गण्डकी । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि रासायनिक मलको मूल्य तथा बिक्री परिमाणको कोटा निर्धारण गरेको छ। पोखरा महानगरपालिका मल वितरण व्यवस्थापन समितिको आज सम्पन्न बैठकले नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मलको मूल्य निर्धारण गरेको हो।
महानगरका उपप्रमुख एवम् मल वितरण ब्यवस्थापन समितिका संयोजक मञ्जुदेवी गुरुङको अध्यक्षतामा बसेको बैठकले युरिया, डीएपी र पोटासको मूल्य निर्धारण गरेको महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिइन्।
बैठकको निर्णयअनुसार मल डिपोदेखि बिक्री केन्द्रको दुरीका आधारमा प्रतिकेजी १९ रुपैयाँ ४५ पैसादेखि २१ रुपैयाँ ५ पैसासम्म निर्धारण गरिएको छ। त्यस्तै डीएपीको ४८ रुपैयाँ ४५ पैसादेखि ५० रुपैयाँ ५ पैसा र पोटासको मूल्य ३६ रुपैयाँ ४५ पैसादेखि ३८ रुपैयाँ ५ पैसासम्म तोकिएको छ। मल बिक्रेताले प्लाष्टिक झोलाको मूल्य प्रतिकिलो बढीमा २ रुपैयाँ थप लिन सक्ने निर्णय गरेको महानगर कृषि विकास शाखाका प्राविधिक सहायक शिवसिंह धामीले जानकारी दिए।
कृषि महाशाखा प्रमुख कडरियाका अनुसार पोखरा महानगर कृषि शाखामा सूचिकृत तथा बिक्री वितरण गर्नका लागि छनौट भएका २६ वटा वडाका ६५ केन्द्रबाट मल विक्री वितरण भइरहेकोछ। मल विक्री वितरणका लागि आर्थिक वर्ष २०८०/८१ मा मल बिक्रेताले बिक्री गरेका आधारमा कोटा निर्धारण गरिएको छ।
बैठकले सूचिकृत बिक्रेतालाई मलको कोटा निर्धारण गरिएको र किसानलाई महानगरले तोकेकै मूल्यमा सहज रुपमा किसानलाई मल उपलब्धसमेत गराउन अनुरोध गरेको छ। सहज र सपथ मूल्यमा मल बिक्री गरे/नगरेको अनुगमन गर्ने पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ बताइन्।
महानगरमा सूचिकृत बिक्रेतालाई मलको कोटा निर्धारण गरिएको बताउँदै उनले किसानलाई तोकिएकै मूल्यमा सहज रुपमा मल उपलब्ध गराउनुपर्ने बताइन्। अघिल्ला वर्षमा पनि महानगरले नियमित अनुगमन गरेको र यस वर्ष पनि त्यसलाई निरन्तरता दिने उनको भनाइ छ।
पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले किसानलाई खपत र आवश्यकताका आधारमा मल उपलब्ध गराउन महानगर तयार रहेको उल्लेख गर्दै अनुदानको मल बढी मूल्यमा बिक्री गर्नेलाई कारबाही गरिने बताए।
अनुमति नलिइकन बिक्री वितरण गर्ने, तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने र आफनो कार्यक्षेत्रभन्दा बाहिर बिक्री गर्ने, मूल्यसूची नराख्ने र विलविजक जारी नगर्ने बिक्रेतालाई कारबाही गरिने महानगर आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले बताए।
पोखरा महानगरमा गत आर्थिक वर्षमा युरिया एक हजार दुई सय २१ मेट्रिकटन, डीएपी छ सय ४५ मेट्रिकटन र पोटास ९८ दशमलब ९५ मेट्रिकटन गरी एक हजार नौ सय ६५ दशमलब २ मेट्रिकटन खपत भएको महानगरले जनाएको छ।