काठमाडौं । विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै जाँदा सर्भिस सेन्टर र चार्जिङ स्टेसन पर्याप्त नभएको विषय उठिरहेको छ। ईभी ब्रान्डमाथि पूर्वाधारमा ध्यान नदिएको र लगानी नगरेको आरोप पनि लाग्दै आएको छ। विद्युतीय सवारीसाधनका लागि चार्जिङ स्टेसन र सर्भिसिङ सेन्टर अत्यावश्यक विषय हुन्।
कतिपयले नेपालमा पूर्वाधार तयार नभएकाले विद्युतीय सवारीसाधन खरिद गर्ने समय भइनसकेको पनि बताउने गरेका छन्। यद्यपि, नेपाल विद्युत् प्राधिकरणले मात्रै सरकारको ईभी प्रोत्साहन नीतिलाई सहयोग गर्नका लागि हालसम्म ५१ चार्जिङ स्टेसन स्थापना गरिसकेको छ। प्राधिकरणको चार्जिङ स्टेसनमा सबै गाडी चार्ज गर्न मिल्ने सुविधा छ। यसका अलावा प्राधिकरणले निजी क्षेत्रलाई चार्जिङ स्टेसनका लागि प्रोत्साहित गर्ने र स्वीकृति दिने काम पनि निरन्तर गरिरहेको छ।
केही ईभी ब्रान्डले चार्जिङ स्टेसन र सर्भिस सेन्टर लगायतका पूर्वाधारमा राम्रै लगानी गरेका छन्। चार्जिङ स्टेसन पर्याप्त हुँदै गर्दा पनि सर्भिस सेन्टर नभएको स्थितिमा भने त्यसलाई ईभी वातावरण तयार भएको मानिँदैन। साथै, प्रयोगकर्ता पनि त्यसबाट सन्तुष्टि हुन सक्दैनन्।
हुनत, सवारीसाधन खरिद गर्नु अगावै ग्राहकले उक्त ब्रान्डले सवारीसाधन खरिदपछि प्रदान गर्ने सेवा, सर्भिस सेन्टर, आवश्यक पूर्वाधार र सामाग्री तथा पार्टपुर्जाका बारेमा जिज्ञासा राख्ने गर्दछन्। त्यसैले कतिपय ईभी ब्रान्डले चार्जिङ स्टेसन र सर्भिस सेन्टरमा लगानी गरेको पनि देखिन्छ। तर, त्यो पर्याप्त भने भइसकेको छैन।
हाल केही ब्रान्ड बाहेक धेरै ब्रान्डले उपत्यका बाहिर चार्जिङ स्टेसन र सर्भिस सेन्टर स्थापना गरेको देखिँदैन। नेपालमा हुन्डाई, बिवाइडी, एमजी, टाटा, निसान, ओमोडा, सिट्रोन, किया, टेस्लालगायत ब्रान्डले भने उपत्यका भित्र तथा बाहिर केही संख्यामा चार्जिङ स्टेसन र सर्भिस सेन्टर स्थापना गरेका छन्।
एउटै चार्जिङ स्टेसनमा सबै ब्रान्डका ईभी किन चार्ज गर्न मिल्दैन?
नेपालमा भित्रिएका विभिन्न विद्युतीय सवारीसाधनको चार्जिङ प्रणाली फरक-फरक छ। केही ब्रान्डको चार्जर बेग्लै किसिमको हुन्छ भने उस्तै किसिमको चार्जर भएको ब्रान्डले पनि आफ्नोबाहेक अन्य ब्रान्डका गाडी चार्ज गर्न नदिने गरेको पाइन्छ। खासगरी, सबै चार पांग्रे विद्युतीय सवारीसाधनमा एकै किसिमको चार्जिङ प्रणाली हुनुपर्ने हो। यस्तो हुँदा अलग ब्रान्डको सवारीसाधन फरक ब्रान्डको चार्जिङ स्टेसनमा लगेर पनि चार्ज गर्न मिल्छ।
तर, नेपालका विद्युतीय ब्रान्डको अलगअलग किसिमको चार्जिङ प्रणाली र त्यसमा पनि आफ्नोबाहेक अन्य ब्रान्डका गाडी चार्ज गर्न नदिने किसिमको व्यवहारले ग्राहकमा समस्या ल्याएको छ। यस्तो हुँदा चार्जिङ स्टेसन पनि बढी स्थापना गर्नुपर्ने हुन्छ। त्यसैले सबै ईभीमा एकै किसिमको चार्जर लाग्ने व्यवस्था गर्नुपर्ने र जुनसुकै ब्रान्डले जुनसुकै ब्रान्डको चार्जिङ सेन्टरमा चार्ज गर्न मिलाउने बनाउनुपर्ने विषय पनि उठिरहेको छ।
नेपालमा हाल सिसिएस टू र चारड्याम्बोलगायतका चार्जर सञ्चालनमा छन्। सिसिएस टू चार्जर लाग्ने चार्जिङ स्टेसनमा अर्को सिसिएस टू चार्जर लाग्ने गाडी चार्ज गर्न सकिन्छ तर, चारड्याम्बो चार्जर लाग्ने गाडीमा भने चार्ज गर्न मिल्दैन। यी फरक-फरक किसिमको चार्जिङ प्रणालीलाई परिवर्तन गरेर एकै किसिमको बनाउँदा प्रयोगकर्ताका लागि पनि सहज हुने देखिन्छ।
कसको चार्जिङ स्टेसन र सर्भिस सेन्टर कति?
हुन्डाई
नेपालमा हुन्डाई गाडीको विक्री वितरण गर्दै आएको लक्ष्मी इन्टरकन्टिनेन्टलले देशभरका १७ डिलरमार्फत १९ स्थानमा सर्भिस सेन्टर र ४५ वटा फास्ट चार्जिङ स्टेसन स्थापना गरी सञ्चालन गरिरहेको छ। उपत्यकामा हुन्डाईको सर्भिस सेन्टर बानेश्वर, सिनामंल, भक्तपुर, कुपण्डोल, धापासी, तीनकुनेमा छ। भने उपत्यका बाहिर नेपलगन्ज, कालिकानगर बुटवल, दाङ, भरतपुर, वीरगन्ज, पोखरा, विराटनगर, हेटौडा, बिर्तामोड, धनगढी, इटहरी सुनसरी, भैरहवामा छ।
हुन्डाइको चार्जिङ स्टेसन हुन्डाईको ईभी शोरुम थापाथली, हुन्डाई बिक्री सेन्टर नक्साल र सर्भिस सेन्टरसहित पोखरा ५, भैरहवा २, विराटनगर १, भरतपुर २, बिर्तामोड २, वीरगन्ज ३, हेटौडा २, धनगढी १, बुटवल २, नेपालगन्ज २, इटहरी २, भैरहवा २ र अन्य स्थान हात्तीसार, भालुबाङ, लबिम मल पुलचोक, चिसापानी, मुलकोट, बिर्ताचोक, कुरिनटार, दमकमा चार्जिङ स्टेसन छन्।
लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई कोना ईभी र आयोन–५ विद्युतीय सवारीसाधन बिक्री वितरण गर्दै आएको छ।
निसान
नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्पले ९ वटा चार्जिङ स्टेसन सञ्चालन गरेको छ। पायोनियर मोटोकर्पले नेपालभरि निसान लिफको लागि १३ सर्भिस सेन्टर सञ्चालन गरेको छ।
निसानको चार्जिङ स्टेसन उपत्यकाभित्र खुमलटार, थापाथलीमा छ भने उपत्यकाबाहिर विराटनगर, बर्दिवास, कुरिनटार,नारायणघाट, पोखरा, बुटवल, नेपालगन्जमा छ। हाल पायोनियर मोटोकर्पले ईभीतर्फ निसान लिफ बिक्री गर्दै आएको छ।
ओमोडा
एसपीजी अटोमोबाइल्स प्रालीले नेपालमा बिक्री वितरण गर्दै आएको ओमोडा ईभीको १५ वटा चार्जिङ स्टेसन छ। ओमोडाको नेपालभरिमा १४ वटा सर्भिस सेन्टर छ। ओमोडाको चार्जिङ स्टेसन उपत्यकामा उत्तरढोका, बसुन्धारा, भक्तपुर, ललितपुर र सितापाइलामा छ। भने उपत्यका बाहिर विराटनगर, बिर्तामोड, इटहरी, वीरगन्ज, नारायनघाट, पोखरा,नेपालगन्ज, बुटवल, दाङ, सुर्खेतमा छ। एसपीजी अटोमाबाइल्सले ओमोडाको ई–५ मोडल बिक्री गर्दै आएको छ।
सिट्रोन
हाल सिट्रोन गाडीको १२ स्थानमा चार्जिङ स्टेसन र ९ सर्भिस सेन्टर छन्। सिट्रोनको चार्जिङ स्टेसन उपत्यकामा सितापालामा छ भने उपत्यका बाहिर विराटनगर, बिर्तामोड, इटहरी, वीरगन्ज, नारायणघाट, पोखरा, नेपालगन्ज, बुटवल, दाङ, कुरिनटार र बर्दिबासमा छ।
किया
नेपालमा किया गाडी बिक्री वितरण गर्दै आइरहेको कन्टिनेन्टल ट्रेडिङले कियाको लागि ७ वटा चार्जिङ स्टेसन निर्माण गरेको छ। कम्पनीले उपत्यकामा ३ र बाहिर ४ वटा चार्जिङ स्टेसन निर्माण गरेको छ। उपत्यका भित्र गैरिधारा, जावलाखेल, महाराजगन्जमा छ। उपत्यका बाहिर पोखरा, भरतपुर, कुरिनटार र चुम्लिङटारमा छ।
कम्पनीले उपत्यकाभित्र ४ वटा र बाहिर १५ वटा सर्भिस सेन्टर छ। कन्टिनेन्टल ट्रेडिङले किया निरोको मोडल बिक्री गर्दै आएको छ।
बिवाइडी
चिनियाँ विद्युतीय ब्रान्ड बिवाइडीको नेपालका लागि आधिकारिक विक्रेता साइमेक्स इंकले नेपालभरि ३३ वटा फागट चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ। भने उपत्यका बाहिर र उपत्यकाभित्र गरी १० वटा सर्भिस सेन्टर छन्।
साएमेक्स इंकले बिवाइडीको एटो थ्री, डल्फिन, बिवाइडी सिल, अल न्यु इ सिक्स मोडल र तिनीहरूको भेरियन्ट बिक्री गर्दै आएको छ।
टेस्ला
नेपालमा टेस्ला गाडीको विक्री वितरण गर्दै आएको अरित इन्टरनेसनलले ५ ठाउँमा चार्जिङ स्टेसन बनाएको छ। कम्पनीले काठमाडौंमा टंगालस्थित आफ्नो सर्भिस सेन्टर र सांग्रीला होटलमा तथा काठमाडौं बाहिर कुरिनटार, भरतपुर र पोखरामा चार्जिङ स्टेसन सञ्चालन गरेको छ।
अरित इन्टरनेसनलले टेस्लाको तिन वटा मोडल टेस्ला मोडल वाई, टेस्ला मोडल एक्स र टेस्ला मोडल थ्री विद्युतीय गाडी विक्री वितरण गरिरहेको छ।
एमजी
नेपालमा पारामाउन्ट मोटर्सले विक्रीवितरण गर्दै आएको विद्युतीय ब्रान्ड एमजीको १९ स्थानमा बिक्री केन्द्र सञ्चालन गरिरहँदा १० स्थानमा सर्भिस सेन्टर छ। सर्भिस सेन्टर उपत्यकाभित्र एकान्तकुनामा छ भने उपत्यका बाहिर जनकपुर, चितवन, दाङ, बिर्तामोड, दमक, धनगढी जस्ता पुराना डिलर नेटवर्कमा सर्भिस सेन्टर छ।
एमजीको उपत्यकामा २ वटा र उपत्यका बाहिर ११ वटा चार्जिङ स्टेसन छ। चार्जिङ स्टेसन उपत्यकामा लबिम महल र एमजीको शोरुममा छ भने उपत्यका बाहिर कुरिनटार, मुलकोट, इटहरी, ढल्केबार, बुटवल,धनगढी, भैरहवा, पोखरा,कुसुन्टि, चितवन, जनकपुरमा छ।
पारामाउन्ट मोटर्सले विद्युतीयतर्फ एमजीको जेडएस, कोमेट, एमजी–४ ईभी मोडल विक्री वितरण गर्दै आएको छ।
टाटा
नेपालमा टाटा गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले १९ वटा फास्ट चार्जिङ स्टेसनको नेटवर्क खडा गरेको छ। यस्तै एसी नेटवर्क पनि १५० भन्दा बढी स्थानमा अहिले सञ्चालन भइरहेको कम्पनीले जनाएको छ।
यसैगरी १६ वटा ईभीको लागि मात्र डेडिकेटेड सर्भिस सेन्टरहरू निर्माण गरेको छ। सिप्रदी ट्रेडिङले टाटाका विद्युतीय मोडल टाटा टियागो, नेक्सन ईभी, टाटा टिगोर, नेक्सन म्याक्सका मोडल बिक्री वितरण गरिरहेको छ।
यस्तै, जी मोटर्स प्रालिले स्काइवेलको लागि उपत्यका बाहिर शोरुम तथा सर्भिसिङ सेन्टर बनाउने योजना बनाइरहेको छ।