काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिीबि नेपालको कार्यकाल आउँदो चैत ५ गतेदेखि सकिंदै छ । उनी ५ वर्षे कार्यकाल सकेर केन्द्रीय बैंकबाट बाहिरिदै छन ।
नेपालको कार्यकाल सकिन अब २ महिना मात्र बाँकी छ । उनको कार्यकाल सकिने समय जति नजिकिंदै छ, नयाँ गभर्नर को बन्छ भनेर विभिन्न अडकलबाजीहरु हुन थालेका छन ।
बजारमा अहिले डेपुटी गर्भनर चिन्तामणि शिवाकोटी, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठ र पूर्व डेपुटी गभर्नर तथा हाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारीको नाम चर्चामा छ । संभवत यी ३ जनाबीच नै गभर्नरका लागि प्रतिस्पर्धा हुने छ ।
प्रधानमन्त्रीले चाहेको व्यक्ति गभर्नर बन्ने छन । यसअघि तत्कालिन प्रधानमन्त्री सुशील कोईरालाले तत्कालिन अर्थमन्त्री डा.रामशरण महतको चाहाना विपरित डा. नेपाललाई गभर्नर बनाएका थिए । गभर्नर नियुक्तिमा अर्थमन्त्रीको भूमिका रहेपनि अन्तिम निर्णय प्रधानमन्त्रीको हुने छ ।
सभामुख र गभर्नरलगायत अन्य नियुत्तिका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच विवाद देखिएको छ । सभामुख नियुक्तिका विषयमा दुई अध्यक्षबीच कुरा मिलेको छैन । यसले गर्दा संघीय संसदको बैठक अवरुद्ध छ । सभामुख, गभर्नरदेखि अन्य नियुक्ति प्याकेजमा हुनुपर्ने अडानमा प्रचण्ड छन ।
यता प्रधानमन्त्री ओली आफु निकटलाई सभामुख र गभर्नर बनाउने पक्षमा छन । प्रधानमन्त्रीले सभामुखमा सुवास नेम्वाङ र प्रचण्डले अग्नीप्रसाद सापकोटालाई बनाउने अडानका कारण वैठक निर्णय विहीन भएको हो ।
गभर्नरमा पनि करिवकरिव यस्तै अवस्था आउने देखिएको छ । यद्यपी प्रधानमन्त्री ओलीले चाहेमा विनारोकतोक आफु निकटलाई राष्ट्र बैंकको गभर्नर बनाउन सक्ने छन ।
ओली निकटमा डेपुटी गभर्नर शिवाकोटी रहेका छन । प्रधानमन्त्रीले चाहेमा डेपुटी गभर्नर शिवाकोटीलाई गभर्नर हुनबाट कसैले पनि रोक्न सक्दैन । उनी गभर्नरका लागि बलिया क्यान्डिडेट हुन ।
प्याकेजमा सहमति भएमा गभर्नर प्रचण्ड निकट रहेका डा. श्रेष्ठ पनि बन्ने संभावना पनि त्यत्तिकै छ । बजारमा चर्चामा रहेका मध्ये श्रेष्ठ र शिवाकोटी नै गभर्नरका लागि बलिया उम्मेदवार हुन । प्रचण्डले सकेसम्म श्रेष्ठलाई गभर्नर बनाउन चाहेको बुझिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको रोजाइमा महाप्रसाद अधिकारी छन ।
अधिकारी पनि गभर्नरको लाइनमा छन । राष्ट्र बैंकमा १३ औं स्थानमा रहेका अधिकारीले तत्कालिन गभर्नर डा. खतिवडाले डेपुटी गभर्नर बनाएका थिए । त्यसबेलाको निर्णयप्रति असन्तुष्ठि जनाउँदै केही वरिष्ठ कार्यकारी निर्देशकहरुले पदबाट राजीनामा समेत गरेका थिए ।
अधिकारी अहिले लगानी बोर्डमा सीईओ छन् । आउँदो असारसम्म उनी बोर्डमा रहन सक्छन । यदी गभर्नर बन्ने संभावना भएमा राजीनामा गर्ने तयारीमा अधिकारी छन । क्यापिटल नेपालसंग केही महिनाअघि कुरा गर्दै अधिकारीले आफु गर्भनरको आकाँक्षी रहेको बताएका थिए ।
सरकारको पोर्टफोलियोअनुसार राष्ट्रिय योजना आयोगको उपाध्यक्ष गभर्नर भन्दा माथि हुन्छ । डा. श्रेष्ठ योजना आयोगका उपाध्यक्ष समेत भएकाले उनले पोर्टफोलियअनुसार तल झर्नुपर्ने हुन्छ । केन्द्रीय बैंकको गभर्नर शक्तिशाली र ग्लामरस हुने भएकाले योजना आयोगमा बसिसकेका श्रेष्ठ यसमा आकाँक्षी भएका हुन् ।
प्रचण्ड प्रधानमन्त्री भएका बेला राष्ट्रिय योजना आयोगमा डा. श्रेष्ठ आयोगका उपाध्यक्ष भएका थिए । माओवादी निकट मानिने श्रेष्ठ आफु पनि गभर्नरका लागि उपयुत्त क्यान्डिडेट भएका बताएका छन । क्यापिटल नेपालसंग कुरा गर्दै उनले गभर्नर नियुत्ति सरकारको कार्यक्षेत्रभित्र भएकाले चाहेमा आफु पनि हुन सक्ने बताए ।
ओली निकट शिवाकोटीको पनि गृह जिल्ला झापा र एमाले निकट भएका कारण उनी आफु गभर्नर हुनेमा ढुक्क छन् । प्रधानमन्त्री ओलीले नियुक्ति गर्दा झापाकालाई बढी प्राथमिकता दिने भएकाले शिवाकोटी पनि हुने संभावना बलियो छ । तर, शिवाकोटी प्रतिस्पर्धामा रहेका महाप्रसाद अधिकारी र डा. मीनबहादुर श्रेष्ठ भन्दा जुनियर हुन ।
वर्तमान गभर्नर नेपालले प्रभावकारी रुपमा काम गर्न नसक्दा केन्द्रीय बैंक अर्थ मन्त्रालयको विभागको भूमिकामा झरेको छ । राष्ट्र बैंक स्वायत्त संस्था र सरकारको आर्थिक सल्लाहकार भएपनि गभर्नर नेपालको असक्षमताले गर्दा अहिल विभाग जस्तो भएको छ । अर्थ मन्त्रालयले जे निर्णय गर्छ गभर्नर नेपालले त्यसैलाई सदर गर्दै जागिर मात्र खाने काम गरेको आरोप लाग्दै आएको छ ।
डा. खतिवडालगायत अन्य व्यक्ति गभर्नर हुँदा राष्ट्र बैंक मजवुत हुनुका साथै अहिलेको जस्तो सरकारी हस्तक्षेप पनि थिएन । गभर्नर नेपालले वित्तीय स्थायित्व कायम गर्न नसकेको, ब्याजदर करिडोरको प्रभावकारी कार्यान्वयन गर्न नसकेको र तरलता व्यवस्थापन र ब्याजदरलाई स्थिर राख्न नसकेको आरोप लाग्दै आएको छ । केन्द्रीय बैंकलाई अझ बढी स्वायत्तता र वित्तीय स्थायित्व कायम गर्ने क्षमतावान गभर्नरको आवश्यक छ ।