काठमाडौं । पछिल्लो समय राज्यका महत्वपूर्ण र माथिल्लो निकायमा महिलाको उपस्थिति बढ्दो छ। महिला सहभागिता, नेतृत्व र अधिकारको आवाज लामो समयदेखि उठेपनि नेतृत्व तहमा पुग्ने संख्या भने सन्तोषजनक छैन। यद्यपि, पछिल्लो एक दशकलाई मात्रै हेर्ने हो पनि थुप्रै महिला राज्यका महत्वपूर्ण जिम्मेवारी ठाउँमा पुगेर कार्यसम्पदान गर्न सफल भएका छन्।
निजामती कर्मचारीको इतिहासमा बिहीबार (साउन १०)मा मात्रै नेपालले पहिलो महिला मुख्यसचिव पायो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी वरिष्ठ सचिव लीलादेवी गड्तौला निमित्त, कायममुकायम हुँदै मुख्यसचिव पदमा नियुक्त भएकी हुन्। बिहीबारको मन्त्रीपरिषद बैठकले गड्तौलालाई मुख्यसचिवमा नियुक्ती गर्ने निर्णय गरेसँगै मुलुकमा पहिलो पटक महिला कर्मचारी उच्चपदस्थ पदमा पगेर नेतृत्व गर्ने कार्यको सुरुवात भयो।
नेपालको निजामती कर्मचारीको इतिहासमा २०४१ सालमा चन्द्रकला किरण पहिलो महिला सचिव भएकी थिइन्। परराष्ट्र सेवामा सेवा लम्साल पहिलो महिला सचिव हुँदा पनि निजामती प्रशासनमा महिला नेतृत्वका लागि खुड्किलोका रूपमा लिइएको थियो। यसअघि आठ जना महिला सचिव भएकामा गड्तौला मुख्यसचिव भएसँगै अब सात जना महिलाले सचिवको जिम्मेवारी पुरा गरिरहेका छन्।
सार्वजनिक तथा निजी क्षेत्र र राज्यको महत्वपूर्ण निकायमा पहिलो महिला बन्दै उच्च पदमा पुग्नेमा पछिल्लो दशकका मात्रै दर्जन हाराहारी रहेका छन्। यद्यपि, राज्यका कार्यकारी अधिकार निहित रहेका तथा अन्य थुप्रै पदमा हालसम्म पनि महिला नेतृत्व पुग्न सकेको छैन। तर, विगतको तुलनामा पछिल्लो एक दशक भने महिला नेतृत्व माथिल्लो तहमा पुग्नेक्रम बढ्दै गएको छ।
विद्या भण्डारी
२०७२ कात्तिकमा नेपालले पहिलो महिला राष्ट्रपतिको रुपमा विद्या भण्डारीलाई पाएको पायो। गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपति बनेकी भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित भएकी थिइन् भने २०७४ साल फागुन २९ गते दोस्रो कार्यकालमा निर्वाचित भइन्। राष्ट्रप्रमुखमा महिला निर्वाचित गरेको भनेर नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रशंसा पनि पायो।
सात वर्षको कार्यकाल सकेर भण्डारी २०७९ चैत २९ मा राष्ट्रपति पदबाट बाहिरिएकी थिइन्। भोजपुरबाट विद्यार्थी राजनीति थालेकी विद्या एमाले जननेता मदन भण्डारी पत्नी हुन्। भण्डारीसँग २०५० सालको उपचुनावमा कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईलाई पराजित गरेर चर्चामा आएकी भण्डारी संसदीय राजनीतिमा होमिएको २२ वर्षमा नै राष्ट्रपति बन्न सफल भएकी थिइन्।
ओनसरी घर्ती
संसदीय इतिहासमा पहिलो महिला सभामुखको रुपमा नेपालले २०७२ असोज २९ मा ओनसरी घर्तीलाई पाएको थियो। घर्तीले सभामुखको भूमिका ०७२ असोज २९ देखि २०७४ असोज २९ सम्म निर्वाह गरेकी थिइन्। घर्तीले दुई पटक उपसभामुखको जिम्मेवारी पनि सम्हालिन्। उनले २०६५ मंसिर १३ देखि २०७० मंसिर ४ सम्म र २०७० चैत १४ देखि २०७२ असोज २७ सम्मगरी दुई कार्यकाल उपसभामुखको भूमिका निर्वाह गरेकी थिइन्।
माओवादी सशस्त्र जनयुद्धमा लागेकी घर्तीले १० वर्ष भूमिगत जीवन विताएकी थिइन्। २०३४ कात्तिक २८ गते रोल्पामा जन्मिएकी घर्ती विसं २०५४ मा नेकपा माओवादी रोल्पा जिल्ला समिति सदस्य र २०५७ मा क्षेत्रीय ब्युरो सदस्य बनेकी थिइन्। घर्ती २०६० मा केन्द्रीय सदस्य, २०७० सालमा पोलिटब्युरो सदस्य हुँदै २०६४ को पहिलो संविधानसभामा समानुपातिक तर्फबाट संविधानसभा सदस्य बनेकी थिइन्। घर्ती २०७० को निर्वाचनमा रोल्पा क्षेत्र नम्बर २ बाट निर्वाचित भएकी थिइन् भने २०७४ को निर्वाचनमा समानुपातिक तर्फबाट सांसद बनेकी थिइन्।
शुशिला कार्की
नेपाली न्यायालय क्षेत्रको इतिहासलाई ब्रेक गर्दै २०७३ असार २७ मा शुशिला कार्की पहिलो महिला प्रधानन्यायाधीस बनेको थिइन्। सर्वोच्च अदालतको पहिलो महिला प्रधानन्यायाधीस बनेकी कार्की २००९ जेठ २५ गते शङ्खरपुर–३ विराटनगरमा जन्मिएकी हुन्। कार्कीविरुद्ध १७ वैशाख २०७६ मा सत्तारूढ गठबन्धनका प्रमुख दल कांग्रेस र माओवादी केन्द्रका २ सय ४९ सांसदको हस्ताक्षरसहित महाभियोग प्रस्ताव संसद सचिवालयमा दर्ता भएको थियो।
महेन्द्र मोरङ कलेज विराटनगरबाट २०२८ बिए र वनारस हिन्दू विश्वविद्यालयबाट राजनीतिशास्त्रमा २०३१ मा एमए गरेकी छिन्। कार्कीले २०३४ मा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरी कानुनी यात्रा सुरु गरेकी थिइन् भने २०६१ पुस ५ गते वरिष्ठ अधिवक्ता बनेकी थिइन्। २०६५ माघ ९ गते उनी सर्वोच्च अदालतको अस्थायी न्यायाधीशमा नियुक्त भएकी कार्की २०६७ मङ्सिर २ गते सर्वोच्च अदालतको स्थायी न्यायाधीश बनेकी थिइन्। सर्वोच्चमा २०७३ वैशाख १ देखि असार २६ सम्म कार्कीले कामु प्रधानन्यायाधीशको भूमिका निर्वाह पनि गरेकी थिइन्।
सेवा लम्माल
स्थापनाको ७२ वर्षपछि २०८० मा परराष्ट्र मन्त्रालयले पहिलो महिला परराष्ट्र सचिव पायो। २०८० कात्तिक २८ को मन्त्रीपरिषद बैठकले लम्साललाई बढुवा गरेर परराष्ट्र सचिवको जिम्मेवारी दिएको थियो। उनी नेपालको २५ औं परराष्ट्र सचिव थिइन्। पहिलो परराष्ट्र सचिव बनेकी लम्साल सचिवमा बढुवा हुनुअघि सन् २०२० देखि परराष्ट्रको संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय संस्था तथा अन्तर्राष्ट्रिय कानून महाशाखा प्रमुख थिइन्।
सन् २०२० को अक्टोबरदेखि परराष्ट्र मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएकी लम्साल सन् २०११ मा परराष्ट्रको सहसचिव भएकी थिइन्। सहसचिव भएपछि लम्सालले सन् २०१६ सेप्टेम्बरदेखि २०२० सेप्टेम्बरसम्म पाकिस्तानको लागि नेपाली राजदूतको जिम्मेवारी सम्हालेकी थिइन्। पाकिस्तानको लागि नेपाली आवासीय राजदूत हुँदा उनले सँगसँगै टर्की, इरान, तुर्केमिनिस्तानm कीर्गिस्तान र उज्बेकिस्तानको लागि गैरआवासीय राजदूतको जिम्मेवारी पनि पाएकी थिइन् ।
डा. दुर्गा थापा
स्थापनाको ६७ वर्षपछि अर्थात् २०७५ मा नेपाल प्रहरीमा पहिलोपटक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को जिम्मेवारी महिलाले पाइन्। २०७५ कात्तिक २५ को मन्त्रिपरिषद् बैठकले महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा कार्यरत डा. दुर्गा थापालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो। यो सँगै थापा प्रहरीको विशिष्ट श्रेणीमा पुग्ने पहिलो महिला बनेकी थिइन्।
थापा एर्आजीमा पुग्नुअगाडि प्रहरीमा डीआईजी पदसम्म मात्र महिला पुगेका थिए। पार्वती थापा र विमला थापा उनी डीआईजी बन्नुभन्दा सात वर्षअघि डीआईजी भएका थिए। उनीहरूले सोही पदबाट अवकाश प्राप्त गरेका थिए। दन्त चिकित्सक थापालाई कात्तिक २७ मा तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एआईजीको दर्ज्यानी चिन्ह लगाइदिएका थिए।
भवानी राणा
२०७३ मा नेपाल उद्योग वाणिज्य महासंघको पहिलो महिला अध्यक्षमा चयन भएर भवानी राणाले नयाँ रकेर्ड कायम गरिन्। निजी क्षेत्रकै सबैभन्दा ठुलो संगठनको रुपमा रहेको उद्योग वाणिज्य महासंघको जिम्मेवारी राणाले २०७३ चेत ३० बाट सम्हाल्ने मौका पाइन्। यसो, त राणा महासंघको इतिहासमै पहिलो निर्वाचित केन्द्रीय सदस्यसमेत हुन्।
नेपाल उद्योग वाणिज्य महासंघको ५१ वर्षलामो इतिहासमा पहिलो महिला अध्यक्ष भएकी भवानी राणाले २०७७ मंसिर १५ सम्म अध्यक्षको भूमिका निर्वाह गरिन्। महासंघको १८ औं अध्यक्ष बनेको राणा २०२६ सालामा जन्मिएकी थिइन्। उनले नेपालबाट विद्यालय र भारतबाट उच्च शिक्षा पूरा गरेकी थिइन्। भारतको लखनउमा पढेर आएकी राणाले २०४६ सालबाट अमेरिकन दुतावासमा ५ वर्ष काम गरेकी थिइन्।
अष्टलक्ष्मी शाक्य
मुलुक संघीयतामा गएसँगै नेपालले पहिलो महिला मख्यमन्त्रीको भूमिकामा अष्टलक्ष्मी शाक्यलाई पायो। २०७४ सालमा सम्पन्न प्रदेशसभा निर्वाचनपछि संघीयता अन्तर्गत प्रदेश सरकारहरु गठन भए। तर सातै प्रदेशमा मुख्यमन्त्रीका रुपमा पुरुष नै चुनिए। २०७८ भदौ २ मा भने पहिलो महिला मुख्यमन्त्रीको रुपमा शाक्य बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भइन्।
२०१० सालमा काठमाडौंको नेवार परिवारमा जन्मेकी शाक्य २०५६ साल र २०७१ सालमा भएको संविधानसभा चुनावमा सांसदमा निर्वाचित भएकी थिइन्। यसअघि दुईपटक मन्त्री भइसकेकी शाक्य २०७४ सालमा भएको प्रदेश सभामा काठमाडौ निर्वाचन क्षेत्र ८ (ख) बाट निर्वाचित भएकी थिइन्। शाक्यले २०७८ भदौ २ देखि २०७८ कात्तिक ११ सम्म मुख्यमन्त्रीको कार्यकाल सम्हालिन्।
अनुराधा कोइराला
अनुराधा कोइरालाले २०७४ माघ ३ देखि २०७६ कार्तिक १७ सम्म बागमती प्रदेशको प्रदेश प्रमुखका रूपमा जिम्मेवारी निभाइन्। २०७४ माघ ३ गतेको मन्त्रिपरिषद् बैठकले उनलाई बागमती प्रदेश (प्रदेश नम्बर ३) को प्रमुखमा नियुक्त गरेसँगै उनी नेपालकै पहिलो प्रदेश प्रमुख बनिन्। ओखलढुंगाको रुम्जाटारमा जन्मिएकी कोइराला माइती नेपालकी संस्थापक अध्यक्ष पनि हुन्।
नन्दा गुरुङ
मुलुक संघीयता गएसँगै पहिलो महिला प्रदेश सभामुखको भूमिका नन्दा गुरुङले प्राप्त गरिन्। गुरुङ २०७९ माघ १ मा कर्णाली प्रदेशको सभामुखमा निर्वाचित भएकी थिइन्। दैलेखको नारायण नगरपालिका–७ नयाँगाउँमा २०२३ फागुन २ मा जन्मिएकी गुरुङले २०४६ अघि प्रतिबन्धित अवस्थामा अनेरास्ववियु छैटौंमा आबद्ध भएर राजनीतिक यात्रा सुरु गरेकी थिइन्।
डा. नीलम ढुंगाना
नेपाल राष्ट्र बैंकले स्थापनाको ६५ वर्षपछि २०७७ मा पहिलोपटक महिला डेपुटी गभर्नर पायो। २०७७ मंसिर २५ को मन्त्रिपरिषद् बैठकले डा. नीलम तिम्सिना ढुंगाना र बमबहादुर मिश्रलाई डेपुटी गभर्नर नियुक्त गरेसँगै राष्ट्र बैंकले पहिलोपटक महिला डेपुटी गभर्नर पाएको हो। २०५४ मंसिर २२ बाट राष्ट्र बैंकमा सहायक निर्देशकका रूपमा प्रवेश गरेकी ढुंगाना २०७४ फागुनमा कार्यकारी निर्देशकमा बढुवा भएकी थिइन्।
गभर्नर महाप्रसाद अधिकारी निलम्बनमा परेको समयमा ढुंगानाले राष्ट्र बैंकको कार्यवाहक गभर्नरको भूमिका पनि प्राप्त गरिन्। यो भूमिका पनि उनले पहिलो महिलाको रुपमा निर्वाह गरेकी थिइन्। ऋण व्यवस्थापन विभाग प्रमुखको जिम्मेवारीमा रहेकी उनी एक मात्र महिला कार्यकारी निर्देशकसमेत थिइन्। भारतको मेवाड विश्वविद्यालयबाट व्यवस्थापन विषयमा विद्यावारिधि गरेकी ढुंगानालेले अस्ट्रेलियाको युनिभर्सिटी अफ ओलनगोङबाट अर्थशास्त्रमा स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेकी छिन्।
संगीता पहाडी अर्याल
सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा पहिलो महिलाको रुपमा संगीता पहाडी अर्याल २०८० असोज १७ मा नियुक्त भइन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पहाडीलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्ने जिम्मेवारी तोकेसँगै उनी टेलिकमको इतिहासमा पहिलो निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी प्राप्त गर्ने व्यक्ति बनिन्।
उलने भारतको अलाहावाद युनिभर्सिटीबाट बी.ई. र थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एम.ई. गरेकी छिन्। २०४९ चैत २३ गते तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी थिइन् पहाडीले २०५१ फागुन १० गते स्थायी नियुक्ति लिएकी थिइन्। त्यस्तै २०७८ माघ १८ गते नायब प्रबन्ध निर्देशक पदमा नियुक्त भएकी थिइन्। हाल पनि टेलिकमको निमित्त प्रवन्ध निर्देशकको जिम्मेवारीमा नै छिन्।
शिवादेवी काफ्ले
शिवादेवी काफ्ले राष्ट्रिय वाणिज्य बैंकको पहिलो महिला प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन्। नेपाल राष्ट्र बैंकको कामु कार्यकारी निर्देशक पदबाट अवकाश भएपछि काफ्लेलाई राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको संचालक समितिले व्यवसायिक विशेषज्ञ संचालकको पदमा मिति २०६७ बैशाख ८ गते नियुक्ति दिएको थियो। त्यसताका राष्ट्रिय वाणिज्य बैंकमा प्रमुख कार्यकारी अधिकृतको पद रिक्त रहेकोले अर्थ मन्त्रालयले मिति २०६८ श्रावण २५ गते काफ्लेलाई सिइओकोसमेत जिम्मेवारी दिएको थियो।
अनुपमा खुँजेली
अनुपमा खुँजेली तत्काली मेगा बैंक नेपाल (नेपाल इन्भेस्टमेन्ट मेगा बैंक)को पहिलो महिला प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन्। संचालक समितिले २०७५ वैशाख २ गतेबाट लागु हुने गरी कामु प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत अनुपमा खुँजेलीलाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको थियो।
सिर्जना राणा
सिर्जना राणा होटल एसोसिएसन अफ नेपाल (हान)को पहिलो महिला अध्यक्ष हुन्। २०७६ वैशाखमा भएको हानको ४६ औं साधारणसभाबाट राणा अध्यक्ष नियुक्त भएकी थिइन्।
उपासना पौडेल
उपासना पौडेल नेपाली बिमा कम्पनीको पहिलो पहिलो महिला प्रमुख कार्यकारी अधिकृत हुन्। २०७८ वैशाखमा यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल)को प्रमुख कार्यकारी अधिकृत पदमा पौडेल नियुक्त भएकी थिइन्। योसँगै उनी बिमा क्षेत्रको प्रथम महिला प्रमुख कार्यकारी अधिकृत भएकी हुन्। ३४ वर्षको उमेरमा नै पौडेल सिइओको भूमिकामा पुगेकी हुन्।
दिल्ली विश्वविद्यालयको फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिज (एफएमएस)बाट एमबिएसम्मको अध्ययन पुरा गरेकी उनले भारतमा रहँदा नै बिमा व्यवसायको क्षेत्रमा प्रवेश गरेकी थिइन्। हाल उनी हिमालयन रि इन्स्योरेन्स कम्पनीको सिइओ छिन्।
ओमदेवी मल्ल
ओमदेवी मल्ल राष्ट्रिय सहकारी महासंघको पहिलो महिला अध्यक्ष हुन्। २०८० पुस २७ र २८ मा सम्पन्न ३१औं वार्षिक साधारणसभाले ओमदेवी मल्ललाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको थियो। २०५० मा स्थापित राष्ट्रिय सहकारी महासंघमा पहिलो पटक २०८० मा महिला अध्यक्ष निर्वाचित भएकी हुन्। मल्ल अध्यक्षमा नियुक्ती हुनुअगाडि वरिष्ठ उपाध्यक्ष थिइन्। उनी एक कार्यकाल अन्तर्राष्ट्रिय सहकारी महासंघको ग्लोबल बोर्ड सदस्य पनि रहीन्। मल्ल संविधानसभा सदस्यसमेत हुन्।
हुनत, २०४४ चैतमा विन्देश्वरी शाह नेपालको पहिलो महिला राजदुत बनेकी थिइन् भने २०५५ असोजमा लीला श्रेष्ठ सुब्बा नेपालको पहिलो महिला उपसभामुख बनेकी थिइन्। २०५५ मै शैलजा आचार्य नेपालको पहिलो महिला उपप्रधानमन्त्री बनेकी थिइन् जो नेपाली कांग्रेसको पहिलो महिला उपसभापतिको जिम्मेवारी पाउने व्यक्ति पनि हुन्।
यस्तै, द्वारिकादेवी ठकुरानी नेपालको पहिलो निर्वाचित महिला सांसद तथा पहिलो मन्त्री हुन्। यसका अतिरिक्त पासाङल्हामु शर्पालाई पहिलो नेपाली महिला सगरमाथा आरोही, रेनु दाहाललाई पहिलो मेयर (महानगरपालिका), चन्द्रकला किरणलाई निजामती कर्मचारी प्रशासनमा सचिव पदमा पुग्ने पहिलो महिला भनेर चिनिन्छ।