काठमाडौं । हरेक तीन कारोबार दिनमा सेयर बजारले नयाँ बिन्दु पार गर्दै गएको छ। असार १८ गते ४७.०४ अंकले बढेर २१००.४३ बिन्दुमा पुगेको सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले त्यसपछिका हरेक तीन कारोबार दिनमा नयाँ बिन्दु पार गर्दै उकालो लागिरहेको छ। बजार उकालो लाग्नेक्रममा अर्थात असार १८ देखि असार २६ सम्मको ७ कारोबार दिनमा नेप्से २१०० बिन्दुमा सीमित रहेको थियो। यसपछि असार २६ मा २१७५.४० बिन्दुमा रहेको नेप्सेले असार २७ मा २२०० बिन्दु पार गर्यो।
नेप्से असार २७, असार ३० र असार ३१ गरी तीन कारोबार दिन २२०० बिन्दुमा रह्यो र २३०० बिन्दुमा पुग्यो। साउन १ र २ गते गरी दुई कारोबार दिन २३०० बिन्दुमा रहेको नेप्से २४०० बिन्दुमा पुग्यो। साउन ३, ६ र ७ को तीन कारोबार दिन २४०० बिन्दुमा रहेको नेप्से त्यसपछि २५०० बिन्दुमा पुग्यो। साउन ८, ९ र १० गरी तीन कारोबार दिन नेप्से फेरि २५०० बिन्दुमा रहेर साउन १३ मा २६०० बिन्दुमा उक्लियो। नेप्से साउन १३, १४ र १५ गरी तीन कारोबार दिन २६०० बिन्दुमा रहेर २७०० बिन्दुमा चढ्यो।
साउन १६ मा २७०० बिन्दु पार गरेको नेप्सेले साउन १७ सम्म आइपुग्दा २७५५.६२ बिन्दुमा रहेको छ। साउन १६ र १७ गरी दुई कारोबार दिन २७०० बिन्दुमा रहेको नेप्सेले अब एक कारोबार दिन यही बिन्दुमा रहेर २८०० बिन्दु पुगेमा हरेक तीन कारोबार दिनमा नयाँ बिन्दु उक्लिनेक्रमले निरन्तरता पाउने छ। नेप्सेको २२०० देखि २७०० बिन्दुसम्मको यात्रालाई हेर्दा २३०० बिन्दु दुई कारोबार दिनमै पार गर्नुबाहेक अन्य सबै बिन्दु तीन कारोबार दिनमा पार गरेर नयाँ बिन्दुमा उक्लिएको देख्न सकिन्छ। यसले हरेक तीन कारोबार दिनमा नेप्से औसत १०० अंकले बढ्दै गएको देखाउँछ।
बजारले यही लय फक्रिएमा आगामी केही दिनमा नेप्सेले नयाँ उचाइको रेकर्ड राख्ने सम्भावना धेरै टाढा छैन। नेप्सेमा करिब ४७१ अंकको वृद्धि भएमा यसअघिको ३२२६ को रेकर्ड ब्रेक हुनेछ। यसअघि २०७८ भदौ २ गते नेप्से हालसम्मकै उच्च ३१९९.०२ (त्यसदिन ३२२६ सम्म) पुगेको रेकर्ड छ। तर, बजार यसरी द्रुत गतिमा बढ्दै गर्दा कति टिकाउ हुने भन्ने प्रश्न पनि जोडिएर आउने गर्दछ। नेपाल धितोपत्र दलाल व्यवसायी संघ (स्टक ब्रोकर एसोसिएसन)का पूर्वअध्यक्ष भरत रानाभाट संस्थागत कारोबार बढेमा बजार दिगो हुने बताउँछन्।
सरकारले संस्थागत सेयर कारोबारमा प्रोत्साहन गरेका कारण यसले बजारलाई थप व्यवस्थिति, अनुशासित बनाउनेछ। व्यक्तिगतमा कायम रहेको १५ करोडको सीमा पनि कम नभएकाले यसले व्यक्तिगत लगानीकर्तामा पनि संकुचन ल्याउने देखिँदैन।
‘राष्ट्र बैंकले संस्थागत सेयर धितोकर्जामा लगाएको २० करोडको क्याप खारेज गर्दाको प्रभाव बजारमा देखिरहेको छ। अब पुँजी धेरै भएका र योग्य कम्पनीले कर्जा धेरै लिन पाउने भएका छन्,’ रानाभाट भन्छन्, ‘विशेषगरी संस्थागत लगानी बढी भएमा बजार दिगो हुने र टिक्ने सम्भावना बढी हुन्छ।’ उनी बजार बढाउन वा घटाउन सबै लगानीकर्ताको हात आवश्यक पर्ने भए पनि बजार टिकाउन भने संस्थागत लगानीकर्ताको भूमिका बढी हुने बताउँछन्।
यसोत नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा संस्थागत लगानीकर्तालाई लगाएको २० करोड रुपैयाँको सीमा हटाएको छ। राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिमा घोषणा भएको व्यवस्था कार्यान्वयनका लागि एकीकृत परिपत्रमा संशोधन गर्दै उक्त सीमा हटाएको हो। अबबाट कुनै एक वा सबै इजाजतपत्र प्राप्त संस्थाबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल १५ करोड रुपैयाँ हुनेछ भने संस्थागतमा सीमा लागू हुने छैन। यसअघि भने संस्थागत लगानीकर्तालाई २० करोडको सीमा थियो।
सरकारले संस्थागत सेयर कारोबारमा प्रोत्साहन गरेका कारण यसले बजारलाई थप व्यवस्थिति, अनुशासित बनाउनेछ। व्यक्तिगतमा कायम रहेको १५ करोडको सीमा पनि कम नभएकाले यसले व्यक्तिगत लगानीकर्तामा पनि संकुचन ल्याउने देखिँदैन। साधारण लगानीकर्ता संघका अध्यक्ष ऋतुजंग जिसी संस्थागत सेयर कारोबारमा सरकारले गरेको लगानीले बजारमा सकारात्मक प्रभाव पार्ने बताउँछन्।
‘सरकारले संस्थागतरुपमा सेयर कारोबार भएमा राज्यलाई बढी फाइदा पुग्ने र पारदर्शी हुने विषय बुझेर नै यसलाई प्रोत्साहन गर्ने नीति ल्याएको देखिन्छ,’ अध्यक्ष जिसी भन्छन्, ‘तर, संस्थागत कारोबार गर्न लगानीकर्ता आकर्षित हुने ढंगमा छुट, सहुलियतको व्यवस्था नहुँदा व्यक्तिगत कारोबारमा नै लगानीकर्ता रमाइरहेका छन्। व्यक्तिगत कारोबार गर्दा भन्दा संस्थागत कारोबार गर्दा सहज हुने अवस्थामा बनाएमा धेरैले संस्थागत नै कारोबार गर्छन्।’ जिसी हालका दिनमा संस्थागतरुपमा कारोबार गर्नेको संख्या कम भएकाले यसलाई आगामी दिनमा बढवा दिँदै जानुपर्ने बताउँछन्।
गत साताको पाँच कारोबार दिनमा सेयर बजारमा १८७.४९ अंकको वृद्धि भएको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार २५६८.१३ बिन्दुमा रहेको सेयर बजार नेप्से गत साताको पाँच कारोबार दिनमा दुई दिन घटेर तीन दिन बढ्दा अन्तिम कारोबार दिन बिहीबार २७५५.६२ बिन्दुमा रोकिएको हो। नेप्सेमा अघिल्लो साताको पाँच कारोबार दिनमा पनि १४३.८१ अंकको वृद्धि भएको थियो। गत साताको कारोबारको चौथो दिन अर्थात बुधबार सेयर कारोबारमा नयाँ रेकर्डसमेत बनेको छ।
बुधबार नेप्सेमा हालसम्मकै उच्च २१ अर्ब ७१ करोडको कारोबार भएको छ। यसअघि यसअघि २०७८ साउन ३१ मा २१ अर्ब ५३ करोड रुपैयाँ बराबरको उच्च रेकर्ड थियो। बुधबार कारोबार रकमले नयाँ उचाइ लिँदा बिहीबार पनि नेप्सेमा कुल २१ अर्ब ४८ करोडको कारोबार भएको थियो। समग्रमा यस साता नेप्सेमा कुल १ खर्ब १ अर्ब ५१ करोड रुपैयाँ बढीको कारोबार भएको छ। अघिल्लो साता भने नेप्सेमा कुल ७३ अर्ब ५ करोड रुपैयाँ बढीको कारोबार भएको थियो।