काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइल्यान्डमा नियमित उडान हुने निश्चित भएको छ। निर्माण सम्पन्न भएको लामो समय हुँदासमेत नियमित अन्तर्राष्ट्रिय उडान नभएको गुनासो बढिरहेका बेला थाइ एयर एसियाले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट दैनिक चार उडानको अनुमति पाएको हो।
सेप्टेम्बर २० देखि थाइ एयर एसियाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइल्यान्ड सीधा उडान गर्ने छ। सोही एयरलाइन्सले प्राधिकरणबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक तीन उडानको स्वीकृति पाएको छ।
प्राधिकरण श्रोतका अनुसार थाइ एयर एसियाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक सात उडानका लागि अनुमति मागेको थियो। तर, प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि नियमित उडान गर्ने सर्त राखेका थिए।
प्राधिकरणले राखेको सर्तमा थाइ एयर एसिया भैरहवाबाट पनि उडान गर्न तयार भएसँगै बिहीबार निर्णय भएको प्राधिकरणले जनाएको छ। थाइ एयर एसियाको नेपालमा जनरल सेल्स एजेन्ट (जिएसए)को रूपमा युनिभर्सल ट्राभल रहेको छ।
बौद्ध धर्मावलम्बी बाहुल्य थाइल्यान्डमा भैरहवाबाट सीधा उडान गर्दा पर्यटक बढ्ने व्यवसायीले आशा लिएका छन्। थाइल्यान्डबाट वार्षिक रूपमा ठूलो संख्यामा भगवान् गौतमबुद्ध जन्मस्थल लुम्बिनीमा आउने र नेपालबाट पनि ठूलो संख्यामा थाइल्यान्ड घुम्न जाने गरेका छन्।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट यसअघि जजिरा एयर र हिमालय एयरलाइन्सले पनि नियमित उडान गरेको थियो। तर, दुई एयरलाइन्सले यात्रु अभाव भएको देखाउँदै पछिल्लो एक वर्षदेखि नियमित उडान गरेका छैनन्। अहिले साताको एक उडान नेपाल एयरलाइन्सले गर्दै आएको छ।
गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित रूपमा उडान गर्ने उपाय खोजीमा केही समयअघि संसद्को लेखा समितिबाट सांसद अध्ययनका लागि गएका थिए। उपसमिति बनाएर अध्ययन गर्न गएको समितिले सुझावसहितको प्रतिवेदन बुझाए पनि सार्वजनिक भने गरिएको छैन।