०.८२ प्रतिशतदेखि १२०.११ प्रतिशतसम्मले घटेको छ। सबैभन्दा धेरै सिन्धु विकास बैंक र सबैभन्दा कम मितेरी डेभलपमेन्ट बैंकको नाफा घटेको हो।
एक वर्षको अवधिमा नाफामा नकारात्मक ग्रोथ गर्ने विकास बैंकको सूचीमा तीन राष्ट्रियस्तरका विकास बैंक छन्। हाल ८ वटा राष्ट्रियस्तरका विकास बैंकमध्ये राइन रेसुङ्गा, गरिमा विकास र ज्योति विकास बैंकको नाफा अघिल्लो आवको तुलनामा गत आवमा घटेको हो।
एक वर्षको अवधिमा खुदनाफा सकारात्मक ग्रोथ गर्नेमा ग्रिन डेभलपमेन्ट १३४.३८ प्रतिशत, सांग्रिला ९२.४७ प्रतिशत, कामना सेवा ६६.९३ प्रतिशत, महालक्ष्मी २४.५२ प्रतिशत, लुम्बिनी २१.३२ प्रतिशत र मुक्तिनाथले २.११ प्रतिशतको ग्रोथ गरेका हुन्।
गत वर्षमा सर्वाधिक नाफा कमाउने विकास बैंकको सूचीमा मुक्तिनाथ र गरिमा विकास बैंक छन्। यी विकास बैंकले गत आवमा एक अर्ब रुपैयाँ खुदनाफा कमाएका हुन्। उक्त अवधिमा ४ विकास बैंकले ५० करोडमाथि ७० करोड रुपैयाँसम्म र बाँकीले ५० करोड रुपैयाँभन्दा कम खुद नाफा कमाएका हुन्।