काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइन प्रयोगबपत पठाएको बिलमा चित्तबुझ्दो नभएको भए हालसम्म व्यवसायीले किन पुनरावेदन नगरेको भन्दै प्रश्न उठाएका छन्।
प्राधिकरणमा कुनै पनि बिलमा चित्त नबुझ्दा पुनरावेदन गर्न पाउने र त्यो बिल पुनरवलोकन गर्ने समितिमा छलफल गरि निर्णय हुने गरेको उल्लेख गराउदै हालसम्म उद्योगी पशुपति मुरारकाले मात्र आवेदन दिएको उनको भनाइ छ।
उद्योगी मुरारकाले तीन महिनाको बिलको पुनरावेदन गरेको र पुनरवलोकन गरि पठाइसकेको उल्लेख गर्दै त्यसबाहेक अरु कुनैपनि उद्योगी हरु नआएको बताए।
प्राधिकरणले पठाएको बिल चित्त नबुझेको भए उहाहरु पुनरावेदनमा किन आउनु भएन, कार्यकारी निद्रेशक घिसिङले भने, ‘पुनरावेदनमा नआउनु भनेको बिल तिर्न तयार छौं भन्ने हाम्रो बुझाइ हो।’
डेडिकेटेड र ट्रंकलाइन प्रयोग गर्ने ३४० मध्ये ६१ वटा उद्योगले मात्र पैसा नतिरेको उनको भनाइ छ। यस सम्बन्धमा हालसम्म अदालतमा परेका ९० मुद्दा सबै खारेज भएको उनले बताए।
बक्यौता उठ्न छाड्यो
ठूला उद्योगको लाइन नकाट्ने र बक्यौता पनि नतिरेको खबर सार्वजनिक भएसँगै पछिल्लो समय बक्यौता नै उठाउन गाह्रो भएको निर्देशक घिसिङको भनाइ छ।
प्राधिकरणले वार्षिक १ लाख ८० हजार वटा लाइन वर्षमा काट्ने गरेको र बक्यौता उठाउ लाइन काट्दै आएकामा पछिल्लो समय ठूला उद्योगमा लाइन किन नकाटेको भन्दै कर्मचारी कुटेर पठाएको गुनासो लेखासमितिमा उनले गरे।
समितिमा उद्योगी , विद्युत् नियमन आयोग र प्राधिकरणलार्इ राखेर सामूहिक रुपमा छलफल भइरहेको छ।