काठमाडौं। २० वर्षदेखि सत्तामा रहेकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले अन्ततः सुरक्षाका लागि सरकारी निवास छाडेकी छन्।
हसिनाले केही महिनाअघि चौथो चरणका लागि सरकारको नेतृत्व लिन विपक्षी पार्टीलाई प्रतिबन्ध लगाएर निर्वाचन गरेर प्रधानमन्त्री बनेकी थिइन्।
बंगलादेशमा सरकारी नोकरीमा आरक्षण खारेज माग गर्दै विद्यार्थीले सुरु गरेको आन्दोलनका कारण हालसम्म ३०० बढीले ज्यान गुमाएका छन्। सुरुमा सरकारी कोटा आरक्षण खारेजी हुनुपर्नेमा मागसहित सडकमा निस्किएका विद्यार्थीमाथि सुरक्षाकर्मीले अन्धाधुन्ध गोली चलाउँदै सयौंको ज्यान गएको छ।
आइतबारदेखि प्रदर्शनकारी विद्यार्थीले प्रधानमन्त्रीले राजनीनामा दिनुपर्ने एकसूत्रीय मागसहित सडक प्रदर्शन थालेपछि शेख हसिना सरकारी निवास छाडेर सुरक्षाका लागि भागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ। प्रधानमन्त्री शेख हसिनाले आफ्नो राजीनामाको माग गर्दै व्यापक विरोध प्रदर्शन भइरहेका बेला राजधानी ढाका छाडेको उनी निकट स्रोतले सोमबार जानकारी दिएको छ।
नाम उल्लेख नगर्ने सर्तमा उक्त स्रोतले भन्यो,‘प्रधानमन्त्री र उनकी बहिनी प्रधानमन्त्रीको सरकारी निवास (गणभवन) छाडेर सुरक्षित स्थानमा गएकी छन्। उनले देशबासीका नाममा सम्बोधन रेकर्ड गराउन चाहेकी थिइन्। तर, त्यसो गर्ने मौका पाइनन्।’
बंगलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै विद्यार्थीले सुरु गरेको आन्दोलन थप हिंसात्मक बनिरहेको समय बंगलादेशका सेना प्रमुख वाकर–उज–जमानले आज देशबासीका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री सुरक्षालाई दृष्टिगत गरी सरकारी निवासबाट बाहिरिएको बताइएको छ।
आन्दोलनमा प्रहरीले धरपकड हुँदा भएको क्षतिपछि सडक प्रदर्शनमा जनसहभागिता बढ्दै जाँदा आन्दोलनलाई थप उmर्जा मिलेको छ । प्रदर्शनकारीले प्रधानमन्त्री राजीनामा मागलाई अगाडि सारेका छन्।–एजेन्सी