काठमाडौं । राष्ट्रिय गौरव आयोजना काठमाडौं–तराई-मधेस द्रुतमार्ग (फास्ट ट्रयाक)को धेद्रे सुरुङ ‘ब्रेक थ्रु’ भोली हुने भएको छ। धेद्रे सुरुङको काठमाडौंबाट निजगढतर्फ जाने लेन सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ब्रेक थ्रु हुने नेपाली सेनाका सूचना अधिकारी गौरवकुमार केसीले बताए।
धेद्रेकै निजगढबाट काठमाडौं आउने लेन २०८१ जेठ ११ मा ब्रेक थ्रु भइसकेको छ। जेठमा ब्रेक थ्रु भएको लेनको लम्बाइ १.६५३ किलोमिटर छ। सोमबार ब्रेक थ्रु हुने लेनको लम्बाइ १.७२८ किलोमिटर रहेको सेनाले जनाएको छ।
यसअघि २०८१ असार २० मा लेनडाँडा सुरुङको निजगढबाट काठमाडौं आउने १.६१२ किलोमिटर र २०८१ जेठ ४ मा काठमाडौंबाट निजगढतर्फ जाने १.६३३ किलोमिटर लम्बाइमा दुई लेन ब्रेक थ्रु भइसकेको छ। भोलिबाट धेद्रे सुरुङ पनि दुवैतर्फ ब्रेक थ्रु हुनेछ।
७०.९७७ किलोमिटर लम्बाइको फास्ट ट्रयाकमा ६ वटा सुरुङ बन्नेछन्। यद्यपि एउटा सुरुङका दुई लेनबीच जमिनको भाग हुने भएकाले एउटै सुरुङमा दुई पटक ब्रेक थ्रु गर्नु परेको सेनाले जनाएको छ। यसले गर्दा एउटै सुरुङका दुई लेनमा छुट्टा छुट्टै ब्रेक थ्रु भइरहेको सेनाको भनाइ छ।
फास्ट ट्रयाकको सबैभन्दा लामो महादेवटार सुरुङ चालू आर्थिक वर्षभित्र ब्रेक थ्रु गर्ने सेनाको लक्ष्य छ। करिब १ किलोमिटर खन्न बाँकी महादेवटार सुरुङको कुल लम्बाइ ३.३५५ किलोमिटर छ। सुरुङ निर्माण छिटो गर्न सेनाले निर्माण कम्पनीलाई दिन-रात काम गर्न लगाएको छ।
बाँकी २ वटा सुरुङ ठेक्का प्रक्रियाको चरणमा छन् भने एउटा सुरुङ मुआब्जा विवादित क्षेत्र खोकनामा पर्ने भएकाले सेनाले काम अघि बढाउन सकेको छैन। फास्ट ट्रयाकमा सुरुङसँगै ८९ पुल निर्माण हुनेछन्। यसमध्ये ५ वटा पुल निर्माण सम्पन्न र ८० पुल निर्माणाधीन छन्। तर, ४ वटा पुल क्षेत्र खोकनामा पर्ने भएकाले काम अगाडि बढ्न नसकेको सेनाले जनाएको छ।
२०७४ वैशाख २१ को मन्त्रिपरिषद् बैठकले फास्ट ट्रयाक निर्माणको जिम्मेवारी सेनालाई दिएको थियो। मन्त्रिपरिषद्को निर्णयसँगै २०७४ जेठ १४ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले द्रुतमार्ग शिलान्यास गरेका थिए।
संशोधित विस्तृत परियोजना प्रतिवेद (डिपिआर) अनुसार आयोजनाको लागत २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ छ। २०८३ चैतसम्म म्याद रहेको फास्ट ट्रयाकको हालसम्म भौतिक प्रगति ३५.३८ प्रतिशत र वित्तीय प्रगति ३६.६६ प्रतिशत भएको सेनाले जनाएको छ।