काठमाडौं । नेपालमै पहिलोपटक डिजिटल होम इन्टरनेशनलले सेट–टप बक्स उत्पादन सुरु गरेको छ । सरकारले एनालग टेलिभिजनलाई हटाएर डिजिटलमा रुपान्तरण गरेपछि सेटटप बक्सको खपत बढेको छ । बजारको माग पुरा गर्न डिस होम अन्तर्गतको उक्त कम्पनीले ४० करोड रुपैयाँ लगानीमा सेट टप बक्स उत्पादन थालेको हो ।
डिजिटल होम इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशव पौडेलले पहिलो चरणमा ४० करोड रुपैयाँ लगानी गरेर सेटटप बक्स उत्पादन थालेको बताए । उनका अनुसार सेटटप बक्सको एसेम्बल प्लान्ट गोदावरीमा राखिएको छ ।
‘सेटटप बक्स उत्पादनको लागि पूँजी वृद्धि गर्दै उत्पादन क्षमता र मात्रा पनि बढाउदै निकट भविष्यमै १ अर्ब रुपैयाँ लगानी गर्दै छौं’ उनले भने । परीक्षणको क्रममा चीनबाट सामान आयात गरेर सुरुमा ६५ हजार बक्स उत्पादन गर्ने लक्ष्य रहेको उनले जानकारी दिए ।
कम्पनीले उत्पादन सुरु गरेको सेटटप बक्सको प्रविधि चीनको भएपनि डिजाइन भने नेपालमै हुने छ । नेपालको माग अनुसार डिजिटल होम इन्टरनेशनले बार्षिक १० लाख यूनिट सेट टप बक्स उत्पादन गर्ने छ ।
नेपालमा सेटटप बक्सको माग ८० लाख भएपनि आवश्यकता अनुसार उत्पादन र आयात नभएकाले हाल ३५ लाखमात्र ग्राहक डिजिटल टेलिभिजनको पहूँचमा पुगेको कम्पनीले जनाएको छ ।
इन्टरनेट सेवा दिन लाइसेन्स पर्खिदै डिसहोम
डिस मिडिया नेटवर्क लिमिटेड (डिसहोम)ले सिम टीभी नामबाट इन्टरनेट सेवा विस्तार गर्न दूरसञ्चार प्राधिकरणमा अनुमतिपत्र (लाइसेन्स) का लागि आवेदन दिएको छ । लाइसेन्स लिन निवेदन दिएको झन्डै दुई महिना बितिसेके पनि अनुमति पाइसकेको छैन् ।
डाइरेक्ट–टु–होम (डीटीएच) सेवाप्रदायक डिसहोमले नाममा स्याटेलाइटमा आधारित इन्टरनेट सेवा शुरू गर्न इजराइली स्याटेलाइट कम्पनी स्पेस कमसँग सम्झौता समेत गरिसकेको छ । स्पेस कमले एशिया, यूरोप, अफ्रिका, मध्यपूर्व तथा रूससम्म स्याटेलाइट सेवा प्रदान गर्दै आएको छ ।
डिस मिडिया नेटवर्कअन्तर्गतको डिसहोम सञ्चालनमा आएको १० वर्षपछि कम्पनी इन्टरनेट सेवा सञ्चालनका लागि कसिएको हो । पुसबाटै इन्टरनेट सेवा सञ्चालन गर्ने लक्ष्य लिएपनि नीतिगत र प्रविधिक बिषयमा समस्याका कारण ढिलाई भएको जनाएको छ ।