चितवन। आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यभन्दा २६ प्रतिशत कम राजस्व संकलन गरेको छ।
कार्यालयलाई आन्तरिक राजस्व विभागले २७ अर्ब ९९ करोड ८७ लाख लक्ष्य तोकेकामा २६ प्रतिशत कम अर्थात् २० अर्ब ५६ करोड ७२ लाख २२ हजार रुपैयाँ मात्र राजस्व संकलन भएको हो।
कार्यालय प्रमुख निरन भट्टराईका अनुसार विगतका वर्षमा सोही अनुपातमा राजस्व संकलन हुने गरेको थियो। विभागले लक्ष्य बढाउने तर राजस्व संकलनको दर उही रहँदा लक्ष्यभन्दा कम राजस्व संकलन भएको उनले बताए। उनका अनुसार गत आवमा आयकरतर्फ लक्ष्यको ८८ प्रतिशत मात्र राजस्व संकलन भएको छ।
आयकरका लागि विभागले २ अर्ब ९६ करोड ३८ लाख लक्ष्य तोकेको थियो। कार्यालयले २ अर्ब ६३ करोड १६ लाख राजस्व संकलन गरेको छ। यस्तै, मूल्य अभिवृद्धि करतर्फ लक्ष्यको ८४ प्रतिशत संकलन भएको छ।
विभागले २ अर्ब ३३ करोड ७२ लाख लक्ष्य तोकेकामा १ अर्ब ९५ करोड २२ लाख संकलन भएको प्रमुख भट्टराईले जानकारी दिए।कार्यालयका अनुसार अन्तःशुल्कमा लक्ष्यको ६९ प्रतिशत राजस्व संकलन भएको छ।
विभागले २२ अर्ब ३४ करोड ४१ लाख लक्ष्य तोकेकामा कार्यालयले १५ अर्ब ९८ करोड ८२ लाख संकलन गरेको हो।
प्रमुख भट्टराईका अनुसार आर्थिक मन्दीका कारण अन्तःशुल्कमा वृद्धि हुन नसक्दा लक्ष्य प्राप्तिमा कठिनाइ भएको हो’, उनले भने, ‘घरजग्गा कारोबार कम हुँदा पनि राजस्व संकलनमा कमी आएको हो।–रासस