काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७९/८० को तुलनामा २०८०/८१ को असारमा रकमान्तर ५० प्रतिशत बढीले घटाएको छ। २०८० असारमा मात्रै २३ अर्ब १० करोड ६५ लाख रुपैयाँ रकमान्तर गरेको अर्थले २०८१ असारमा ११ अर्ब ३७ करोड ३१ लाख १० हजार रुपैयाँ बजेट रकमान्तर गरेको हो।
यद्यपि उक्त रकमान्तर पुँजीगततर्फ विनियोजित १ करोड रुपैयाँभन्दा बढीको भएको अर्थले जनाएको छ। आर्थिक वर्ष २०८०÷८१ मा अर्थ मन्त्रालयले १७ खर्ब ५१ अर्बको बजेट ल्याएको थियो।
अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता उत्तरकुमार खत्रीका अनुसार अर्थ मन्त्रालयले रकमान्तर कम गराएर जाने लक्ष्य राखेकाले अघिल्लो वर्षको तुलनामा २०८० असारमा रकमान्तर घटेको बताउँछन्। ‘कति अंकले रकमान्तरको पैसा घट्यो मलाई याद छैन। तर, विगतका वर्षभन्दा सकिएको आवमा रकमान्तरलाई नियन्त्रण गरेका थियौं,’ प्रवक्ता खत्री भन्छन्, ‘बजेट निर्माण गर्दा घोषणा गरेको र असारको अन्तिम साता पनि रकमान्तर विगतमा जसरी नभए पनि स्वतः घट्ने नै भयो।’
असारमा रकमान्तर गर्दा पुँजीगत बजेटको ठूलो हिस्सा एकै महिनामा खर्च भएको भन्दै सरकारले नियन्त्रण गर्न आव २०८०÷८१ को बजेटमा असोज अघि र असार महिनामा रकमान्तर नगर्ने घोषणा गरेको थियो। तर, २०८० असार १० गतेको मन्त्रिपरिषद् बैठकले असारमा रकमान्तर खुलाउने निर्णय गरेको थियो। त्योसँगै रकमान्तर सुरु गरेको अर्थले १ करोड बढीका आयोजनामा मात्रै ११ अर्ब बढी रकमान्तर गरेको हो।
२०८१ असारमा रकमान्तर भएको १५६ उपशीर्षक मध्ये सबैभन्दा बढी भौतिक पूर्वाधार मन्त्रालयका उपशीर्षक र बजेट छ। त्यसपछि सहरी विकास मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायतको रकमान्तर भएको हो। भौतिक मन्त्रालयको ७७ उपशीर्षकमा ६ अर्ब ८४ करोड ४ लाख ७३ हजार, सहरी विकास मन्त्रालयको २७ उपशीर्षकमा १ अर्ब १९ करोड ८५ लाख ६७ हजार, ऊर्जाको १० उपशीर्षकमा असारमा मात्रै ५३ करोड २१ लाख ५२ हजार रकमान्तर भएको थियो।
त्यस्तै खानेपानी मन्त्रालयको १८ उपशीर्षकमा ८४ करोड ५९ लाख ६८ हजार रुपैयाँ, गृह मन्त्रालयको १४ उपशीर्षकमा ७१ करोड १७ लाख २७ हजार, रक्षा मन्त्रालयको २ उपशीर्षकमा २४ करोड १७ लाख २३ हजार रकमान्तर गरेको पनि अर्थ मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयको ५ उपशीर्षकमा ९५ करोड ८३ लाख ६१ हजार असारमा रकमान्तर भएको थियो। साथै अदालतमा १ करोड ६१ लाख ८८ हजार, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा १ करोड र अर्थ मन्त्रालयमा १ करोड ९९ लाख ५ हजार गरी अर्थ मन्त्रालयबाट असार महिनामा १ करोड बढीको पुँजीगततर्फको ११ अर्ब ३७ करोड ३१ लाख १० हजार रुपैयाँ रकमान्तर भएको हो।
२०८१ जेठमा ३५ उपशीर्षकमा २ अर्ब ५९ करोड ७३ लाख ७९ हजार रुपैयाँ रकमान्तर भएको अर्थ मन्त्रालयले जनाएको छ। असारमा गृह र स्वास्थ्य मन्त्रालयलाई २३ करोड ७९ लाख १३ हजार रुपैयाँ आर्थिक सहायता दिएको अर्थको विवरणमा उल्लेख छ। यद्यपि अघिल्लो जेठ महिनामा भने कुनै पनि मन्त्रालयलाई आर्थिक सहायता दिएको थिएन।
अर्थ मन्त्रालयले जेठमा ४३ उपशीर्षकमा ३ अर्ब २८ करोड ३८ लाख ९० हजार रुपैयाँ थप बजेट निकासा गरेको थियो। तर, असारमा थप बजेट निकासा बढेर विभिन्न मन्त्रालयका ११४ उपशीर्षमा ७ अर्ब ७५ करोड ५१ लाख ३३ हजार रुपैयाँ पुगेको थियो। यद्यपि जेठ र असारमा बहुवर्षीय आयोजनाका लागि स्रोत सहमति भने अर्थले दिएको थिए।