काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ उपाध्यक्ष सुरकृष्ण वैद्यले स्वदेशमै गरिने स्याहार कामको रकम अर्थतन्त्रमा गणना हुनुपर्ने आवश्यकता औंल्याएका छन्।
महासंघद्वारा ‘निजी क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्दर्भिकता’ विषयक मधेस प्रदेशका रोजगारदाताका लागि वीरगन्ज महानगरमा आयोजित तीनदिने तालिम उद्घाटन अवसरमा उपाध्यक्ष वैद्यले यस्तो बताएका हुन्।
उनले स्याहार तालिम आयोजना हुनुको प्रमुख उद्देश्य रोजगारदातालाई स्याहार काम के हो र यसको अर्थतन्त्रमा योगदान विषयबारे जानकरी गराउनुका साथै स्याहार म्यानुअलका लागि सुझाव संकलन गर्नु रहेको जानकारी दिए।
स्याहार कामका लागि वैदेशिक रोजगारमा जानेले पठाउने रकम अर्थतन्त्रमा गणना हुने भए पनि स्वदेशमै गरिने स्याहार कामको गणना नहुने गरेको उनको भनाइ छ।
अनौपचारिक क्षेत्रमा हुने यस्ता कामको गणना गर्ने कार्यमा सरकारसँगै निजी क्षेत्र र सरोकारवालाको जिम्मेवारी उत्तिकै रहेकाले अन्तर्राष्ट्रिय श्रम संगठको सशक्त महिला समृद्ध नेपाल परियोजनासँगको सहकार्यमा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशमा कार्यक्रम गरिँदै आएको उनले जानकारी दिए।
अन्तर्राष्ट्रिय श्रम संगठन नेपालका टेक्निकल एक्स्पर्ट अन इन्क्लुसिभ ग्रोथ अक्साना लिप्कानुले परियोजनाको ‘सशक्त महिला समृद्ध नेपाल’ शीर्षकले नै महिला तथा बालिका केन्द्रितजस्तो देखिए पनि वास्तविक रुपमा श्रम बजार र व्यवसाय प्रवर्द्धन रहेको धारणा व्यक्त गरिन्।
महासंघका केन्द्रीय सदस्य तथा व्यापार समिति सदस्य सुबोध गुप्ताले वीरगन्ज नगर सफा भए पनि सडकमा व्यवसाय गर्ने महिलाको व्यवसाय सुरक्षा नभएकाले उनीहरुको जीविकोपार्जनमा असर परेको बताए।
कार्यक्रमका महासंघका केन्द्रीय सदस्य एवं कृषि उद्यम केन्द्रका सभापति डीबी बस्नेतले स्याहार कामको गणना आफ्नै घरबाट सुरु हुनुपर्ने विषयमाथि वकालत गरे।
तीन दिने तालिममा महासंघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीले सहभागीलाई स्वागत गर्दै यस्ता पैरवी कार्यक्रमसँगै सरकार र महासंघले श्रम संरक्षणलाई पनि महत्त्व दिनुपर्नेमा जोड दिए।
महासंघका सहायक निर्देशक हरि पौडेल र अन्तर्राष्ट्रिय श्रम संगठन नेपालका राष्ट्रिय परियोजना संयोजक कृपा बस्न्यातले कार्यक्रमबारे प्रकाश पारेका थिए।
कार्यक्रममा जिल्ला नगर उद्योग वाणिज्य संघ, व्यावसायिक प्रतिष्ठानका साथै श्रम रोजगार कार्यालय वीरगन्ज महानगरबाट झन्डै ६५ जनाको उपस्थिति थियो।