काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सेयर बजारमा अवाञ्छित गतिविधि हु्न नदिइने बताएका छन्। सेयर बजार बढिरहेका बेला अर्थमन्त्रालयबाट नियामकलाई निर्देशन दिँदै आएको बताएका हुन्।
प्रतिनिधि सभा अन्तरगतको अर्थ समिति बैठकमा उपस्थित मन्त्री पौडेलले सेयर बढ्नु र मौद्रिक नीतिमा ट्युनिङ मिलेको भन्नु संयोगमात्र भएको दाबी गरे। 'सहजीकरण गर्न ट्युनिङ मिलाउनुपर्छ। किनकि अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको सम्बन्ध स्वभावैले सुमधुर रहनुपर्छ। विदेशी अभ्यासलाई हेरेर पनि लचिलो मौद्रिक नीति आएको हो,' उनले भने।
बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन निर्माणाधीन आयोजनालाई फोकस गरेर अरु आयोजना छोड्नुपर्ने र आफू त्यसमा लागेको उनले बताए। प्रधानमन्त्रीले पनि सचिवहरू उक्त निर्देशन दिएको पौडेलले स्मरण गरे।
छोरीबुहारी आत्मनिर्भर कार्यक्रममा बजेट बढाउन माग
पूर्वमहिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री एवं सांसद् भगवती चौधरीले छोरीबुहारी आत्मनिर्भर कार्यक्रममा बजेट बढाउन माग गरेकी छन्।
आर्थिक वर्ष २०८१/८२ को बजेटमा नयाँ कार्यक्रम राख्न सबैले भनेपछि मन्त्री हुँदा आफूले 'छोरीबुहारी आत्मनिर्भर कार्यक्रम' राखेको तर बजेटमा प्रधानमन्त्री छोरी कार्यक्रम भनेर आएको उनको भनाइ छ।
'म तत्कालीन महिला बालबालिका मन्त्री हुँदा नयाँ कार्यक्रम ल्याउन भनेर छोरीबुहारी आत्मनिर्भर कार्यक्रम ल्याएका थियौं। त्यसले स्वरोजगारी बढ्ने थियो। ७५३ पालिकाको लागि ५ वर्षमा १६ अर्ब बढी खर्च हुने हाम्रो अनुमान थियो,' उनले भनिन्, 'विडम्बना चालू वर्षका लागि १० करोड मात्रै बजेट विनियोजन छ। अर्थ मन्त्रालयमा जगेडा बजेट छ भन्ने सुनेको छु। छोरीबुहारी आत्मनिर्भर कार्यक्रमका लागि बजेट थप गरिदिनु होला।'