काठमाडौं । नेपाल एसबिआई बैंकले बागलुङ नगरपालिका–२ लालीगुराँस चोकमा अवस्थित बागलुङ शाखा सोही नगरपालिकाको वडा–३ स्थित हलन चोकमा स्थानान्तरण गरेको छ।
बैंकले पोखरा महानगर–८ सभागृहचोकमा अवस्थित सृजना चोक शाखा सोही स्थानमा रहेको नयाँ परिसरमा स्थानान्तरण गरेको छ।
दुवै शाखाबाट ग्राहकलाई अत्याधुनिक बंैकिङ सेवा उपलब्ध गराइने बैंकले जनाएको छ।
बैंकले बाग्लुङ नगरपालिकास्थित कालिका भगवती मन्दिरलाई सामाजिक उत्तरदायित्वअन्तर्गत तीर्थालुको सहजताका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ।
कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्कालाई सहयोग रकम हस्तान्तरण गरे।
कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पंडा, प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्त, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल र बैंक तथा समितिका अन्य वरिष्ठ पदाधिकारी उपस्थित थिए।
हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालयबाट बैंकिङ सेवा दिँदै आएको छ।