काठमाडौं। चार लगानीकर्ता संगठनले नेपाल स्टक एक्सचेञ्जको विद्यमान क्षमता अभिवृद्धि गरी सिस्टममा आउने समस्या रोक्न ध्यानाकर्षण गराएका छन्। पुँजी बजारमा हुने दैनिक कारोबार वृद्धि भइरहेको अवस्थामा सिस्टममा समस्या आउने गरेको उल्लेख गर्दै चार लगानीकर्ता संगठनले नेप्सेलाई ध्यानाकर्षण गराएका हुन्।
नेपाल सेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ, जनरल इन्भेस्टर एसोसिएसन र साधारण लगानीकर्ता संघ नेपालले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यस्तो ध्यानाकर्षण गराएका हुन्।
‘आगामी दिनमा दैनिक २० देखि २५ अर्बको कारोबार सहजै हुने देखिन्छ। यस अवस्थामा नेप्सेको विद्यमान क्षमता अभिवृद्धि गर्नु पर्ने देखिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कारोबारको समयमा सिस्टममा खराबी आई लगानीकर्ताले सेयर कारोबार गर्नबाट वञ्चित भएको गुनासो आउँछ। आगामी दिनमा कारोबार समयमा सिस्टममा कुनै समस्या नआउने गरी व्यवस्था मिलाउन नेप्सेको ध्यानाकर्षण गराउन चाहन्छौं।’
लगानीकर्ता संगठनले नेप्सेको व्यवस्थापकीय एवं प्राविधिक समस्या समाधान गर्न रणनीतिक साझेदार सहितको पुनरसंरचना गर्नतर्फ सरकारले अग्रसरता लिनुपर्ने विषय पनि उठाएका छन्। उनीहरुले धितोपत्र बोर्डमा नेतृत्व नहुँदा लामो समयदेखि प्राथमिक सेयर निष्कासनको प्रक्रियाहरू अगाडि बढ्न नसकेकाले बोर्डले आगामी दिनमा योग्य कम्पनीहरुको प्राथमिक सेयर निष्कासन प्रक्रिया अगाडि बढाउनुपर्ने माग राखेका छन्।
‘अतियोग्य कम्पनीबाहेक प्रिमियम र बुकबिल्डिङ प्रक्रियाबाट सेयर निष्कासन गर्न निरुत्साहित गर्न माग गर्दछौं। सेयर जारी गर्दा कम्पनीको नेटवर्थ, लाभांश क्षमता, व्यावसायिक योजना एवं कम्पनीको ग्रोथलाई सूक्ष्म अध्ययन गरी प्राथमिक सेयर निष्कासन गर्ने अनुमति दिनेछ भन्ने कुरामा हामी विश्वस्त छौं’ विज्ञप्तिमा भनिएको छ।
लगानीकर्ताले पुँजीबजारको नियामक निकाय धितोपत्र बोर्ड विगत आठ महिनादेखि नेतृत्वविहीन अवस्थामा रहँदा अन्योलको स्थिति बनेको पनि उल्लेख गरेका छन्। ‘बोर्डमा योग्य, इमानदार, राष्ट्रिय अन्तर्राष्ट्रिय पुँजी बजार सम्बन्धी ज्ञान भएको, धितोपत्र बजार नियामकहरुको अन्तर्राष्ट्रिय संस्थाको सिद्धान्त तथा अन्तर्राष्ट्रिय र क्षेत्रीय असल अभ्यास पूर्णरुपमा बुझेको व्यक्तिको छनोट विधि एवं प्रक्रियाबाट योग्य व्यक्ति नियुक्ती गर्न माग गर्दछौं,’ लगानीकर्ताले भनेका छन्।
नयाँ सरकार र राष्ट्र बैंकको मौद्रिक नीतिबाट लगानीकर्ता उत्साहित भएको पनि लगानीकर्ता संगठनले उल्लेख गरेका छन्। राष्ट्र बैंकको मौद्रिक नीतिले आर्थिक क्षेत्र चलायमान बनाउनेकार्यमा नीतिगत अग्रसरता देखाएको उनीरुको भनाइ छ।
मौद्रिक नीति स्वागतयोग्य भएपनि सेयर धितो कर्जाको जोखिम भार घटाउने एवं एकल ग्राहक मार्जिन प्रकृतिको सेयर कर्जामा लगाइएको १५ करोडको सीमा हटाउने, लघुवित्तको लाभांश वितरणमा लगाइएका क्याप हटाउने लगायतका मागहरू अझै पनि सम्बोधन नभएकोले आगामी दिनमा सम्बोधन हुनेमा आशावादी रहेको बताइएको छ।
नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे, नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष प्रकाश रजौरे, जनरल इन्भेस्टर एसोसिएसनका अध्यक्ष दिपक कार्की र साधारण लगानीकर्ता संघ नेपालका अध्यक्ष ऋतुजंग जिसीले संयुक्तरुपमा जारी गरिएको विज्ञप्तिमा पुँजीबजारले अर्थतन्त्रमा ठुलो योगदान दिने भएकाले यस क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने उल्लेख गरिएको छ।