क्यापिटल नेपालले मुख्य आर्थिक समाचारलाई प्राथमिकता दिएर सुरु गरेको साताभरका प्रमुख आर्थिक खबर नामक स्तम्भ। यस्ता छन्, संक्षेपमा साताभरका मुख्य–मुख्य आर्थिक समाचारः
निलम्बित मुख्यसचिव बैकुण्ठ अर्याललाई विशेष अदालतले ५० हजार धरौटीमा छाडेको छ। साउन १३ मा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ५० हजार धरौटीमा छाडेको हो। मदिरामा टाँस्ने अन्तःशुल्क स्टिकर छपाइसम्बन्धी ठेक्कामा अनियमितता गरेको अभियोगमा गत असार ९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव अर्यालसहित ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
सडक विभागले आर्थिक वर्ष २०८०/८१ मा देशभर ७५६ किलोमिटर सडक कालोपत्रे भएको विवरण सार्वजनिक गरेको छ। विभागले साउन १६ मा विवरण सार्वजनिक गर्दै यस वर्ष ९५६ किलोमिटर नयाँ सडक कालोपत्रे गर्ने लक्ष्य राखे पनि ७५६ किलोमिटर मात्रै कालोपत्रे भएकाे जानकारी दिएको हो। विभागले यसलाई वार्षिक लक्ष्यको तुलनामा ७९.११ प्रतिशत प्रगति भनेको छ।
नेपाली बजारमा सुन मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। साउन १७ मा छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो। यसअघि साउन २ मा छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
साताको सेयर बजारमा १८७.४९ अंकको वृद्धि भएको छ। गत साताको अन्तिम कारोबार दिन बिहीबार २५६८.१३ बिन्दुमा रहेको सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यो साताको पाँच कारोबार दिनमा दुई दिन घटेर तीन दिन बढ्दा अन्तिम कारोबार दिन बिहीबार २७५५.६२ बिन्दुमा रोकिएको छ। नेप्सेमा गत साता पाँच कारोबार दिनमा पनि १४३.८१ अंकको वृद्धि भएको थियो। साताको कारोबारको चौथो दिन अर्थात् बुधबार सेयर कारोबारमा नयाँ रेकर्डसमेत बनेको छ। बुधबार नेप्सेमा हालसम्मकै उच्च २१ अर्ब ७१ करोडको कारोबार भएको छ। समग्रमा यो साता नेप्सेमा कुल १ खर्ब १ अर्ब ५१ करोड रुपैयाँ बढीको कारोबार भएको छ। गत साता नेप्सेमा कुल ७३ अर्ब ५ करोड रुपैयाँ बढीको कारोबार भएको थियो।
नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङको ‘ब्रेक थ्रु’ भएको बताएकाे छ। साउन १५ मा प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर प्रवद्र्धक रहेको राहुघाटको ६ हजार दुई सय ७० मिटर लामो सुरुङको साउन १५ मा ‘ब्रेक थ्रु’ भएको हो। भारतीय आयात निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स जेपीसँग २०७४ मंसिरमा ठेक्का सम्झौता भएको थियो। ठेक्काको ४५ महिनाको अवधिमा कोरोना महामारी, बाढी–पहिरोका कारण काम सम्पन्न हुन नसकेपछि ३० महिना म्याद थपिएको थियो।
सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले साउन १३ मा पूर्वमन्त्री जोशीलाई ६९ लाख १५ हजार जरिवाना र ९ महिना कैदसहितको फैसला सुनाएको हो।
सरकारले १८ देशका लागि राजदूत नियुक्त गरेको छ। साउन १४ को मन्त्रिपरिषद् बैठकले १८ देशका लागि राजदूत नियुक्त गर्नुका साथै तीन प्रदेश प्रमुख फेरेको छ भने २१ सचिवको सरुवा गरेको छ।
अमेरिकी लगानीको मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) परियोजनाअन्तर्गत एमसीए–नेपालले तीन वटै ४०० केभी सबस्टेसन निर्माण सम्झौता सम्पन्न भएको बताएको छ। साउन १६ गते एमसीए–नेपालले तनहुँको दमौलीमा ४०० केभी क्षमताको नयाँ दमौली सबस्टेसन निर्माणका लागि भारतको टेक्नो इलेक्ट्रिक एन्ड इन्जिनियरिङसँग ३.८८ करोड अमेरिकी डलरको ठेक्का सम्झौता गरेसँगै आयोजना निर्माणका तीन वटै सम्झौता सम्पन्न भएका हुन्। २०८० भदौ १३ देखि कार्यान्वयनमा आएको एमसीसी परियोजनाको समयसीमा ५ वर्षको छ। यसअघि नुवाकोट र हेटौंडामा ४०० केभी सबस्टेसन निर्माणको ठेक्का लागिसकेको छ।
नेपाल कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न आरोपमा १७ वर्षपछि रञ्जन खड्कालाई पक्राउ गरी सार्वजनिक गरेको छ। खड्कालाई नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान टोलीले साउन साउन १६ मा सार्वजनिक गरेको हो। सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि सविता थापा र विनोद थापालाई पक्राउ गरी कारबाही अघि बढाएको थियो। प्रहरीका अनुसार २०६४ असार २६ मा कमर्स क्याम्पसमा प्राध्यापनरत विष्टको हत्या गरिएको थियो।
सहकारी पीडितले रत्नपार्क र टुँडिखेलमा मानव साङ्लो बनाएर प्रदर्शन गरेका छन्। उनीहरुले सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) को नेतृत्वमा रत्नपार्क तथा टुँडिखेललाई मानव साङ्लो बनाएर साउन १७ मा बचत फिर्ता मागेका हुन्। विभिन्न चरणका आन्दोलनमा गरिएको सहमतिअनुसार सहकारीमा बचत राखेको पैसा नपाएको भन्दै सहकारी पीडितले विरोध गरेका हुन्।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। बोर्डले साउन १८ मा सार्वजनिक गरेको नतिजाअनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। बोर्डका अनुसार ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (अनुत्तीर्ण) भएका छन्। ३ लाख ९० हजार ८६८ जनाले परीक्षा फाराम भरेकोमा २ लाख ३ हजार ८४७ विद्यार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ। यस वर्ष वैशाख १४ देखि २६ सम्म कक्षा १२ को नियमित र ग्रेडवृद्धि परीक्षार्थीको सञ्चालन भएको थियो। परीक्षामा ५ हजार ५४२ विद्यालयका नियमिततर्फ करिब ४ लाख परीक्षार्थी सहभागी थिए।