काठमाडौं । नक्कली रेमिट्यान्स कम्पनी खडा गरी अस्ट्रेलियाबाट वर्षौंदेखि हुन्डी कारोबार चलिरहेको खुलेको छ।
अस्ट्रेलियामै बस्ने नेपालीले शाह एन्ड ब्रोर्दश कम्पनी खोली त्यसको अन्तर्गतमा रहेको ‘नमस्ते रेमिट अस्ट्रेलिया’मार्फत गैरकानुनी कारोबार गरिरहेको खुलेको हो।
राष्ट्र बैंकबाट इजाजतप्राप्त कम्पनीले मात्रै रेमिट्यान्स कारोबार गर्न पाउँछ। तर, नमस्ते रेमिट्यान्स अस्ट्रेलियाले नेपाल राष्ट्र बैंकबाट स्वीकृत नलिई गैरकानुनी विदेशी मुद्रा कारोबार गरिरहेको हो।
यद्यपि, नमस्ते रेमिट्यान्सले आफ्नो वेबसाइटमा राष्ट्र बैंकबाट लाइसेन्स प्राप्त कम्पनी भनेर समेत उल्लेख गरेको छ।
अस्ट्रेलियामै दर्ता रहेको शाह एन्ड ब्रोर्दश कम्पनीले नमस्ते रेमिट्यान्सको नाममा अस्ट्रेलियाबाट हुन्डीका नेपालमा रेमिट्यान्सको कारोबार गरिरहेको तथ्य क्यापिटल नेपालले पत्ता लगाएको हो।
राष्ट्र बैंकबाट ‘नमस्ते रेमिट इन्टरनेशनल’ को नाममा इजाजत छ। तर, शाह एन्ड ब्रोर्दश कम्पनीले त्यसैको नक्कल गर्दै नमस्ते रेमिट्यान्स पनि सोही भएको दाबी गर्दै अवैध रूपमा रेमिट्यान्स कारोबार गरेको हो।
‘नमस्ते रेमिट इन्टरनेशनल’ कम्पनीले राष्ट्र बैंकबाट विदेशी विनिमयको कारोबार गर्न २०७४ सालमा लाइसेन्स लिएको थियो। तर, उक्त कम्पनी लाइसेन्स नवीकरण म्याद समाप्त भएर निष्क्रिय अवस्था छ। त्यसले कुनै पनि कारोबार गरेको छैन।
नमस्ते रेमिट इन्टरनेशन नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाको हो। कम्पनी नवीकरण गर्न राष्ट्र बैंकले तोकेको चुक्तापुँजी पुर्याउने प्रयत्नमा आफूहरू रहेको र तत्काल कम्पनी कारोबारमा नरहेको कम्पनीका अध्यक्ष गोल्छा बताउँछन्।
‘नवीकरण गराउन राष्ट्र बैंकले बढाएको चुक्तापुँजी कायम गर्ने प्रयत्नमा छौं, पुँजी जुटेपछि नवीकरण गरेर कम्पनी पुनः सञ्चालनमा आउँछ, अहिले हामीले अस्ट्रेलिया होस् या अन्य कुनै देशबाट रेमिट्यान्सको कारोबार गरेका छैनौं’ नमस्ते रेमिट इन्टरनेशनलका अध्यक्ष गोल्छाले क्यापिटल नेपालसँग भने।
तर, कोही व्यक्तिले हाम्रै नामको नक्कली कम्पनी खडा गरेर कारोबार गरेको भए आफू त्यसबारे अनविज्ञ जानकारी दिए।
गोल्छाको रेमिट कम्पनीको २०८० कार्तिक २९ गते इजाजतप्रत्रको म्याद समाप्त भइसकेको छ। राष्ट्र बैंकले २०८५ असार मसान्तसम्म विप्रेषण कम्पनीले १० करोड रुपैयाँ चुक्तापुँजी कायम गर्न निर्देशन दिएको छ।
नमस्ते रेमिटले अहिले अस्ट्रेलियाबाट खुलेआम रेमिट्यान्स पठाउने भनेर पैसा उठाइरहेको छ। नमस्ते रेमिटले आफ्नो खातामा पठाउने रकम आग्रह गर्छ। अस्ट्रेलियामै रहेको नमस्ते रेमिटमा पैसा जम्मा गरेको स्क्रिनसट भाइवरमार्फत सम्बन्धित व्यक्तिलाई पठाएपछि उसले नेपालमा कसको खातामा पैसा जम्मा गर्ने हो, त्यसको नामको चेकको फोटोकपी माग्छ। र त्यसको नेपालको एजेन्टले नेपाली रुपैयाँमै रेमिट्यान्स पाउनुपर्ने व्यक्तिको खातामा जम्मा गरिदिने गरेको छ।
‘नमस्ते रेमिट्यान्स’ नेपाल पैसा पठाउने गुणस्तरीय भरपर्दो र सबैभन्दा बढी विदेशी विनिमयदर दिने लोकप्रिय रेमिट्यान्स कम्पनी आफूहरू रहेको वेबसाइटमा उल्लेख गरिएको छ। कम्पनीले नबिल बैंकबाट आफ्नो भुक्तानी नहुने भन्दै कुमारी, माछापुच्छ्रे र एनआईसी एसियालाई आफ्नो बैंकिङ पार्टनरको रूपमा देखाएको छ।
‘नमस्ते रेमिट्यान्स’ नेपाल राष्ट्र बैंक, अस्ट्रेलियन सरकार र अस्ट्रेलियन इन्भेष्टमेन्ट कमिशनबाट लाइसेन्स लिएको हुँदा कम्पनीमार्फत भएको सम्पूर्ण कारोबार कानुनी रहेको कम्पनीले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ।
अस्ट्रेलियाबाट पैसा पठाउन चाहनेले भाइबर र ह्वाटसप नम्बर +६१४६९८४६७४४ मा फोन वा म्यासेज गरेर दिइने निर्देशनअनुसार नेपालमा पैसा पठाउन सक्ने वेबसाइटमै उल्लेख गरिएको छ। उल्लेखित नम्बरमा ह्वाटसप म्यासेज गर्दा बैंक ट्रान्सफरका लागि नमस्ते रेमिट्यान्स बिएसबी नम्बर ८०२९८५ र एकाउन्ट नम्बर ५१३९२३१२४ मा पैसा पठाउन आग्रह हुन्छ। जसमा डिस्क्रिप्सन (विवरण)मा पठाउनेको नाम उल्लेख गर्न भनिन्छ।
साथै, नेपालमा पठाएको पैसा प्राप्त गर्ने प्रापकको बैंक खाता विवरण सहितको चेकको फोटो ह्वाटसपमै पठाउन भनिन्छ। यसरी दिइएको सेवाको शुल्क ५ डलर तोकिएको छ। कम्पनीले राष्ट्र बैंकले तोकेको विदेशी मुद्रा सटहिदरभन्दा बढी उल्लेख गर्दै रेमिट्यान्स पठाउन व्यक्तिगत रूपमा अस्ट्रेलियामा रहेका नेपालीलाई म्यासेज गर्ने गरिरहेको छ।
कम्पनीले राखेको नम्बरका फोन गरेर सोध्दा समेत कम्पनी राष्ट्र बैंकबाट अनुमति प्राप्त पुरानै कम्पनी हो र अहिले कम्पनीले जापान र अमेरिकाको काम छोडेर अस्ट्रेलियाको मात्रै गरिहेको बताइन्छ। कम्पनी नवीकरणबारे प्रश्न गर्दा भने हाल प्रक्रियामै रहेको कारण राष्ट्र बैंकले कारोबार गर्न दिइरहेको +६१४६९८४६७४४ मा फोन उठाउने व्यक्तिबाट जानकारी आउँछ।
अस्ट्रेलियाबाट नेपालमा सस्तोमा पैसा पठाउन आग्रह गर्दै भाइवरमा नमस्ते रेमिट्यान्स ग्रुप बनाइएको छ। जसमा ८ हजार जना व्यक्ति छन्। जो अधिकांश अस्ट्रेलियामा रहेका नेपाल हुन्। उनीहरूले नमस्ते रेमिट्यान्समार्फत् नै नेपालमा पैसा पठाइरहेका छन्।
केन्द्रीय बैंकले विप्रेषण कारोबारका लागि इजाजतपत्र ३६ वटाले दिएको छ। जसमा ११ वटाको म्याद समाप्त भएको १८० दिन बढी भइसकेको छ। राष्ट्र बैंकले हालसम्म विविध कारण औँल्याउँदै २३ वटा रेमिट्यान्स कम्पनी खारेज गरिसकेको छ। नवीकरण म्याद समाप्त भएका कम्पनीहरूको स्वतः खारेजीमा गरेर ती कम्पनीहरूको नाममा रेमिट्यान्स कारोबार भए/नभएको पुन यकिन गर्नतर्फ राष्ट्र बैंकले ध्यान नदिँदा आधिकारिकता पाएर पनि विविध कारणले निष्क्रिय भएका रेमिट्यान्स कम्पनीको नाम ‘शाह एन्ड ब्रोदर’ जस्ता कम्पनीलाई गैरकानुनी कारोबार गर्न प्रश्रय मिलेको हो।
कम्पनीले आफूहरूले १० वर्षदेखि अस्ट्रेलियाबाट नेपालमा रेमिट्यान्सको कारोबार गर्ने उल्लेख गरे पनि सन् २०२३ बाट मात्रै कम्पनी दर्ता भएको देखिन्छ।
यसरी निजी क्षेत्रको छाता संगठनका अध्यक्षकै कम्पनीको नाममा दुरुपयोग गर्दै अस्ट्रेलियाबाट हुन्डीमा रेमिट्यान्स कारोबार भइरहेको छ। नियामकले कानुनतः खारेज हुने कम्पनीलाई अनुमतिप्राप्त कम्पनीको सूचीमा राखिरहेको हुँदा विकृतिले प्रश्रय पाएको हो।