काठमाडौं। वाणिज्य बैंकहरुले ६४ अर्ब बढी रुपैयाँ बढी खुद नाफा आर्जन गरेका छन्। गत आर्थिक वर्षमा २० वाणिज्य बैंकहरुले ६४ अर्ब १५ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएका हुन्। जुन अघिल्लो अघिल्लो आर्थिक वर्षको तुलनामा १३.४० प्रतिशतले बढी हो। आर्थिक वर्ष २०७९/८० मा वाणिज्य बैंकहरुले ५६ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा कमाएका थिए।
सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये एक वर्षको अवधिमा १० वटाले खुद नाफा २।३५ प्रतिशतदेखि १५ गुणासम्मले वृद्धि गरेका छन् भने १० वटाको ४.५१ प्रतिशतदेखि ६८.९१ प्रतिशतसम्मले खुद नाफा घटेको छ। एक वर्षको अवधिमा खुद नाफाको ग्रोथमा प्रभु बैंकले छलाङ्ग मार्दा एनआईसी एसिया बैंक निम्छरो देखिएको छ। अघिल्लो आवमा कमाएको खुद नाफामा प्रभु बैंकले १ हजार ४ सय ९९।०४ प्रतिशत अर्थात् १५ गुणाले वृद्धि गर्दा एनआइसी एसिया बैंकको नाफा ६८.९१ प्रतिशतले घटेको छ।
एक वर्षको अवधिमा कुमारी ३ सय ४५.६७ प्रतिशत, प्राइम २ सय ६७ सय १९ प्रतिशत कृषि विकास १ सय ७६ प्रतिशत, हिमालयन, ८१.६० प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा ३९.७१ प्रतिशत, लक्ष्मी सनराइज ३२.७९ प्रतिशत, नबिल १०.२३ प्रतिशत र एभरेष्ट १०.०७ प्रतिशत रहेको छ।
साथै, उक्त अवधिमा खुद नाफामा नकारात्मक ग्रोथ गर्ने १० वाणिज्य बैंकमध्ये सबैभन्दा बढी एनआइसी एसिया र सबैभन्दा कम स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन्।
एक वर्षको अवधिमा एनआईसी एसियाको ६८.९१ प्रतिशत नेपाल बैंक ५१.८० प्रतिशत सिटिजन्स बैंक २७.९७ प्रतिशत, एनएमबि बैंक २७.४९ प्रतिशत, माछापुच्छ्रे बैंक २३.०९ प्रतिशत, ग्लोबल आइएमई बैंक १०.१३ प्रतिशत, सानिमा बैंक ८.५९ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंक ५.४८ प्रतिशत, सिद्धार्थ बैंक ४.७८ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकको ४.५१ प्रतिशतले खुद नाफा घटेको हो।
परिमाणको आधारमा भने एक वर्षमा सबैभन्दा बढी नबिल बैंकले ७ अर्ब ६ करोड रुपैयाँ खुद नाफा कमाउँदा माछापुच्छ्रे बैंकले सबैभन्दा कम १ अर्ब २५ करोड रुपैयाँ कमाएको हो।