काठमाडौं । चौधरी ग्रुपअन्तर्गत सीजी मोटर्सले नेपाली बजारमा बिक्री गर्दै आइरहेको किङ्गलङ्ग १४ सिटर इलेक्ट्रिक भ्यान काठमाडौंमा एक कार्यक्रमबीच सुपर माउन्ट एभरेष्ट यातायात व्यवसायी प्रालीलाई एकैपटकमा २५ किङ्गलङ्ग १४ सिटर इलेक्ट्रिक माइक्रो भ्यान हस्तान्तरण गरेको छ।
हस्तान्तरण समारोहमा नेपाली नेता अर्जुन नरसिंह केसी, यातायात व्यवसायी महासंघका अध्यक्ष विजय स्वार तथा अन्य यातायात व्यवसायीका प्रतिनिधि र यातायातसँग सम्बद्ध व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
'यति धेरै गाडी एकैपटक हस्तान्तरण गर्न पाउँदा हर्षित छौँ। सुपर माउण्ट एभरेष्ट यातायात व्यवसायी प्रालीको कदमलाई हामी हृदयबाटै धन्यवाद दिन चाहन्छौं। आगामी दिनमा वहाँहरू जस्तै अन्य यातायात व्यवसायीलाई पनि वातावरण मैत्री इलेक्ट्रिक माइक्रो भ्यानको प्रयोग गर्न प्रोत्साहन गर्न चाहन्छौं,' सीजी मोटर्सका महाप्रबन्धक दिनेश पाण्डेले भने, 'बजारमा प्रचलित डिजेल भ्यानसँग तुलनानै गर्ने हो भने इलेक्ट्रिक माइक्रो भ्यानले अत्याधिक खर्च कटौती गरी धेरै बचतको बाटो खोलिदिएको छ।'
किङ्गलोङ्ग १४ सिटर इलेक्ट्रिक कमर्सियल भेहिकलमा ५०.२३ किलोवाटको ब्याट्री पाउन सकिन्छ। गाडीमा एबीएस, इबीडी, १८० एमएम ग्राउण्ड क्लेरेन्स, १५ इन्चको टाएर, रिभर्स क्यामेरा, रिभर्स क्यामेरा विथ सेन्सर, एसी जस्ता विशेषता पाउन सकिने कम्पनीले जनाएको छ। गाडीलाई २० प्रतिशतबाट ८० प्रतिशत चार्ज गर्न मात्र ४५ मिनेट लाग्ने कम्पनीको भनाइ छ।
पानीपोखरी सोरुमसँगै नेपालभर थप २१ सोरुमबाट सेल्स तथा सर्भिसिङको सुविधा लिन सकिने कम्पनीको भनाइ छ। नेपालभर १८५ भन्दा धेरै स्थानमा चार्जिङ सेवा दिँदै आइरहेको र थप ठाउँमा चार्जिङ सुविधा विस्तार गरिने कम्पनीले जनाएको छ।