काठमाडौं। प्रभु बैंक, आइडिया स्टुडियो नेपाल र गण्डकी प्रदेशका तीन क्याम्पसबीच विद्यार्थीलाई उद्यम बनाउन विभिन्न कार्यक्रमका लागि त्रिपक्षीय सम्झौता भएको छ। तीन क्याम्पसबीच २०८१ साउन १५ र १६ मा छुट्टाछुट्टै कार्यक्रमका लागि त्रिपक्षीय रणनीतिक समझदारीपत्रमा हस्ताक्षर भएको हो।
कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष तथा संस्थापक डा. छिरिङ लामा, धौलागिरि बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. रामप्रसाद उपाध्याय, म्याग्दी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख श्रीधर सुवेदी र कालिका बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सह–प्राध्यापक वीरञ्जी गौतमले सम्झौतामा हस्ताक्षर गरे।
सहकार्यले सबै क्याम्पसका विद्यार्थीमा उद्यमशीलता क्षेत्रमा सिर्जनात्मक वातावरण बनाउन र नवोदित उद्यमीलाई सशक्तीकरण गर्न सघाउ पुग्ने जनाइएको छ।
कार्यक्रममा सीईओ शेरचनले प्रभु बैंक र आइडिया स्टुडियो नेपालले धेरै वर्षदेखि सहकार्यमा विभिन्न कार्यक्रम गर्दै आएका र त्यसै सिलसिलामा यस वर्ष गण्डकीका विद्यार्थीमा उद्यमशीलता र नवप्रवर्तन विकासका लागि आवश्यक सहयोग उपलब्ध गराउन तीन क्याम्पससँग सहकार्य गर्न लागिएको जानकारी दिए।
आइडिया स्टुडियो अध्यक्ष लामाले संस्थाले शैक्षिक पाठ्यक्रमलाई समय सान्दर्भिक र व्यावहारिक बनाउन अनुसन्धानका कार्यमा सहयोग र प्रोत्साहन गर्दै जानुपर्ने बताए।
धौलागिरि बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख उपाध्यायले हाल युवा बिदेसिने क्रम बढिरहेका बेला शैक्षिक संघ–संस्थाले विद्यार्थीलाई देशभित्र अवसर देखाउन जरुरी रहेको बताए।
म्याग्दी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सुवेदीले सहकार्यले विद्यार्थीहरुको उद्यमशीलतालाई थप ऊर्जा दिन मार्गदर्शन गर्ने विश्वास व्यक्त गरे।
कालिका बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सह–प्राध्यापक गौतमले यसअघि पनि विभिन्न संस्थासँग उद्यमशीलताका लागि सहकार्य गरेको र पछिल्लो साझेदारीले विद्यार्थी उद्यमशीलतामा प्रोत्साहन गर्ने बताए।
आइडिया स्टुडियो नेपालले साझेदारीअन्तर्गत उल्लिखित क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई उद्यमशिलता, नवप्रवर्तन र इन्क्युबेसन, व्यापार योजनाको विकास, शिक्षकलाई अनुसन्धान क्षेत्रमा अगाडि बढाउन आवश्यक सल्लाह उपलब्ध गराउनेछ।