काठमाडौं । विष्णु पौडेलले असार ३१ पाँचौं पटक अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै सेयर बजारले दैनिक रेकर्ड ब्रेक गरिरहेको छ। बीचका एकाध दिनबाहेक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा कारोबार रकमले रेकर्ड ब्रेक गरिरहेको छ।
चालू आर्थिक वर्ष लागेसँगै बढ्न थालेको सेयर बजारमा नयाँ लगानीकर्ता थपिने क्रम बढ्दै गएको छ। साउनको १७ दिनमा २७ हजार ८ सय बढीले हितग्राही खाता (डिम्याट अकाउन्ट) खोलेको सीडीएससीको तथ्यांक सार्वजनिक गरेको छ।
२०८१ असारसम्म ६३ लाख ११ हजार डिम्याट खाता रहेकामा साउन १७ सम्म यो संख्या ६३ लाख ३९ हजार बढी पुगेको हो।
पछिल्लो समय नेप्सेमा दैनन्दिन रुपमा उच्च रकमको कारोबार भइरहेको छ। गत बुधबार र बिहीबार मात्रै २१ अर्ब भन्दामाथिको कारोबार भएको छ। जुन बेलादेखि नेप्से सूचक निरन्तर बढ्न थाल्यो, त्यो बेलादेखि कारोबार रकममा पनि उच्च वृद्धि भइरहेको छ।
२०८१ असार १६ मा २०३७.०९ अंकमा नेप्से रहँदा ३ अर्ब ४९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो। त्यस यता निरन्तर बढेको बजार सूचक बिहीबार केही सम्हालिँदै २७५५.६२ अंकमा रोकिएको छ भने कारोबार रकम पनि २१ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ।
त्यसो त बुधबार नेप्से सूचक २७६०.९१ अंकमा हुँदा कारोबार रकम पनि २१ अर्ब ७१ करोड ८९ लाख रुपैयाँ थियो।
तथ्यांकअनुसार गत आर्थिक वर्षमा डिम्याट खाताको संख्या ९.९६ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षमा मात्रै ५ लाख ७१ हजार डिम्याट खाता खुलेका छन्।
२०८० को असारसम्म ५७ लाख ३९ हजार ९७३ जनाले डिम्याट अकाउन्ट खोलेका थिए।
२०८१ असारसम्म पुरुषको नाममा डिम्याट खाता संख्या ३६ लाख २७ हजार ८५३ र महिलाको नाममा संख्या २६ लाख ७६ हजार ३१४ ले खाता खोलेका छन्।
एउटा व्यक्तिले २ वटासम्म डिम्याट खाता खोल्न पाउने व्यवस्था छ।
पुँजी बजारको प्राथमिकदेखि दोस्रो बजारमा सेयर कारोबार गर्न डिम्याट खाता आवश्यक पर्छ। यद्यपि दोस्रो बजारमा कारोबार गर्नेको यकिन तथ्यांक नहुने सीडीएसीका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
नेप्सेका अनुसार हालसम्म २२ लाख ५८ हजार ४१० जनाले विभिन्न ब्रोकर कम्पनीबाट ‘ट्रेड म्यानेजमेन्ट सिस्टम’ (टीएमएस) आइडी र पासवर्ड लिएका छन्।
हाल सक्रिय लगानीकर्ताको संख्या २१ लाख १६ हजार २२२ पुगेका छन्।