काठमाडौं । सेयर बजारमा सामान्य अंकको करेक्सन आएको छ। साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.२९ अंकले घटेर २७५५.६२ बिन्दुमा पुगेको रोकिएको छ। बिहीबार १२ बजेर ३९ मिनेटमा नेप्से २८०५.५७ बिन्दुसम्म पुगे पनि कारोबार बन्द हुँदा घटेर २७५५.६२ बिन्दुमा सीमित भयो।
यस साताको पहिलो कारोबार दिन आइतबार नेप्से ११३.४२ अंकले बढेको थियो भने सोमबार २०.४६ अंकले घटेको थियो। यस्तै, मंगलबार ३५.५५ अंकले बढेको नेप्से अघिल्लो कारोबार दिन बुधबार ६४.२६ अंकले बढेर २७६०.९१ बिन्दुमा रोकिएको थियो।
अघिल्लो दिनको तुलनामा बिहीबार कारोबार रकममा पनि गिरावट आएको छ। बिहीबार नेप्सेमा कुल २१ अर्ब ४८ करोडको कारोबार भएको छ। अघिल्लो कारोबार दिन बुधबार कुल २१ अर्ब ७१ करोडको कारोबार भएको थियो, जुन हालसम्मकै उच्च कारोबार हो।
बिहीबार कारोबारमा आएकामध्ये ७४ कम्पनीको सेयर मूल्य बढ्दा १६४ कम्पनीको घटेको छ। यस्तै, ३ कम्पनीको सेयर मूल्य स्थिर छ। बिहीबार हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी, नेपाल हाइड्रो डेभलपर्स, शुभम पावर, सिटी होटल लिमिटेड र कुथेली बुखारी स्मल हाइड्रपावरको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ।
बिहीबार प्रोग्रेसिभ फाइनान्स, नेपाल फाइनान्स, सानीमा माई हाइड्रोपावर र मकर जितुमाया सुरी हाइड्रोपावरको सेयर मूल्य नौ प्रतिशत बढीले वृद्धि भएको छ। यस्तै, पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर मूल्य भने ९.१३ प्रतिशतले घटेको छ।
आज जीवन बिमा समूहको सेयर मूल्य सर्वाधिक अर्थात ३.६९ प्रतिशतले बढ्दा लगानी समूह २.७४ प्रतिशतले बढेको छ। फाइनान्स समूहको सेयर मूल्य १.७७ प्रतिशत र निर्जीवन बिमा समूहको सेयर मूल्य १.७४ प्रतिशतले बढेको छ। बिहीबार जलविद्युत समूहको सेयर मूल्य १.९० प्रतिशत र बैंकिङ समूहको सेयर मूल्य १.३९ प्रतिशतले घटेको छ।