दाङ। दाङको घोराही उपमहानगर–१३ का रवि घर्तीले व्यावसायिक रुपमा पशुपालन गर्दै आएका छन्। उनँले पशुपालन गर्न थालेको तीन वर्ष भयो। घर्तीले साथीहरुसँग मिलेर भैँसीपालन, बंगुुरपालन र हाँसपालन गर्दै आएका हुन्।
मिहिनेत गर्न सके पशुपालनबाट मनग्य आम्दानी लिन सकिने ‘गोरखा बायो फार्म’का अध्यक्ष रहेका घर्तीले भने, ‘भैँसी र बंगुुरपालन गरेर राम्रै आम्दानी भइरहेको छ।’
घोराही उपमहानगरपालिका–७ घुस्रामा पाँच बिघा जग्गा किनेर व्यावसायिक रुपमा पशुपालन गर्दै आएका उनले दूध बिक्री गरेर मासिक एक लाखभन्दा बढी आम्दानी भइरहेको बताए। उनको फार्ममा १८ भैँसी र २५ बंगुुर रहेका छन्।
उत्पादन गरेको दूध घरबाटै बिक्री हुने गरेको घर्तीले बताए। ‘दूध बिक्री गर्न समस्या छैन। फार्मबाटै विद्यालय र डेरीमा जाने गरेको छ’, उनले भने। दैनिक ४५ देखि ५० लिटरसम्म दूध बिक्री भइरहेको घर्तीले बताए। फार्ममा कम्तीमा ४० भैँसी र जर्सी गाईसमेत थप गर्ने उनको योजना छ।
बजारको मागसँगै प्रशस्तमात्रामा घाँससँगै पानीको व्यवस्था भएकाले दूध उत्पादनलाई प्राथमिकता दिएको घर्ती बताउँछन्। दूध प्रतिलिटर ७० मा बिक्री हुने गर्दछ। भैंसीपालनसँगै मासुका लागि बाख्रा, बंगुुर, हाँस र व्यावसायिक तरकारी खेतीलाई पनि अघि बढाउने तयारी रहेको अर्का सञ्चालक खुसीराम चौधरी बताउँछन्। त्यसका लागि उनी थप संरचना निर्माण गर्ने तयारीमा छन्।
व्यावसायिक रुपमा दूध र मासुसँगै तरकारी उत्पादन गर्ने उद्देश्यले फार्ममा अहिलेसम्म करिब एक करोड ५० लाखसम्म लगानी भइसकेको चौधरीले बताए। फार्ममा तीन जनाले रोजगारी पाएका छन्। पशुपालनका लागि सुपर नेपियर, किमु, इपिल, सुडान, मकैचरी, मकैलगायतका घाँसखेतीसमेत गरिएको छ।–रासस––