काठमाडौं। मिडिया स्पेस सोलुसन्स, फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स तथा एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालिको सयुक्त आयोजनामा तेस्रो नेपाल पावर, लाइट एन्ड इलेक्ट्रिक तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एन्ड होम अपलायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ।
भृकुटीमण्डपमा भदौ २१, २२ र २३ मा हुने प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीका १५० बढी स्टल रहनेछन्।
प्रदर्शनीमा गुणस्तरीय अत्याधुनिक एवं नवीनतम प्रविधिका ट्रान्समिसन तथा डिस्ट्रिब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ, वायर, केबुल एवं कन्डक्टर, अत्याधुनिक स्वीच, एलइडी लाइटिङ, घरेलु विद्युतीय उपकरणलगायत उत्पादक कम्पनीको सहभागिता रहनेछ।
आयोजकका अनुसार बढ्दो जलविद्युत् उत्पादनका सन्दर्भमा देशलाई आर्थिक रुपमा सबलीकरण गर्दै लैजान एवं ऊर्जा तथा विद्युतीय व्यवसायको समग्र विकास तथा व्यापार प्रवरद्धनमा सहयोग पुर्याउने उद्देश्यले प्रदर्शनी आयोजना गरिन लागेको हो।
नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एन्ड होम अपलायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनीमा ग्राहकले विभिन्न कम्पनीका विद्युतीय सामग्री एकै छानामुनि अवलोकन तथा खरिद गर्न सक्नेछन्।
चाडपर्वका बेला नयाँ विद्युतीय सामान खरिद गर्ने चलन रहेको र दसैं आउन केही साता बाँकी रहेका बेला आयोजना हुने प्रदर्शनीले ग्राहक आकर्षित गर्ने विश्वास आयोजकको छ।
राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक ऊर्जा उद्यमीलाई एकै थलोमा जमघट गराई व्यावसायिक प्रवर्द्धनका साथै उद्योगमा भएका नवीनतम उपलब्धिबारे सूचना आदान–प्रदान गर्ने तथा उपभोक्तामा ऊर्जाको व्यवस्थित खपत महत्त्वबारे जानकारी अद्यावधिक गराउने उद्देश्य रहेको आयोजकले जनाएका छन्।