काठमाडौं। बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण सार्वजनिक भएको छ। गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार सेयर बजारमा सबैभन्दा बढी हिस्सा भएको वाणिज्य बैंकको अवस्थामा सुधार आएको छ।
गत आर्थिक वर्षमा २० वाणिज्य बैंकहरुले ६४ अर्ब १५ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएका छन्। अघिल्लो आर्थिक वर्ष २०७९/८० मा भने वाणिज्य बैंकहरुको यस्तो नाफा ५६ अर्ब ५७ करोड रुपैयाँ थियो जुन, गत वर्षको तुलनामा १३.४० प्रतिशत कम हो।
गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १० वटाको खुद नाफा बढेको छ। प्रभु बैंक, नबिल, हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा, लक्ष्मी सनराइज, प्राइम, कुमारी, एभरेष्ट र नेपाल एसबीआई बैंक नाफा बढाउन सफल भएका छन्।
यस्तै, सानिमा, एनएमबी, एनआइसी एसिया, नेपाल बैंक, स्ट्यान्डर्ड चार्टर्ड, सिटिजन्स, ग्लोबल, सिद्धार्थ, माछापुच्छ्रे र राष्ट्रिय वाणिज्य बैंकको नाफामा भने गिरावट आएको छ।
गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार वाणिज्य बैंकहरुले सेयरधनीलाई औसतमा ४.२१ प्रतिशतसम्म लाभांश दिनसक्ने देखिएकोछ। २० वाणिज्य बैंकमा चार वटाको लाभांश दिन सक्ने क्षमता नकरात्मक रहेपनि बाँकी १६ वटाले भने १.३० प्रतिशतदेखि २९.८६ प्रतिशतसम्म लाभांश दिन सक्ने क्षमता राखेका छन्।
अघिल्लो आर्थिक वर्षको तुलनामा वाणिज्य बैंकको नाफा १३.४० प्रतिशतले सुधार हुँदा विकास बैंकको नाफा पनि ९.३९ प्रतिशतले वृद्धि भएको छ। गत आर्थिक वर्षमा राष्ट्रिय स्तरका विकास बैंकहरुले ५ अर्ब ५५ करोड खुद नाफा कमाएका छन्। अघिल्लो आर्थिक वर्ष विकास बैंकहरुले ७ अर्ब ७ करोड खुद नाफा कमाएका थिए, जुन गत वर्षको तुलनामा ९.३९ प्रतिशतले कम हो।
समग्रमा बैंक तथा विकास बैंकको वित्तीय विवरण सकारात्मक आएको छ। फाइनान्स र लघुवित्तको वित्तीय विवरण पनि मध्यम किसिमको छ। बजारमा ठूलो हिस्सा ओगटेका बैंक र विकास बैंकको वित्तीय अवस्था मजबुत बन्दै गएको छ। यसले सेयर बजारलाई थप ‘कन्फिडेन्ट’ दिँदै जाने देखिन्छ। बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण सकरात्मक आएकाले यसले सेयर बजारलाई थप सकारात्मक बनाउने सेयर लगानीकर्ता छोटेलाल रौनियार बताउँछन्।
‘बैंकहरुको वित्तीय विवरण पहिलाको तुलनामा राम्रो आएको छ। यद्यपि, वितरणयोग्य नाफा भने कमै भए पनि एनपिएल घटेर गएको छ,’ रौनियार भन्छन्, ‘मौद्रिक नीतिको सुविधालाई उपयोग गरी साउन मसान्तसम्म उठ्न सक्ने ब्याज पनि नाफामा गणना पाउँथे तर अहिले त्यसो गरिएको छैन। त्यसलाई पनि गाभिएको भए बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण अझै राम्रो हुने थियो।’ रौनियारले बैंकहरुको सुधारिएको अवस्थाले सेयर बजारमा पनि सकारात्मक प्रभाव पार्ने बताए।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले गतवर्षको पाकेको ब्याजलाई चालू आर्थिक वर्षको साउन मसान्तसम्म उठे पनि गत वर्ष नै उठेको मान्न पाउने सुविधा दिएको थियो। राष्ट्र बैंकले सोमबार एक निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाले २०८१ साउनमा मसान्तभित्र रिकभरी गरेको ब्याजलाई आर्थिक वर्ष २०८०÷८१ मै रियलाइज भएको भनेर आम्दानी बाँध्न पाउने जनाएको थियो।
यसअघि, राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरुको २०८१ असार मसान्तसम्मको अवधिमा पाकेको ब्याज २०८१ साउन मसान्तसम्ममा प्राप्त भएमा विद्यमान लेखामानको अधीनमा रही त्यस्तो रकमलाई आर्थिक वर्ष २०८०÷८१ मा आम्दानी बाँध्न पाउने व्यवस्था गरिने उल्लेख गरेको थियो। तर, बैंकहरुले हाल सार्वजनिक वित्तीय विवरणमा सो सुविधा समायोजन गरेका छैनन्।
‘मौद्रिक नीतिले दिएका धेरै सुविधाका विषयहरु समायोजन नगरी अनि साउन मसान्तसम्म उठ्नसक्ने ब्याजको समेत हिसाब नगर्दा पनि वाणिज्य बैंकको वासलातमा देखिएको सुधारले अर्थतन्त्र गतिशिल भएको संकेत देखिएको छ,’ सेयर लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अँध्यारोपछि उज्यालो त हुन्छ नै। त्यसमा पनि मौद्रिक नीतिले त बिजुली बत्तीको काम गर्दै छ।’
नयाँ सरकार, चालू आर्थिक वर्षको मौद्रिक नीतिसँगै गति लिएको सेयर बजार वित्तीय संस्थाको वित्तीय अवस्थामा सुधार आएसँगै थप सकारात्मक बन्ने देखिन्छ। गत साताको पाँच कारोबार दिनमा १८७.४९ अंकको वृद्धिसहित अन्तिम कारोबार दिन बिहीबार नेप्से २७५५.६२ बिन्दुमा छ। गत साता नेप्सेमा कुल १ खर्ब १ अर्ब ५१ करोड रुपैयाँ बढीको कारोबार भएको थियो।